डा. अनिल कुमार झा । नाक, कान, घाँटीसम्बन्धी रोगमध्ये कानको समस्या भयावह र विकराल बन्दै गएको छ । संसारभरमा बहिरोपन भएका व्यक्तिमध्ये ४ करोड २० लाख जनता ३ वर्षभन्दा बढी उमेरका छन् ।

बहिरोपन कत्तिको छ भन्ने कुरा मेशिनले परीक्षण गरेर निर्धारण गरिन्छ । सामान्यतयः २५ डेसिबलसम्मलाई सामान्य मानिन्छ । २६ देखि ३० डेसिबलसम्मलाई सुन्ने क्षमतामा हल्का (माइल्ड) कमी भएको, ४१ देखि ६० लाई मध्यम, ६१ देखि ८० लाई गम्भीर खालको मानिन्छ । ९० डेसिबलभन्दा बढी भएकाहरू आवाज नै नसुन्ने अवस्थामा पुगिसकेका हुन्छन् ।

बहिरोपन हुनुका कारणमा एउटा वंशाणुगत मानिन्छ भने अर्को गर्भमा बच्चा भएको समयमा भाइरसको संक्रमणका कारण हुन्छ । उक्त भाइरसलाई रुबेला (साइटोमेगालिभाइरस) भनिन्छ । बच्चामा जन्डीस भएमा, टाउकोमा चोटपटक लागेमा, समयभन्दा पहिला नै जन्मिएमा बहिरोपन हन्छ । कानमा संक्रमण (ओटिटिस मेडिया) बाट पनि बहिरोपन हुन सक्छ । यो संक्रमण बच्चा स्कुल जानुभन्दा पहिला नै देखिन्छ । सुरुमा सामान्य भए पनि पछि गएर यसले जटिल रूप लिन सक्छ । यसपछि बिस्तारै कानको सुन्ने क्षमता कम हुँदै जान्छ । मेनिन्जाइटिस, मलेरिया, भाइरल इन्सेफलाइटिस, हर्टपिस भाइरस, अटोटक्सी ड्रगले पनि बहिरोपन निम्त्याउछ ।

तीन किसिमले बहिरोपनबाट बच्न सकिन्छ । सबैभन्दा पहिले बच्चालाई घातक रोगका लागि भ्याक्सिन दिनुपर्छ । दोस्रो, जब रोग लाग्छ तुरुन्तै उपचार गनुपर्छ । त्यसपछि टर्सरी, जसमा रिहाविलिटेसनमा उपचार गर्नुपर्छ । यी ३ तरिकाबाट बच्चामा वहिरोपन निवारण गर्न सकिन्छ ।

नेपालमा नाक, कान, घाँटी रोग विशेषज्ञको संख्या जम्मा ९७ मात्र छ । नेपालका जम्मा १२ जिल्लामा मात्र यो सेवा दिन सकिएको छ । बहिरोपन निवारण गर्न जनशक्ति कम भएका कारण काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, धरान र न्याम्समा स्नातकोत्तर तहको पढाई भैरहेकोछ । ५ वर्षपछि हरेक वर्ष २५ देखि ३० जनशक्ति थपिँदै छ । यस हिसाबले उत्पादन भएमा १० वर्षमा मात्र नाक, कान, घाँटी विशेषज्ञको जनशक्ति सबै क्षेत्रमा पुर्याउन सक्छौ ।

नाक कान घाटी रोग विशेषज्ञको हरेक २ वर्षमा राष्ट्रिय सम्मेलन हुन्छ । जसमा देशभित्र र देशबाहिरका चिकित्सकले भाग लिन्छन् । उक्त सम्मेलनमा विभिन्न रोगका विषयमा कार्यपत्र प्रस्तुत गरी व्यापकरुपमा छलफल गरिन्छ । त्यसबाट निस्कने निचोडका आधारमा हामीले व्यवहारिक रुपमा विकास गर्दै आएका छौं । म अध्यक्ष भएका बेला सन् २०१३ को छैटौं सम्मेलनमा ‘एक्पान्डिङ होराइजन इन द फिल्ड अफ हेड एण्ड नेक सर्जन्स’ विषयमा व्यापक छलफल गरिएको थियो ।

बहिरोपन निवारणका लागि मैले मेरो जिल्ला सप्तरीमा जनचेतनामुलक कार्यक्रम चलाउँदै आएको छु । सबैले आ–आफ्नो क्षेत्रबाट अभियान चलाउनुपर्छ । प्रत्येक स्कुलमा बच्चा र परिवारलाई यससम्बन्धी जनचेतना जगाउनुका साथै बच्चाको कानको परीक्षण गछौं । परिवारले बच्चालाई बोलाउँदा कुनै वास्ता गरेन भने गाली गरिन्छ । तर उसमा बहिरोपन भएको हुनसक्छ । यसतर्फ परिवारको ध्यान जानु जरुरी छ । यस्तो किसिमको समस्या देखिएमा तुरुन्त कानको जाँच गराउन सल्लाह दिँदै आएका छौं । स्कुलमा काउन्सिलिङ गर्दा समस्या थाहा हुन्छ ।

६० प्रतिशत बच्चामा कानेगुजीका कारण बहिरोपन भएको हुन्छ । यसको निदान भनेको उसको कानबाट कानेगुजी सफा गरिदिने हो । कानेगुजीका कारण उसले सुन्दैन, भाषा तथा मानसिक विकास हुँदैन, सुस्त मनस्थितिको हुन्छ । यस किसिमको समस्याका साथै संक्रमित स्कुलका बच्चालाई उपचार गर्दै आएका छौं । साथै कसै–कसैको कानको जालीमा प्वाल परेको, घाउ भएको अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

नेपाल मेडिकल कलेजले पनि लायन्स क्लबको सहयोगमा विभिन्न क्षेत्रमा शिविर सञ्चालन गर्दै आएको छ । शल्यक्रिया गर्नुपर्ने अवस्थाबाहेक अन्य सबै सेवा शिविरमै दिदै आएका छौं ।

कानको जाली प्वाल परेमा यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । कानको नसा कमजोर भएमा सुन्ने मेसीन राखेर सामान्य बनाइन्छ । बेलुका सामान्य अवस्थामा सुतेको व्यक्ति बिहान उठ्दा कान नसुन्ने हुन सक्छ । यो एउटा भाइरसका कारण हुन्छ । त्यसैदिन बिरामीले जाँच गराउन सकेमा पछि सामान्य अवस्थामा आउन सक्छ । तर ढिला गरेमा सामान्य अवस्थामा फर्काउन सकिँदैन । बढी ध्वनि प्रदुषण हुने क्षेत्र, कलकारखानाका कारण कानको नशामा असर पर्न सक्छ । त्यसैगरी उच्चरक्तचाप, मधुमेहजस्ता कारणले पनि कानको नशामा असर पर्न जान्छ ।

नाक देखि कानसम्म जोड्ने स्टीच नली हुन्छ । त्यो बन्द भएमा मध्य कानको काममा अवरोध आउछ । त्यसबेला कान जोडले दुख्छ । त्यही समयमा यसको उपचार भएन भने कानमा पिप बन्छ र पिप बाहिर निस्कने बाटो हुँदैन । जसका कारण कानको जालीमा प्वाल परि पिप बग्न थाल्छ । यस्तो अवस्थामा तुरुन्तै उपचार गर्न सकेमा प्वाल टाल्न सकिन्छ । उपचार ढिला भयो भने प्वाल ठूलो हुँदै जान्छ । र अन्त्यमा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

बच्चाको कान जोगाउन के गर्ने ?

– बच्चालाई ज्वरो आएमा वा कान दुखेमा तुरुन्तै अस्पताल लैजाने
– धेरै चर्को आवाज भएको ठाउँमा बच्चालाई नलैजाने
– बच्चाको कान नकोट्याउने
– बच्चालाई सधै बसालेर मात्र दूध खुवाउने
– पानी वा तेल कानमा नराख्ने
– गर्भवतीले जथाभावी औषधि सेवन नगर्ने

स्वास्थ्यखबरबाट साभार

Topics #कानको उपचार