प्रेम सबैले गर्छ, कसैले झुटो गर्छ भने कसैले साचो, तर कसै कसैले साचो पनि यति साचो गर्छन कि मायाको लागि मार्न समेत तयार हुन्छन । प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन् भन्ने त उखानै छ । अमेरिकाको न्युजर्सीमा बस्ने एक व्यक्तिले यसलाई थप प्रमाणित गरिदिए ।

३२ वर्षका थोमस सिआनसिया एक अस्पतालमा काम गर्छन् । उनले एउटै अस्पतालमा काम गर्ने लरेन नामकी नर्सलाई मन पराए । मन पराएको कुरा कसरी भन्ने ? यदि लरेनले आफ्नो प्रेम प्रस्ताव अस्विकार गरिन् भने पनि मज्जा भएन । यसका लागि उनले अनौठो जुक्ति निकाले । उनले प्रेम प्रस्ताव राख्ने यस्तो प्रभावकारी तरिका अपनाए की लरेनले अस्विकार गर्ने कुरै भएन ।

थोमसले आफूलाई एलर्जीले सिकिस्त बनाएको भन्दै एम्बुलेन्स बोलाए । उनी यति गम्भीर बिरामी भएको नाटक गरे कि एम्बुलेन्समा हालेर उनैले काम गर्ने अस्पताल लगियो अनि आईसीयू कक्षमा उपचारका लागि भर्ना गरियो । थोमसलाई थाहा थियो कि त्यस समयमा आईसीयूमा उनले मन पराएकी नर्स लरेन काम गरिरहेकी थिइन् । किनकी त्यस सिफ्टमा आइसीयूमा लरेनकै पालो पर्थ्यो ।

जब उनलाईर् स्ट्रेचरमा हालेर आईसीयूभित्र छिराइयो र स्ट्रेचर भुइँमा राखियो तब थोमस एकाएक स्ट्रेचरबाट जुरुक्क उठे र बिरामीलाई सहयोग गर्न भन्दै नजिकै आएकी लरेनको अगाडि घुँडाले टेकेर हात जोड्दै प्रेम प्रस्ताव राखे । स्थिति निकै भावूक थियो । लरेन पनि थोमसको प्रपोज गर्ने शैलीबाट अत्यन्तै प्रभावित भइन् । उनले तत्कालै प्रेम प्रस्ताव स्विकार गरिन् र अँगालो हालिन् ।