छरछिमेकमा यो समस्या भएका महिला छन् भने उहाँहरूलाई जानकारी दिएर उपचार गराउन सहयोग गराउनु हामी सबैको दायित्व हो ।

पाठेघर महिलाको शरीरको तल्लो पेटमा रहने थैली आकारको प्रजनन अंग हो। पाठेघरलाई गर्भाशय पनि भनिन्छ। महिनाबारीको समयमा रक्तश्राव यहीँबाट हुन्छ र महिला गर्भवती हुँदा गर्भको बच्चा यसै थैलीभित्र हुर्किन्छ। पाठेघरलाई वरिपरिका मासंपेशी र तन्तुले आफ्नो ठाउँमा अड्याइराखेको हुन्छ। विभिन्न कारणले गर्दा पाठेघरलाई आफ्नो ठाउँमा थामेर राख्ने मासंपेशी र तन्तु कमजोर हुन जान्छन्। फलस्वरूप पाठेघरको केही भाग वा सिंगै पाठेघर योनिसम्म वा त्योभन्दा बाहिर निस्किन्छ। यो अवस्थालाई पाठेघर झरेको वा आङ खसेको भनिन्छ। यो समस्या उपचार गरेर निको हुन्छ।

पाठेघर झर्ने कारण

महिला सुत्केरी भएपछि पाठेघर खुम्चेर पहिलेकै अवस्थामा आइपुग्न करिब ६ हप्ता लाग्छ। सुत्केरी भएका बेला पाठेघरलाई अड्याइराख्ने मासंपेशी धेरै कमजोर भएका हुन्छन्। यी तल उल्लिखित कारणले पाठेघर झर्ने समस्या हुन सक्छ।

 प्रसव अवस्थामा बच्चा छिटो जन्मियोस् भनेर महिलाको पेटलाई बेस्सरी थिच्नु।

 प्रसव अवस्था नहुँदै बढी बल गर्नु।

 बच्चा जन्मिसकेपछि सालनाल छिटो निकाल्न भनेर आमाको तल्लो पेटलाई बेस्सरी थिच्नु।

 सुत्केरी भएको ६ हप्ताभित्र गह्रौँ भारी उठाउनु र गाह्रो काम गर्नु।

 धेरै बच्चा जन्माउनु तथा कम समयको अन्तरालमा बच्चा जन्माउनु।

 कम उमेरमै बच्चा जन्माउनु।

 गर्भावस्था र सुत्केरी अवस्थामा चाहिँदो मात्रामा पोषिलो खानेकुरा खान नपाउनु।

 असुरक्षित गर्भपात गराउनु।

पाठेघर झर्दाको लक्षण

 पाठेघर खस्दा सुरुमा योनिबाट केही चिज निस्केकोजस्तो महसुस हुन्छ। यो हिँड्दा, उभिँदा वा खोक्दा झन् बढेको तथा उत्तानो परेर पल्टिँदा चाहिँ कम भएको महसुस हुन्छ।

 यो समस्या बद्दै गएमा सिंगै पाठेघर योनि बाहिर झुन्डिएर बस्छ। त्यति बेला यो आफैँ योनिभित्र जाँदैन।

 यसले महिलालाई हिँड्न, बस्न, काम गर्न धेरै अप्ठेरो हुन्छ।

 झरेको पाठेघरको डल्लो तिघ्रासँग घस्रेर घाउ भई पाक्न पनि सक्छ।

 ढाड दुख्ने, योनिबाट गन्हाउने पानी, रगत बग्ने पनि हुनसक्छ।

पाठेघर झर्ने समस्याको रोकथाम

 प्रजनन अंग पूर्ण रूपले विकसित नभई गर्भधारण नगर्ने वा कम उमेरमा नै बच्चा नजन्माउने।

 सुत्केरी व्यथा लागेका बेला पाठेघरको मुख पूरा नखोली बल नगर्ने।

 सुत्केरी गराउन सकेसम्म स्वास्थ्य संस्थामा जाने

 गर्भावस्था र सुत्केरीपछि कमजोर भएका मासंपेशी फेरि बलियो बनाउन कम्तीमा दुई वर्षको अन्तरमा मात्र अर्को बच्चा जन्माउने।

 सुत्केरीपछि कम्तीमा ६ हप्तासम्म महिलाले भारी उचाल्ने र गह्रौं काम नगर्ने।

 गर्भवती र सुत्केरी अवस्थामा पोसिलो आहार अरुबेला भन्दा बढी खाने।

 पाठेघर झरेको शंका लाग्नासाथ स्वास्थ्य संस्थामा गई सल्लाह लिने वा जचाउने।

 सुरुको अवस्था छ भने पनि अझ जटिल हुन नदिन गह्रौँ भारी बोक्ने आदि काम नगर्ने र समयमै उपचार गराउन स्वास्थ्य संस्था जाने।

पाठेघर झर्ने समस्याको उपचार

पाठेघर झरेको अवस्थालाई पाठेघरको स्थिति अनुसार तीन चरणमा वर्गीकरण गरिन्छ।

– पाठेघर झरेको सामान्य अवस्था– योनिको भित्री मुखसम्म आएको।

– पाठेघर झरेको मध्यम अवस्था– केही भाग योनिको बाहिरसम्म आएको।

– पाठेघर झरेको पूर्ण अवस्था– सम्पूर्ण भाग योनिबाहिरै निस्केको।

यिनै स्थितिका आधारमा पाठेघर झर्ने समस्याबाट पीडित महिलाको उपचार गरिन्छ। त्यसैले आफूलाई पाठेघरको स्थिति सामान्य अवस्थामा नभएको जस्तो लाग्छ र काम गर्दा असजिलो महसुस हुन्छ भने उपचारका निमित्त स्वास्थ्य कार्यकर्तासँग सम्पर्क गरी हाल्नुपर्छ। पाठेघर झरेको सामान्य अवस्थाको उपचार सजिलै हुन्छ। यसबेला योनि खुम्चाउने व्यायामले मात्र पनि पाठेघरलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ। यो व्यायामले पाठेघर र योनिको वरिपरिका मासंपेशी बलिया हुन्छन् र पाठेघरलाई अड्याई राख्न सक्ने बनाउँछ। सामान्य अवस्थामा रिङ्गपेसरी राखेर अस्थायी उपचार पनि गर्न सकिन्छ।

शल्यक्रिया उपचार

शल्यक्रिया वा अप्रेसन पाठेघर झर्ने समस्याको मुख्य उपचार विधि हो। यसमा पाठेघरलाई सिङ्गै काटेर झिकिन्छ। अप्रेसनपछि सामान्य व्यक्तिसरह काम गर्न सकिन्छ। अप्रेसनपछि महिनावारी भने हुँदैन र गर्भवती पनि हुन सक्दैन। बच्चा पाउने चाहना भएका महिलाले पाठेघरको शल्यक्रिया गर्नुहुँदैन।

समाज र परिवारको दायित्व

यो समस्या विशेष गरी हाम्रो समुदायमा बच्चा जन्माउँदा या सुत्केरी भएको बेला महिलाले उचित स्याहार नपाउँदा हुन जान्छ। त्यस्ौले गर्भवतीलाई सुत्केरी गराउन वा बच्चा जन्माउन घरमा नगराई स्वास्थ्य संस्थामा लैजानुपर्छ। सुत्केरी अवस्थामा महिलालाई पोसिलो खाना खान दिने, आराम दिने, गह्रौँ भारी उठाउन नदिने जस्ता कुरामा परिवारका अन्य सदस्यले विशेष ध्यान दिनुपर्छ। त्यस्तै कम उमेरमा विवाह नगराउने, धेरै सन्तान नजन्माउने कुरामा सचेत हुनुपर्छ। समस्याबाट पीडित महिलालाई हेयको दृष्टिले नहेरी समयमै उपचार गराउन सहयोग गर्नुपर्छ। यसमा पतिको भूमिका अझ धेरै महत्वपूर्ण हुन्छ।

 

Topics #खस्छ #पाठेघर