अरु बच्चाको तुलनामा गाईको दूध खाने बच्चा अग्ला

एक साताअघि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसन’मा प्रकाशित अनुसन्धानका अनुसार दैनिक एक ग्लास वैकल्पिक दूध खाने बालबालिका दैनिक एक ग्लास गाईको दूध खाने बालबालिकाको तुलनामा औसतमा ० दशमलब ४ सेन्टिमिटर (० दशमलब १५ इन्च) होचो पाइयो।

‘हामीले भटमास, बदाम र चामलजन्य वैकल्पिक दुग्ध पदार्थ सेवन गरेका बालबालिकाको उचाइ गाईको दुध खाने बालबालिकाको तुलनामा केही थोरै पायौँ,’ टोरन्टोस्थित सेन्ट माइकल्स हस्पिटलका बालरोग विशेषज्ञ एवं अनुसन्धानका नेतृत्वकर्ता डा. जोनाथन मग्वायर भन्छन्, ‘उदाहरणका लागि ३ कप वैकल्पिक दूध खाने एउटा तीन बर्से बालकको उचाइ गाईको दूध खाने त्यही उमेरको बालकको तुलनामा औसत १ दशमलब ५ सेन्टिमिटर होचो पायौँ।’ यो उचाइको फरक आधा इन्चभन्दा बढी हो, जुन मग्वायरका अनुसार ३ वर्षको उमेरका लागि निकै धेरै हो।

अनुसन्धानमा २ देखि ६ वर्ष उमेरका पाँच हजार ३४ जना क्यानाडेली बालबालिका समावेश थिए। जसको औसत उमेर ३८ महिना थियो र तीमध्ये ५१ प्रतिशत केटा थिए। उनीहरू सन् २००८ डिसेम्बरदेखि सन् २०१५ सेप्टेम्बरसम्म अनुसन्धानमा सहभागी थिए। सहभागीमध्ये करिब ५ प्रतिशतले वैकल्पिक दूध सेवन गरेका थिए भने ८४ प्रतिशतले गाईको दूध खाएका थिए। करिब ८ प्रतिशतले दुवै दूध खाएका थिए र करिब ३ प्रतिशतले कुनै पनि दूध खाएनन्। मग्वायरले अनुसन्धानको अचम्मलाग्दो तथ्य बताए, ‘बालबालिकाको उचाइ उनीहरूले खाएको दूधको मात्रामा निर्भर देखियो।’

‘यो गाईको दूध नखानुसँग मात्र सम्बन्धित देखिएन,’ मग्वायरले भने, ‘वैकल्पिक दूध नै खाँदा पनि थोरै खाने होचा र धेरै खाने अग्ला हुनु अचम्म लाग्दो छ।’ तीन वर्षको उमेरमा आधा इन्च होचो हुनु कति महत्वपूर्ण छ त? वयस्क हुँदाको उचाइसँग यो उचाइको के–कस्तो सम्बन्ध हुन्छ?

‘यसको उत्तर खोज्न बाँकी नै छ। गाईको दूध नखाने बालबालिका उमेर अनुसार वयस्क हुन्जेलसम्म औसत अग्ला हुन्छन्÷हुँदैनन् हामीलाई थाहा छैन,’ मग्वायरले भने, ‘यो त समयले नै बताउनेछ। बालरोग विशेषज्ञका हिसाबले हामीलाई के थाहा छ भने, उनीहरूको अहिलेको उचाइकै अनुपातमा पछि किशोर वय र वयस्कसम्मको उचाइ बढ्छ।’ यो अनुसन्धानको निष्कर्षले अहिले जारी गाईको दूध र वैकल्पिक दुग्ध पदार्थमध्ये कुन फाइदाजनक भन्ने विवाद अझै चर्काउनेछ।

‘युनिभर्सिटी अफ नर्थ क्यारोलिना–एसभिले’की हेल्थ एन्ड वेलनेस प्रोफेसर एमी जोय लानुले यो अनुसन्धानमा समावेश गर्नुपर्ने यस्ता धेरै विषय छुटेको बताएकी छिन्। ‘किन दूध सेवनलाई मात्रै अध्ययनमा समावेश गरियो, अरुलाई गरिएन? मलाई यो अनौठो लागिरहेको छ। बालबालिकाले खाने सबै भोजन किन समावेश गरिएन?’ यो अनुसन्धानमा समावेश नभएकी लानु भन्छिन्, ‘उचाइमा आएको फरक हुनुको कारण कुन दूध खायो त्यसमा निर्भर भयो भन्नु ठीकै होला, तर दूधबाहेक बालबालिकाले अरु के खाए त्यसको पनि लेखाजोखा गर्नु उचित होला।’

आफूले गरेको अनुसन्धान अनुसार भने भोजनमा गाईको दूध आवश्यक नहुनेमा लानु विश्वस्त छिन्। त्यसैले उनी यो नयाँ अध्ययनले अग्लो हुनुलाई स्वस्थ्य ठानेको र यस्तो धारणा गलत भएको दाबी गर्छिन्। अग्ला र मोटा बालबालिका÷वयस्कहरु स्वस्थ हुन्छन् भन्नु उचित होइन भन्ने उनको तर्क छ। उनले अनुसन्धानकर्ताहरूले अग्लो हुनुलाई नै स्वस्थ हुनुको मापदण्ड मानेको जस्तो देखिएकोमा आपत्ति जनाएकी छिन्। पर्दु युनिभर्सिटीको न्युट्रिसन साइन्सकी प्रोफेसर कोनी विभरले भने अध्ययन आफूलाई निकै रोचक लागेको बताइन्। उनको विचारमा गाईको दूध र वनस्पतिबाट उत्पादित दूधबीच सिधा तुलना गरिएको यो पहिलो अध्ययन हो र यसले गाईको दूध नै उपयुक्त छ भन्ने देखाएको छ।

विभरको सुझाव छ, ‘तर यो अध्ययनको निष्कर्षले गाईको दूध नखानेहरूले वनस्पति दूध समेत खान छाड्नु ठीक भन्ने गलत सन्देश जान सक्छ।’ उनी अभिभावकलाई सल्लाह दिन्छिन्, ‘गाईको दूध केटाकेटीका लागि उत्तम विकल्प हो। तर वनस्पतिबाट बनेका खानेकुरामा केटाकेटीलाई आवश्यक पोषक तत्व (जस्तैः प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम आदि) हुन्छ। त्यसैले गाईको दूधभन्दा वनस्पतिबाट बनेको दूध खान केटाकेटीले मन पराउन सक्छन्।’

लानु अभिभावकसँग आग्रह गर्छिन्, ‘तपाईंका केटाकेटी वनस्पतिजन्य दूध खान्छन् भने कुनै चिन्ता लिनु पर्दैन, यति मात्र ख्याल गर्नुहोस् कि उनीहरूले दिनभरमा पर्याप्त पोषण पाइरहेका छन् कि छैनन्।’ मग्वायर वनस्पतिजन्य दुग्ध उद्योगलाई कडा अनुगमन र मापदण्ड बनाएर गाईको दूधजत्तिकै पोषिलो बनाउनुपर्ने धारणा राख्छन्। भन्छन्, ‘तपाईं एउटा उपभोक्ता र अभिभावकका नाताले पसलबाट वनस्पतिजन्य दुग्ध पदार्थ किन्दा त्यसमा गाईको दूध जत्तिकै पोषण छ/छैन हेरेर मात्र किन्नुहोस्। अहिले वनस्पतिजन्य दूध पनि गाईको दूधजतिकै पोषिलो छ भन्दै बजारमा बेचिरहेका छन्।’