आजकल धेरै जसो महिला तथा पुरुषहरु छिट्टै बच्चा जन्माउन चाहादैनन । कुनै पनि परिवार नियोजनको साधन प्रयोग नगरेका दम्पतीहरुको विवाह भएको एक वर्षसम्म सन्तान भएन भने त्यस्तो अवस्थालाई बाँझोपनको अवस्था भनिन्छ । यो महिला र पुरुषमा बराबर हुन्छ

बाँझोपन दुई प्रकारको हुन्छ

पहिलो चरणको बाँझोपन–जन्मजात सन्तान जन्माउने क्षमता नभएको अवस्था नै पहिलो चरणको बाँझोपन हो । यो पुरुषको बिर्यमा शुक्रकिट कम हुनु वा नहुनु, महिलाको महिनावारीमा गडबडी, सेतो पानी बग्ने, हर्मोनको गडबडी, पुरुष अध्याधिक गर्मी ठाउँमा काम गर्नु आदि पहिलो चरणको अथवा प्राथमिक बाँझोपनको कारण हुन सक्छन् । महिलामा यो बाँझोपनको लक्षण सजिलै थाहा पाउन सकिन्छ तर पुरुषमा भने परीक्षण पछि मात्र थाहा पाउन सकिन्छ ।

दोस्रो चरणको बाँझोपन–पहिलो सन्तान भइसकेपछि दोस्रो सन्तान जन्माउन समस्या हुने । पहिलो सन्तान जन्माउँदा हुने संक्रमण, गर्भपतन गर्दा, महिलाको अण्ड नलीको मुख बन्द हुँदा यस्तो समस्या आउन सक्छ ।

गर्भनिरोधक चक्कीले बाँझोपन ल्याउँदैन
गर्भनिरोधक चक्की अथवा परिवार नियोजनको साधनको प्रयोगले बाँझोपन ल्याउँछ भन्नु भ्रम मात्र हो । गर्भ निरोधक चक्कीको कुरा गर्ने हो भने २१ दिनसम्म खाएर छोडेपछि महिनावारी पछि महिलाको प्रजनन अंगमा उत्पादन हुने हर्मोनहरु पहिलाकै स्थानमा फर्कन्छन् । तीन महिने सुईको काम पनि यस्तै नै हो । नरप्लान्ट तथा डिपोप्रोभेरा जस्ता साधनको प्रयोगपछि महिलाको प्रजनन् क्रियाकलापमा अवरोध हुन्छ । लगातार तीन चार वर्षसम्मको प्रयोग पछि यो पहिलेकै अवस्थामा आइपुग्न केही समय पक्का लाग्छ । तर यसको मतलव बाँझोपन नै हुन्छ भन्ने चाहिँ पक्कै होइन ।
मोटोपनले प्रजनन् क्षमतामा कमी ल्याउँछ

अहिले महिलामा धेरै देखिने समस्या भनेको पोलिसिस्टिक ओभरियन डिजिज हो, अण्डा समयमा नबन्ने समस्या । महिनावारीको १४ औँ दिनमा अण्डाशयबाट अण्डा निस्किएर फुट्ने प्रक्रियालाई यो समस्याले रोक्छ । अण्डाशयबाट परिपक्क अण्डा निस्कनलाई अवरोध हुने भएपछि बच्चा बन्ने सम्भावना पनि कम रहन्छ । यो सँगै मोटोपन भएको महिलामा थाइरोइड, मधुमेह भएको महिलाको प्रजनन् क्षमता कम हुन्छ । महिनावारी गडबढ हुने यो समस्याको पनि लक्षण हो । महिलाको पाठेघरको मुख बन्द हुनाले पनि बच्चा नबस्ने समस्या आउँछ ।

समाधान
बाँझोपनको प्रकार अनुसार यसको समाधान हुन्छ । पोलिसिस्टिक ओभरियन डिजिज छ डाक्टरको सल्लाह अनुसार महिनावारीको दोस्रो दिनदेखि औषधि प्रयोग गर्नुपर्छ । डाक्टरको निगरानीमा १४ औँ दिनमा अण्डा बाहिर निस्कने समयमा संभोग भएमा गर्भ रहन सक्छ । यसो गर्दा भएन भने कृत्रिम गर्भाधान गर्नुपर्छ । कृत्रिम गर्भाधानको दुई प्रक्रिया छन्, आइ ओ आई र टेस्ट ट्युब बेबी ।
महिलाको पाठेघरको मुख बन्द छ भने पाठेघरमा बच्चा बस्न पाउँदैन । पुरुषको शुक्रकिट अत्यन्तै कम छ भने यो अवस्थामा टेस्टट्युब बेबी विधिको माध्यमले बच्चा जन्माउन सकिन्छ ।
पुरुषको हकमा शुक्रकिटको संख्यासँगै शुक्रकिटको गति पनि हेर्नुपर्छ । गति कम भएमा औषधिको प्रयोग गर्न सकिन्छ ।

समस्या छ भन्ने शंका लागेमा

जोडिनै चिकित्सक कहाँ जाने, सकारात्मक सोचको विकास हुनुपर्छ ।एक अर्कालाई सहयोग गर्नुपर्छ ।व्यायाम गर्ने, आधा घण्टा पसिना आउने गरी हिँड्ने ।चिया कफि कम खाने ।सन्तुलित खाना खाने ।

Topics #बाँझोपन #महिला #शरीर मोटो