अधिकांश जनावरलाई पनि पानीको अभावका कारण कैयौँ समस्या पर्ने गर्छ तर संसारमा यस्ता पनि केही जनावर छन्, जसले महिनौँ वा वर्षौं पानीबिना नै जीवन चलाउन सक्छन् । पानीबिनाको जीवन कल्पना गर्न सकिँदैन । केही मानिस यस्ता होलान् जो केही दिनसम्म पानी नपिइकनै बाँच्न सक्लान् तर पृथ्वीको बढ्दो तापमान, बेग्लाबेग्लै ठाउँमा अल्पवृष्टि वा सुक्खापनका कारण अब पृथ्वीमा खानेपानीको सङ्कट बढेर जाने त होइन भन्ने आशङ्का बढ्न थालेको छ । भूमध्य सागरको पूर्वी भागमा नौ वर्षयतादेखि सबैभन्दा ठूलो खडेरीको सामना गरिरहेको छ ।

पानीको अभावले मानिस र पशुलाई पनि ठूलो असर परिरहेको छ । हाम्रो शरीरले पसिना र पिसाबका रुपमा हरेक दिन चारदेखि नौ कप पानी शरीरबाट निस्कने गर्छ । यदि हामीले तिर्खा मेटाउन आवश्यक पर्ने पानी पिएनौँ भने हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ । पानीको कमीका कारण हामीलाई बढी नै थकान, टाउको दुख्ने, मांशपेसीमा कमजोरी, मुटुको ढुकढुकी बढ्ने र अचानक बेहोस हुनेजस्ता समस्या झेल्नुपर्ने हुन्छ ।

लामो समयसम्म खडेरी पर्ने ठाउँ वा मरुभूमिका जनावरहरुले पानीको अभावलाई झेल्न थरिथरिका तरिका अपनाउने गर्छन् । जस्तो कि, मरुभूमिमा पाइने कछुवाले आफ्नो शरीरभित्रै पानी जम्मा गरेर राख्छ ताकि खराब समयमा त्यसलाई उपयोग गर्न सकियोस् । दक्षिण अमेरिकाका ग्यालेपेगोस द्विपमा पाइने कछुवाले पनि यस्तै उपाय अपनाउँछ । उसले आफ्नो शरीरभित्र पानी जम्मा गर्छ । वर्षाको मौसममा पातहरुमा जम्मा भएको पानीलाई शरीरभित्रको एउटा थैलीमा जम्मा गर्ने गर्छ । अमेरिकाको एरिजोना विश्वविद्यालयका ग्लेन वाल्सबर्ग भन्छन्, ‘तपाईं कुनै कछुवालाई धेरै दुःख दिनुभयो भने उसले तपाबाँच्नईंलाई अत्याउन शरीरभित्र जम्मा गरिराखेको पानी उल्टी गरिदिन्छ ।’

यस्तै अस्ट्रेलियामा पाइने एक किसिमको भ्यागुताले मुखैको छेउमा एउटा थैलीमा पानी जम्मा गरी राख्ने गर्छ । यस थैलीमा भ्यागुताले आफ्नो वजनभन्दा दोब्बरको पानी जम्मा गर्न सक्छ । यही जम्मा गरेको पानीलाई उसले पाँच वर्षसम्म उपयोग गर्न सक्छ । मरुभूमिमा बस्ने सर्प, विभिन्न पक्षी, ठूला भ्यागुता, जङ्गली कुकुरजस्ता जनावरहरुलाई तिर्खा लाग्नेबित्तिकै यिनै भ्यागुतालाई मारी उसको शरीरमा भएको पानी पिउँछन् र आवश्यकता पूरा गर्छन् ।

अस्ट्रेलियाका टिबी आदिवासीले पनि ठूलो खडेरीका बेला खाल्डो खनेर भ्यागुता निकाल्छन् र तिनलाई निचोरेर आएको पानीले तिर्खा मेट्ने गर्छन् । सुक्खाग्रस्त क्षेत्रमा बस्ने केही जनावरहरुले आफ्नो शरीरमाथि अर्को पत्र जम्मा गर्छन् र पानी सुक्ने प्रक्रियालाई बचाउने गर्छन् । त्यस्तै उत्तरी अमेरिकामा पाइने स्पेडफुट नामक भ्यागुताले जमिन खनेर त्यहीँभित्र लुक्छन् । यसो गर्नुको मुख्य कारण शरीरको पानी तापक्रमका कारण नसोसियोस् भन्ने नै हो । यस्ता भ्यागुता जमिनभित्र १० महिनासम्म लुक्न सक्छन् । पानी परेको थाहा पाउनेबित्तिकै जमिनमुनिबाट बाहिर निस्कन्छन् ।

एरिजोना विश्वविद्यालयका ग्लेन वाल्सबर्गले प्रयोगका रुपमा कैयौँ महिनासम्म एउटा भ्यागुतालाई राखे । महिनौँपछि जुत्ता खोलेर हेर्दा भ्यागुतो म¥यो कि जस्तो लागेको थियो तर होइन रहेछ ! पानी छेप्दा ऊ निद्राबाट उठेजस्तो मात्र भएन, उसले आफ्नो शरीर वरिपरि बनाएको खोल च्यातेर जुरुक्क उठ्यो । अफ्रिकाको कम पानी पाइने ठाउँमा बस्ने लङफिसले पनि पानीको अभावसँग जुझ्ने बेग्लै तरिका निकाल्छ । पानीमा रहँदा अक्सिजनको आवश्यकता त्यहीँबाट पूरा गर्छ । जसै खडेरी पर्न थाल्छ, छालामार्फत् श्वास लिन थाल्छ । ठूलो खडेरीका बेलामा यस्ता माछाले खाल्डो खनेर त्यसभित्र लुक्छ । आफ्नो शरीरको सुरक्षाका लागि एक पत्र बनाउँछ । यस्तो अवस्थामा यो माछा तीनदेखि पाँच वर्षसम्म बाँच्न सक्छ ।

केही जनावरले त पानीको अभाव हुन थालेपछि पानी पिउनै छाड्छन् । जस्तो कि, उत्तरी अमेरिकामा पाइने कंगारु मुसा । वर्षाका बेला यिनले विभिन्न बिउहरु जम्मा गर्छन् । अनि यही बिउ खाएर वर्षौंसम्म बाँच्न सक्छन् । त्यही बिउबाटै यिनले पानीको अभाव पूरा गर्छन् । शरीरभित्रको पानी दुरुपयोग नहोस् भनेर दिउँसो आफ्नो दुलोबाट बाहिर निस्कँदैनन् । ऊँट, मरुभूमिका हरिणले पानीको कमी पूरा गर्न शरीरमा बोसो जम्मा गर्न थाल्छन् । जसै पानीको अभाव बाक्लिन थाल्छ, बोसो पग्लन थाल्छ र त्यसले पानीको अभाव पूरा गर्छ । मरुभूमि र सुक्खाग्रस्त क्षेत्रमा पाइने जनावरहरु पानी प्रयोग गर्न निकै कञ्जुस हुन्छन् । पसिनाबाट, श्वास लिँदा, दिसा–पिसाब गर्दा जसरी पानी बाहिरिन्छ, त्यसलाई विभिन्न तरिकाले रोक्ने प्रयास गर्छन् । पसिना नआओस् भनेर दिउँसो हिँडडुल गर्दैनन् ।

मानिसलाई आफ्नो शरीरको तापमान ३८ डिग्री सेल्सियस बनाइराख्न ठूलो मात्रामा पानीको आवश्यकता पर्छ तर मरुभूमिका जनावर भने शरीरको तापक्रम झरोस् भनेर चासो दिँदैनन् । उनीहरु श्वास फेर्दा पनि कम हावा निकाल्छन् ताकि शरीरमा जम्मा भएको पानी खपत नहोस् । यसरी कैयौँ जनावर तथा पक्षीहरुले पानीको जतन गर्छन्, खर्च गर्न कञ्जुस्याइँ गर्छन् तर पानी बिना नै बाँच्छन् भन्ने चाहिँ होइन । जल नै जीवन हो । यसको अभावमा प्राणीले जस्तासुकै उपाय अपनाए पनि पानीबिना बाँच्न त असम्भव नै छ ।
जेन पाल्मर, बिबिसी अर्थको आलेख

Topics #पानी #बाँच्न