मस्तिष्कका लागि खतरा सामान्य मद्यपान पनि

यसअघिका अध्ययनले पनि सामान्य मद्यपानले मस्तिष्कमा खराब असर पार्ने तथ्य सार्वजनिक गरेका थिए। यद्यपि, अध्ययनका परिणाम मिश्रित आउने गरेका छन्। सन् २००८ मा गरिएको एउटा अध्ययनले मुटुसम्बन्धी रोगबाट जोगाउने बाहेक जति धेरै मद्यपान गर्‍यो, त्यति नै छिटो मस्तिष्क बुढो हुने देखाएको थियो।

केही अनुसन्धानले सन्तुलित/थोरै मद्यपानले स्वास्थ्य राम्रो हुने देखाएका छन्। कतिपय चिकित्सक एक ग्लास वाइन वा बियर सन्तुलित रात्री भोजन (डिनर) मा सामेल गर्न सल्लाह दिन्छन्। ‘मेडिटेरानियन डाइट’ र ‘ड्यास (डिएएसएच) डाइट’जस्ता सन्तुलित भोजनले मुटु र मस्तिष्क स्वस्थ राख्नुका साथै रक्तचापबाट पनि जोगाउने प्रमाणित भइसकेको छ। तर, हालै गरिएको एउटा अनुसन्धाानले भने यस्तो सामान्य मात्रामा गरिने मद्यपान मस्तिष्कका लागि स्वस्थ्यकर नभएको देखाएको छ।

अध्ययनकर्ताहरुले ‘ह्वाइटहल टु स्टडी’ शीर्षकको अध्ययनमा सहभागीहरूले एक सातामा गरेको मद्यपानको मात्रा अनुगमन र विश्लेषण गरेका थिए। यो अध्ययनको केही अंश गत साता प्रकाशित ‘द बिएमजे जर्नल’मा छापिएको छ।

ह्वाइटहल टु स्टडीले बेलायतको निजामति सेवामा ३० वर्षदेखि कार्यरत कर्मचारीको एउटा समूहको रोग र सामाजिक व्यवहार अनुगमन गर्छ। अध्ययनअन्तर्गत अक्सफोर्ड विश्वविद्यालय र युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले कुनै निश्चित परिस्थितिमा सहभागीको मस्तिष्कले कसरी काम गर्छ भनेर परीक्षणका साथै ‘एमआरआई’ गरेका थिए।

वैज्ञानिकले अध्ययनमा के पाए भने अत्यधिक÷बढी मात्रामा मद्यपान गर्नेलाई ‘हिप्पोक्याम्परल अट्रोफी’ हुने उच्च जोखिम हुन्छ। हिप्पोक्याम्परल अट्रोफीमा मस्तिष्कका कुनै चिज बस्तु, ठाउँ र परिस्थितिको सही आँकलन गर्ने कोष नष्ट हुन्छन् र कालान्तरमा यो ‘अल्जाइमर्स’ र ‘डिमेन्सिया’जस्ता स्मरण शक्ति लोप हुने रोगमा परिणत हुन सक्छ।

अत्यधिक मात्रामा मद्यपान गर्ने सहभागीहरूमा भाषासम्बन्धी क्षमता तीव्र गतिमा घटेको पाइयो। साथै तुरुन्त चिन्तन÷सोचविचार गर्ने क्षमतामा प्रभाव पार्ने ‘ह्वाइट म्याटर’को क्षमतामा समेत नकारात्मक असर गरेको पाइयो।

केही अध्ययनले अत्यधिक मद्यपान गर्ने व्यक्तिको मस्तिष्कमा नकारात्मक प्रभाव पर्ने र कालान्तरमा परिवर्तन नै हुने देखाएका छन्। तर, यो अध्ययनले भने अत्यधिक मात्र नभएर सामान्य मद्यपान गर्ने व्यक्तिको मस्तिष्कमा समेत नकारात्मक असर पर्ने र मस्तिष्क परिवर्तन हुने निष्कर्ष निकालेको छ। यति मात्र होइन, मद्यपान नगर्नेको तुलनामा सामान्य मद्यपान गर्नेलाई ‘हिप्पोक्याम्परल अट्रोफी’को उच्च जोखिम हुने तथ्य पत्ता लगायो।

‘सामान्य र थोरै मद्यपान गर्नेहरूमा नकारात्मक असरबाट नजोगिएको देखेर हामी अचम्भित भयौं,’ अक्सफोर्ड विश्वविद्यालयको साइक्याट्री विभागकी क्लिनिकल लेक्चररसमेत रहेकी अध्ययनकर्ता समूहकी डा. आन्या टोपिवाला भन्छिन्, ‘यी त्यस्ता व्यक्ति हुन्, जो सामाजिक मानिन्छन् र धेरै मद्यपान गर्दैनन्।’

यहाँसम्म कि अत्यधिक मद्यपान गर्नेहरू पनि सप्ताहान्तमा रमाइलो गर्नेहरू जति मद्यपान गर्दैनन्। अध्ययनमा सहभागी समूहमध्ये अत्यधिक मद्यपान गर्ने समूहका सहभागीले एक सातामा जम्मा ३० युनिट (एक युनिट बराबर १० मिलिलिटर वा ८ ग्राम शुद्ध) अल्कोहल सेवन गरेका थिए। एउटा मध्यम आकारको ग्लासमा वाइन खाँदा त्यसमा दुई युनिट अल्कोहल हुन्छ।

यसको हिसाब गर्दा अध्ययनमा सामेल अत्यधिक मद्यपान गर्नेको समूहले मध्यम आकारका ग्लासको दुई ग्लास वा दुई वटा वियर एक सातासम्म दैनिक खाएका थिए । त्यस्तै, सामान्य मद्यपान गर्नेको समूहले प्रतिसाता १४ देखि २१ युनिट अल्कोहल सेवन गरेका थिए वा मध्यम आकारको ग्लासमा दैनिक एक ग्लास वाइन र सप्ताहान्तमा केही थप वाइन खाएका थिए।

अध्ययनमा सामान्य मद्यपान गर्ने व्यक्तिलाई मद्यपान नगर्ने व्यक्तिका तुलनामा हिप्पोक्यापरल अट्रोफी हुने जोखिम तीन गुणा बढी हुने तथ्य अनुसन्धानकर्ताले पत्ता लगाए। तर, अत्यधिक र सामान्य मद्यपान गर्ने व्यक्तिको मस्तिष्कमा कस्तो र कति परिवर्तन हुन्छ एवं त्यसको मात्राबारे ‘क्लिनिकल्ली’ प्रमाणित भने भएन। साथै, अध्ययनमा सहभागीको परीक्षणपछि पनि मद्यपान र मस्तिष्कमा आएका नकारात्मक परिवर्तनबीच सम्बन्ध रहेको कुनै प्रमाण फेला परेन।

मद्यपान नगर्नेको तुलनामा थोरै मद्यपान गर्ने अर्थात् राति एक सानो ग्लास वाइन वा सातामा ७ युनिट अल्कोहल सेवन गर्ने व्यक्तिमा भने अनुसन्धानकर्ताले खासै त्यस्तो खराब प्रभाव फेला पारेनन्। साथै, अनुसन्धानकर्ताले मद्यपान नगर्नेको तुलनामा थोरै मद्यपान गर्नेलाई अल्कोहलले फाइदा भएको पनि पाएनन्।

‘हार्भर्ड च्यान स्कुल अफ पब्लिक हेल्थ’को प्रोग्राम इन कार्डियोभास्कुल इपिडिमियोलजीका निर्देशक तथा मेडिसिन प्रोफेसर एरिक रिमका अनुसार यो अध्ययनमा मद्यपान नगर्ने सहभागीको संख्या अझै बढाउनुपर्छ। यो अध्ययनमा रिम सामेल थिएनन्। तर उनले लामो समयदेखि मद्यपानले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धमा अध्ययन गरिरहेका छन्। उनी यो अध्ययनले निकै चाखलाग्दो अवधारणामा अनुसन्धान गरे पनि अध्ययनमा सामेल मद्यपान नगर्नेको संख्या थोरै (२२ पुरुष र १५ महिला) भएकाले मद्यपानका असर वा अध्ययनको नतिजा फरक परेको हुन सक्ने बताउँछन्।

नटिङ्घम विश्वविद्यालयको ‘सेन्टर फर ओल्ड एज एन्ड डिमेन्सिया’का निर्देशक र डिमेन्सिया रिसर्चसम्बन्धी प्रोफेसर टम डेनिङले यो अध्ययनलाई सबैभन्दा प्रभावशाली भन्दै सबैलाई मद्यपान अलिकति घटाउन सुझाव दिएको बताए। तर, उनले अध्ययनको नतिजामाथि पनि प्रश्न उठाएका छन्। प्रायशः कसैले पनि आफूले गर्ने मद्यपानको सही मात्रा नबताउने र ढाँट्ने गरेको आफूले पाएको उनले बताए।

‘मानिसहरू आफूलाई सम्मानित देखाउन जति मद्यपान गर्छन्, त्यसभन्दा थोरै मदिरा खाने गरेको बताउँछन्,’ डेनिङले भने, ‘मद्यपानको मात्रा खाएभन्दा थोरै बताएको भए सामान्य मद्यपानबाट पर्ने नकारात्मक असर अझै बढी हुन सक्छ।’

‘यसअघि गरिएका अध्ययनहरूले उमेर ढल्कँदै गएपछि मानिसले मद्यपान पनि घटाउँदै जाने देखाएका छन्,’ अक्सफोर्ड विश्वविद्यालयको ‘सेन्टर फर एभिडेन्स बेस्ड मेडिसिन’का निर्देशक कार्ल हेनेगनले भने। उनी पनि यो अनुसन्धानमा सामेल थिएनन्।

‘यस्ता खालका अनुसन्धानले सबै तत्वको प्रभावबारे अध्ययन गर्न सक्दैनन्, त्यसैले यस्ता अध्ययनबाट कुनै रोग वा प्रभावका कारणसम्बन्धी निष्कर्ष निकालिनु हुँदैन,’ हेनेगन भन्छन्, ‘सबै तत्व र तिनको तथ्यांक, प्रमाण समाविष्ट अध्ययन मात्र सन्तुलित र पूर्ण हुन्छ। सर्वसाधारणले पनि त्यसको निष्कर्षका आधारमा कति मात्रा अल्कोहल सेवन गर्ने वा आफ्नो स्वास्थ्य नबिग्रने गरी मद्यपानको मात्रा निर्धारण गर्न सक्छन्।’

मद्यपानले क्यान्सरको जोखिम बढाउने भए पनि कतिपय अध्ययनले सामान्य मात्रामा गरिने मद्यपानले स्वस्थ रहन सघाउने देखाएको रिम औंल्याउँछन्। मद्यपान नगर्नेको तुलनामा सामान्य मद्यपान गर्नेहरूलाई ‘टाइप–२ मधुमेह’को जोखिम ३० देखि ४० प्रतिशत न्यून हुने विभिन्न अध्ययनले देखाएका छन्। ती अध्ययनका अनुसार मद्यपान नगर्नेका तुलनामा सामान्य मद्यपानले मुटुलाई फाइदा पुर्याउँछ र बढी बाँच्छ सघाउँछ।

‘अवलोकनमार्फत गरिने यस्ता अध्ययनबाट अल्कोहलले डिमेन्सिया गराउँछ भन्ने प्रमाणित हुँदैन। तर, यो अध्ययनको नतिजा मेरो क्लिनिकल अनुभवसँग मेल खान्छ,’ ब्रिस्टल विश्वविद्यालयका ‘डिमेन्सिया न्युरोलजी’की कन्सल्ट्यान्ट सिनियर प्रोफेसर डा. एलिजाबेथ कोल्टार्ड भन्छिन्, ‘अपेक्षा गरौं यो अध्ययनले मद्यपानको उपयुक्त सुरक्षित मात्रा तय गर्न सकोस्, ताकि भविष्यमा डिमेन्सियाबाट जोगाउन सकियोस्। थप अध्ययन नहुन्जेल मस्तिष्कमा खराब प्रभाव वा स्मरणशक्ति घट्नुसँग मद्यपानको सम्बन्ध नदेखिनु पनि तत्कालका लागि खुसीको कुरा हो।’

टोपिवालाले उनी र उनका सहकर्मीले अझै ठूलो सहभागी संख्या र फरक–फरक पृष्ठभूमिका सहभागी (नमूना)मा यो अध्ययन दोहोर्‍याउन चाहेको बताइन्। अहिलेको अध्ययनमा भने अधिकांश सहभागी सामान्यभन्दा बढी आइक्यू भएका र समान पृष्ठभूमिका पुरुष मात्र थिए।