जाडोमा बालबालिकालाई सताउला रोटाले

गर्मी महिनामा पनि रोटा भाइरसका कारण हुने झाडापखाला देखिन्छ, तर यो अत्यन्तै न्यून हुन्छ । अहिले गर्मी पनि गइनसकेको र जाडो पनि सुरु भइनसकेको अवस्थामा यो भाइरसबाट हुने संक्रमण बढेको पाइन्छ ।

नेपालका बालबालिकामा देखिने संक्रमणमध्ये निमोनियापछि ठूलो संक्रमणका रूपमा झाडापखाला पर्छ । त्यसमा पनि जाडोको समय र गर्मी मौषम सुरु हुँदाका बखत देखिने रोटा भाइरसका कारण हुने संक्रमण बढी देखिन्छ । बालबालिकामा देखिने झाडापखालामा ५० प्रतिशतभन्दा बढी संक्रमणको कारण सोही भाइरस हो ।

कसरी सर्छ रोटा भाइरस ?

यो भाइरस फोहोरमैला, पानी वा खानामा हुन्छ । कहिलेकाहीँ मानिसको शरीरमा पनि बसिरहेको हुन्छ । सबैभन्दा बढी दिसामा हुन्छ । यो भाइरस कुनै पनि माध्यमबाट शरीरमा गयो भने झाडापखाला लाग्ने गर्छ । विशेष गरी दिसामा भएको भाइरस मुखको माध्यमबाट जाँदा झाडापखाला लाग्छ । त्यो प्रक्रियालाई अंग्रेजीमा ‘पिको ओेरल’ भनिन्छ । सोही कारण बच्चालाई छुनुअघि र केही खुवाउनु पहिले सफा साबुन पानीले हात धुनुपर्छ । यदि फोहोर छोएर हात नधोई खाना खायौँ भने त्यो पेटमा जान्छ । त्यसका साथै फोहोर धेरै छ भने झिंगामार्फत पनि यो भाइरस सर्न सक्छ । घरमा हुने मुसा, भिंmगा, साङ्लाको माध्यमबाट खानेकुरामा भाइरस आउन सक्छ । त्यो सेवन गर्दा झाडापखाला लाग्न सक्छ ।

लक्षण

सबैभन्दा पहिले बान्ता हुन्छ ।

त्यसपछि दिसा पातलो हुन्छ ।

मन्द गतिको ज्वरो आउँछ ।

पेट दुख्छ ।

यो भाइरसका कारण हुने झडापखालामा रगत भने देखिँदैन ।

झाडापखालाले जलवियोजन गराउँछ

झाडापखालाले नै बालबालिकाको मृत्यु भने हुँदैन । तर, यसले गराउने जलवियोजनले गर्दा बालबालिकाको मृत्यु हुन सक्छ । बारम्बार पखाला लाग्दा बालबालिकाको शरीरमा आवश्यक पर्ने पानीको मात्रा घट्न जान्छ । लगातारको पानीसहितको दिसा र बान्ताले गर्दा उनीहरूलाई जलवियोजन हुन्छ । जलवियोजन हुँदा धेरै तिर्खा लाग्छ । छटपटी बढ्छ । हेर्दा आँखा गढेको देखिन्छ । पेटको छाला तानेर हेर्दा हतपत नफर्किने हुन्छ । कडा जलवियोजन भएमा बालबालिकाले झोल पदार्थ पिउन सक्दैन । खानेकुरा खान सक्दैन । सानो बच्चा छ भने आमाको दूध तान्न सक्दैन । बच्चा बेहोस हुन सक्छ ।

उपचार

झाडापखालाको मुख्य उपचार जलवियोजनको उपचार नै हो । जति जलवियोजन भएर शरीरबाट पानी बाहिर जान्छ, त्यति नै झोल पदार्थ खुवाउने गर्नुपर्छ । ६ महिनासम्मको बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान लगातार गराउनुपर्छ । ६ महिनामाथिको बालबालिका छ भने जीवनजलको साथसाथै आमाको दूध, दालको रस, गेडागुडी तरकारीको रस खुवाउने, ताजा फलफूलको रस र केरा खुवाउनुपर्छ । थोरै मात्रामा जाउलोसँग दही वा मोही पनि झाडापखाला लागेका वेला राम्रो हुन्छ ।

झाडापखाला लागेका वेला जंक फुड खुवाउनुहँुदैन ।

झोलपदार्थसँगै जिंक चक्की खुवाउनु राम्रो हुन्छ । यसले कहिलेकाहीं उल्टी गराउन सक्छ, तर आफैं ठीक हुन्छ । कडा जलवियोजन भएको अवस्थामा तत्काल स्वास्थ्य संस्था लानुपर्छ । प्रायः झाडापखाला ३ दिनदेखि ७ दिनसम्ममा आफैं ठीक हुन्छ । सोभन्दा लामो समय लागेमा स्वास्थ्य संस्था लैजानुपर्छ ।

रोकथाम

जाडोमा हुने झाडापखालामा रोटा भाइरसविरुद्धको खोप दिनु राम्रो हुन्छ । सधैं ताजा र सफा खानेकुरा मात्र खुवाउनुपर्छ । शुद्ध पानी मात्र पिउन दिने । घरवरपरको वातावरण र चर्पी सफा राख्ने । केही खानुअघि र खाइसकेपछि अनिवार्य साबुनपानीले राम्ररी हात धुने । बाहिर गएर आएपछि सीधै बच्चालाई नसमाउने । समाउनुअघि हातखुट्टा राम्ररी धुने ।

जान्नैपर्ने कुरा

दुई हप्ताभन्दा कम समय झाडापखाला लागेको छ भने एन्टीबायोटिक खुवाउनुहुँदैन । खुवाउनुपरेमा चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ । दुई हप्ताभन्दा लामो समय झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला(क्रोनिक डायरिया) भनिन्छ । जसको उपचार फरक हुन्छ । त्यसमा पहिले कारण पत्ता लगाउनुपर्छ जसका लागि स्वास्थ्य संस्थामा लैजानुपर्छ । केरामा पोटासियमको मात्रा बढी हुन्छ । झाडापखाला भएको बच्चामा यो तत्व कम हुन्छ । त्यसले पेट फुलाउँछ, त्यसलाई नियन्त्रण गर्न फलफूल आवश्यक हुन्छ । झाडापखाला लागेका वेला बच्चाले कतिपटक पिसाब गर्छ त्यो हेर्नुपर्छ । सो वेला कम्तीमा एक दिनमा ७ पटक पिसाब फेरेको हुनुपर्छ । झोलपदार्थ कम खाँदा कम पिसाब हुने र त्यसले मिर्गाैलामा असर गर्ने हुन्छ । झाडापखालाको उपचार गर्दा एन्टीबायोटिक खान आवश्यक छैन । त्यस्तो औषधि खुवाएमा बच्चाको रोगप्रतिरोधी क्षमता कम भई झनै समस्या हुन सक्छ । दिसामा रगत गएको पाइएमा आउँ हुन सक्छ यस्तो वेला तत्काल स्वास्थ्य संस्थामा लगी दिसा जाँच गराउनुपर्छ । समय नपुगी जन्मिएका बच्चा, रोगसँग लड्ने क्षमता कम भएको बच्चा, कुपोषण भएको बच्चालाई दीर्घ झाडापखाला लाग्ने सम्भावना हुन्छ ।

हाम्रो स्वास्थको सहयोगमा ।