मानिसको मेरुदण्डका ३३ वटा हड्डीका टुक्रालाई लचकता दिंदै अनावश्यक दबाबबाट जोगाउन बीच–बीचमा नरम र लचकदार प्याड (डिस्क) हुन्छ। मेरुदण्डमा सर्भाइकल, थोरासिक, लम्बर र सेक्रल जस्ता हड्डी हुन्छन्। त्यसमा पनि लम्बर नामका पाँच वटा भर्टिब्रा (हड्डी) ले शरीरको धेरैजसो भार थेगेको हुन्छ। लम्बरमा पर्ने असर ढाड दुख्नुको प्रमुख कारण हो।

करीब ८० प्रतिशत वयस्क महिला–पुरुषलाई जीवनमा एक न एक पटक ढाड दुख्ने समस्याले सताउँछ। अधिकांश नेपाली आफ्नो दैनिक कार्यकलाप निहुरेर गर्छन्। ढाड दुख्नुको मुख्य कारण गलत तरीकाले काम गर्नु वा बस्नु नै हो। त्यसक्रममा ढाड वा नजीकको मांसपेशीमा असर परेर ढाडको समस्या शुरू हुन्छ।

स्त्री रोग विभागमा आउने महिलामध्ये अधिकांश ढाड दुख्ने समस्याका हुन्छन्। आधाजसो गर्भवतीले ढाड दुखेको शिकायत गरेकै हुन्छन्। पाठेघर पछाडि फर्किंदा वा पाठेघरलाई अडाउने तन्तु तन्किंदा ढाड दुख्न सक्छ। यसका साथै स्त्री जननेन्द्रियको जीर्ण प्रकारको संक्रमण, महीनावारीको रगत उल्टो फर्किने इन्डोमेेटि्रओसिसको समस्या, डिम्बाशयमा ट्युमर, पाठेघरमा मासु पलाउँदा, जननेन्द्रियको क्यान्सरले स्नायुको जरा भेट्दा वा क्यान्सर फैलिएर ढाडको हड्डीमा पुग्दा पनि महिलाहरूको ढाड दुख्छ।

अधिकांश ढाडदुखाइका कारण पेशासँग जोडिएको हुन्छ। ढाड दुख्ने समस्यालाई दुखाइको अवधिको आधारमा सख्त, मध्यम (४ देखि १२ हप्ता) वा जीर्ण (१२ हप्ताभन्दा लामो समय) मा बाँडिन्छ। कारण नखुट्याई उपचार थाल्नुहुँदैन। बुढ्यौलीसँगै मेरुदण्डको हड्डी खिइएर जोर्नी तथा डिस्कमा क्षति पुग्दा पनि ढाड दुख्छ। ढाड मर्किंदा, डिस्कले ठाउँ छोड्दा, मेरुदण्डको नसा च्यापिंदा, पुट्ठाबाट तिघ्रातिर जाने नसा (सियाटिका) थिचिंदा वा जरक–मरकबाट चोट पुग्दा ढाडमा एक्कासी पीडा हुन्छ। ढाड दुखेसँगै तौल घट्यो वा ज्वरो आयो भने समस्या गम्भीर छ भन्ने बुझनुपर्छ।

ढाड दुख्ने समस्या पहिलो पटक ३० देखि ५० वर्षको उमेरमा आउँछ र उमेर वृद्धिसँगै बढ्दै जान्छ। गर्भवती, अधिक वजन, वंशाणुगत, व्यवसायजन्य (मेरुदण्ड थर्किने वा बटारिने), अधिक भार बोक्ने कारणहरूले पनि ढाड दुख्छ। शारीरिक रूपमा कमजोर व्यक्तिमा ढाड दुख्ने समस्या बढी हुन्छ। अरू बेला बौद्धिक काम गरेर बिदाको दिन मात्र बढ्ता शारीरिक अभ्यास गर्नेहरूमा पनि ढाडको समस्या आउँछ।

एक्सरे, सीटीस्क्यान, एमआरआई, स्क्यान, अल्ट्रासाउण्डलगायतका विधिबाट ढाड दुख्नुको कारण खुट्याउन सकिन्छ। संक्रमण वा सुजनको शंका भएको अवस्थामा रगत जाँच गर्नुपर्छ। उपचारको शुरुवात सिटामोल, ब्रुफेन जस्ता औषधिबाट हुन्छ। मांसपेशी तथा जोर्नीको चोट वा नसा च्यापिएको अवस्थामा शल्यक्रिया आवश्यक पर्न सक्छ। समयमै उपचार गर्दा जटिलता आउन पाउँदैन। ढाड दुख्ने समस्यामा बेल्टको प्रयोग निकै उपयोगीसिद्ध भएको छ।

जीर्ण खालको ढाडदुखाइमा साधारण खालको दैनिक क्रियाकलाप प्रभावकारीसिद्ध हुन्छ। ढाडको तल्लो भागलाई भर दिने मांसपेशी समूहलाई बलियो बनाउन मसाज (फिजियोथेरापी) र एक्युपंचर पनि प्रभावकारी हुन्छ। तातो वा चिसोले सेक्नाले पीडा सहज हुनुको साथै सुजन घटाउन मद्दत पुग्छ। कतिपय अध्ययनले ढाड दुख्दा आराम मात्र गर्नाले पीडा बल्झ्िने, मांसपेशी कमजोरी हुने, खुट्टामा रगत जम्नेलगायतका जटिलता उत्पन्न भएको देखाएका हुनाले दुखाइ कम हुनासाथ दैनिक काममा लाग्नुपर्छ।

ढाडको तल्लो भाग स्वस्थ राख्न

१. लामो शारीरिक निष्त्रि्कयतापछि साइक्लिङ, पौडी, योग वा छिटो–छिटो हिंड्ने गर्नुपर्छ।

२. कडा खालको शारीरिक गतिविधि पछि जहिल्यै जीउ स्ट्रेच (तानतुन) गर्नुपर्छ।

३. कुर्सीमा बस्दा तल्लो ढाडलाई भर पुग्ने हिसाबले सीधा बस्नुपर्छ। लामो समय कुर्सीमा बस्नुपर्दा बीचबीचमा उठेर एकछिन    टहल्नुपर्छ। पलेंटी कसेर वा खुट्टा दोबारेर पनि लामो समय बस्नुहुँदैन।

४. भरसक हिल विनाको सजिलो जुत्ता–चप्पल लगाउनुपर्छ।इन्टरनेट तस्वीर

५. कडा खालको ओच्छ्यानमा सुत्ने गर्नुपर्छ।

६. थचक्क बसेर वा लामो लट्ठीमा राखेको कुचोले बढारकुढार गर्दा ढाड दुख्ने समस्या हुँदैन।

७. गहु्रँगो भारी उठाउँदा घुँडा खुम्च्याएर उठाउनुपर्छ।

८. धूमपानले तल्लो ढाडको रक्तप्रवाह घटाइरहेको हुन्छ।

Topics #चिन्तित #ढाड