दसैँमा खसी–बोका तथा च्यांग्रा खरिद गर्ने तयारीमा हुनुहुन्छ भने एक पटक विचार गर्नुहोस । ग्रामीण भेगमा त दसैँलाई भनेर केही समयपहिलेदेखि नै बोका पालेर राखिएको हुन्छ । तर, सहरी क्षेत्रका बासिन्दाले खसी–बोका किन्दा विशेष सजग हुनुपर्छ । कस्तो खसी बोका किन्ने त ?

मोटा खसी–बोका नकिन्नुस । मोटा खसीको मासु खानु दुई कारणले हानिकारक हुन्छ । पहिलो त उनीहरु रोगी हुन्छन्, दोस्रो मोटो जनावरको शरीरमा भएको बोसोले पनि असर गर्छ । बोसो स्याचुरेटेड फ्याटी एसिड हो । यसले कोलेस्ट्रोलको मात्रा बढाउँछ । त्यसैले खसी किन्दा सकेसम्म दुब्लो नै किन्नुहोस ।

खसी किन्दा उसको भुँडीमा ध्यान दिनुपर्छ । भुँडी झरेको खसी रोगी हुन सक्छ । भुँडी झोलिएको खसीमा जुका पर्ने सम्भावना बढी हुन्छ । जुका परेको खसीको मासु खाएमा जुका हाम्रो पेटबाट दिमागसम्म पुग्ने खतरा रहन्छ ।

खसी र बोका खाने उत्तम उमेर फरक–फरक हुन्छ । अन्दाजी आठ महिनादेखि एक वर्षसम्म उमेरको बोकाको मासु स्वस्थकर हुन्छ । यसमा बोसोको मात्रा तुलनात्मक रूपमा कम हुन्छ । यसैगरी, खसी कलिलोभन्दा छिप्पिएकै खानु ठीक हुन्छ । छिप्पिएको खसीको मासुमा फ्याट कन्टेन्ट तुलनात्मक रूपमा कम हुन्छ ।

खसीको शारीरिक अवस्था पनि हेर्नुपर्छ । किन्न आँटेको खसी–बोकालाई बाँधेको ठाउँबाट फुकाउनुहोस र हल्का धपाएजस्तो गरेर हिँड्न लगाउनुहोस । फुर्तिलो, छुँदा बुरुक्क उफ्रिने, चलमलाउने हुनुपर्छ । आँखामा चिप्रा आएको, नाकबाट सिंगान बगिरहेको खसी–बोका किन्नेतिर लाग्दै नलाग्नुहोस । त्यसैगरी रौँ झुस्स भएको खसी पनि स्वस्थ हुँदैन । गोटा परेको जुत्तो गरेको छ भने निरोगी भएको बुझ्नुपर्छ । पुच्छर आसपासमा छेरेको लतपतिएको देखिएमा खसी–बोका रोगी छ भन्ने जान्नुपर्छ ।

Topics #दसैँ #मासु