चिकित्सकहरू महिलाको उमेर ३५ र पुरुषको उमेर ४० नाघिसकेको अवस्थामा नियमित सम्पर्क गरेको छ महिनासम्ममा बच्चा नभएमै जाँचका लागि सल्लाह दिन्छन् । प्राथमिक प्रकारको निःसन्तानको समस्यामा विवाह (यौनसम्पर्क) देखि नै गर्भ नरहने र दोस्रो प्रकारमा गर्भ रहिसकेपछि अन्य समस्या आउँछन् ।

चिकित्सकका अनुसार दुई वर्षसम्म श्रीमान्–श्रीमतीसँगै बसेर कुनै अस्थायी साधन प्रयोग नगरिकन नियमित शारीरिक सम्पर्क गर्दा पनि गर्भ धारण नभएमा त्यसलाई बाँझोपन भनिन्छ । धेरै आधारमा बाँझोपन पनि निराकरण गर्न सकिने स्वास्थ्य समस्या हो । सन्तान प्राप्तिका लागि महिनावारीको चक्रलाई समेत पछ्याएर सावधानीपूर्वक प्रयास गर्दा पनि एक वर्षभित्र गर्भ रहेन भने उपचार थाल्नुपर्ने चिकित्सकको भनाइ छ ।
गर्भधानका लागि जैविक रूपमा डिम्बवाहिनी नलीभित्र पुरुषको शुक्रकीट र महिलाको डिम्बको मिलन हुनुपर्छ । त्यो मिलन महिलाको महिनावारी भएर डिम्ब निस्किएको समयमा हुन सक्छ । चिकित्सकका अनुसार महिनावारी भएको १४ आँै दिनमा मात्रै डिम्बाशयबाट डिम्ब निस्किन्छ ।

यौनसम्पर्कपछि पाठेघरका मुख हँुँदै डिम्बनलीतर्फ लाग्ने शुक्रकीट र डिम्बाशयबाट नलीतर्फ आउने निस्किएको डिम्ब (अण्डा)को भेटपछि गर्भाधान हुन्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमन ताम्राकारका अनुसार यस्तो डिम्ब एवं शुक्रकीटले उपयुक्त वातावरणमा सामान्यतः १३ देखि १७ दिनसम्ममा गर्भाधान हुन्छ । ‘जतिसुकै इच्छा राखे पनि महिनावारीको सात दिनपछि र सात दिनअघि गर्भाधानको सम्भावना रहन्न,’ उनले भने, ‘डिम्ब र शुक्रकीट पाठेघर वा डिम्बनलीमा दुईदेखि तीन दिनसम्म बाँच्न सक्ने भएकाले सो समयमा भेट हुँदा मात्रै गर्भाधान हुने हो ।’
शुक्रकीट पाठेघरको मुखमा जम्मा भएर डिम्बवाहिनी नलीतिर लाग्छ । करिब १० सेन्टीमिटर लामो नलीमा नमर्दै उनीहरू भेटिएपछि मात्रै गर्भाधान हुन्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योति अग्रवालका अनुसार सबै अवस्थामा गर्भाधान हुनासाथ बच्चा बनिहाल्दैन । ‘थाहा नपाएरै पनि थुपै्र गर्भ खेर गइरहन्छन्,’ उनले भनिन्, ‘डिम्ब र शुक्रकीटको भेट हुनासाथ गर्भाधान हुन्न ।’

अग्रवालका अनुसार धेरैजसो दम्पती सन्तान चाहना राखेर बिनाअस्थायी साधन सहवास गरेको पहिलो पटकमै सन्तान लाभ हुनुपर्छ भन्ने भ्रममा छन् । ‘महिलाको प्रत्येक महिना डिम्ब निस्किन्छ भन्ने छैन, डिम्ब ननिस्की गर्भ रहन्न,’ उनले भनिन्, ‘त्यसैले पनि कम्तीमा एक वर्षको नियमित सम्पर्कको हिस्ट्रीपछि क्रमशः जाँच एवं उपचार गर्नुपर्छ ।’ डा.अग्रवालको अनुभवमा नेपालमा धेरै बाँझोपन पीडितहरू उपचार थाल्नासाथ सफलता नपाएपछि तनावमा फस्ने गरेका छन् । ‘जति तनाव लिन्छन्, उति सम्भावना कम हुन्छ,’ उनले भनिन्, ‘चिन्ता नलिई गरिएको सहवासमा गर्भाधानको सम्भावना बढी हुन्छ ।’ सामान्यतः ९२ देखि ९५ प्रतिशत बाँझोपनलाई शल्यक्रिया र औषधिबाट हल गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय रूपमा करिब १० प्रतिशत दम्पतीमा निःसन्तानको समस्या हुने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन् । नेपालमा पेशा क्षेत्र, आर्थिक अवस्थाका आधारमा १५ देखि २५ प्रतिशतसम्म दम्पती यो समस्याबाट ग्रस्त छन् । ‘करिब ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी, ४० देखि ५० प्रतिशतमा महिलामा खराबी, १० प्रतिशतमा दुवैमा खराबी तथा बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता नलागीकन बाँझोपनबाट पीडित भएका हुन्छन्,’ डा. रिजाल भन्छन् ।

डा.अग्रवालका अनुसार पुरुषमा हुने बाँझोपनको प्रमुख कारण शिशु अवस्थामा बच्चाको गुप्तांगमा सेक्ने प्रचलन हो । ‘यसले शुक्रकीटको स्रोत नै नष्ट हुन्छ,’ उनी भन्छिन्, ‘त्योबाहेक शुक्रकीट नबन्नु, नली बन्द हुनु, बनिसकेको वीर्य बाहिर आउने बाटोमा अवरोध हुनु र योनिमा वीर्य स्खलन हुन समस्या हुनु तथा शुक्रकीटको बनावटमा जटिलता हुनु पुरुषजन्य निःसन्तानका कारण हुन् ।’

डा. ताम्राकारका अनुसार अण्डाशय अण्डकोषमा नझर्नाले, अण्डकोष सुन्निनाले, वंशाणुगत वा कतिपय औषधि तथा इन्डोक्राइन (अन्तस्राव) ग्रन्थिको कार्यमा खराबीको कारणले शुक्रकीट बन्न सक्दैन । ‘कहिलेकाहीँ त शुक्रकीटवाहिनी नली नै नहुने, शुक्रकीटको चाल नै ढिलो हुने एवं संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली नै थुनिएर पनि बाँझोपन हुन सक्छ,’ डा. ताम्राकारले भने ।

 

Topics #उपचार #बाँझोपन