रक्तचाप, कोलेस्ट्रोलजस्ता रिक्स फ्याक्टरको जाँच र नियन्त्रण गरेमा धेरै हदसम्म आकस्मिक मृत्युबाट जोगिन सकिने चिकित्सक बताउँछन् ।

राति सामान्य अवस्थामै सुतेको मान्छे बिहान मृत अवस्थामा भेटिन्छ । परिवारका सदस्य भन्छन्– न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु ?
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पनि ३६ वर्षको अल्पायुमै आकस्मिक निधन भयो । प्रकाशको निधन ‘आकस्मिक रुपमा हृदयगति बन्द भएर’ भएको नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

युवा वा अन्य जोखिम पहिचान नभएका व्यक्तिको आकस्मिक मृत्यु कडा खालको हृदयाघात (म्यासिभ हार्ट एट्याक) र अन्य थुपै कारणले हुनसक्छ । हृदयाघात मुटुमा रक्त प्रवाह हुने धमनी थुनिएर वा फुटेर हुन्छ । धेरै अवस्थामा आकस्मिक मृत्यु रोक्ने विषय व्यक्तिको नियन्त्रणभन्दा बाहिर हुन्छ । तर रक्तचाप, कोलेस्ट्रोलजस्ता रिक्स फ्याक्टरको जाँच र नियन्त्रण गरेमा धेरै हदसम्म आकस्मिक मृत्युबाट जोगिन सकिने चिकित्सक बताउँछन् ।

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार आकस्मिक (विशेषगरी सुतेको समयमा) मृत्यु म्यासिभ हार्ट एट्याक, मुटुको चालमा हुने गडबडी, जन्मजात मुटुको समस्या, मस्तिष्कघात वा मस्तिष्कमा रगतको थेग्ला (क्लट) जम्ने कारणले हुन्छ । ‘तीबाहेक मुटुको ठूलो धमनी फुट्नु, फोक्सोका नलीमा क्लट (थेग्ला) जमेमा (पल्मोनरी इम्बोलिज्म) र हार्ट फेलियर भएपनि आकस्मिक मृत्यु हुन्छ,’ उनी भन्छन् ।

आइतबार बिहान ५.५० बजे नर्भिक अस्पताल पु¥याउँदा प्रकाश पूर्णतः बेहोस भइसकेको, हातगोडाका सबै भाग निलो भएर सुन्निसकेको, आँखाको नानी फुलेको, शरीर कडा र चिसो भइसकेको जस्ता अवस्थाले पनि चिकित्सकले कम्तीमा ३ घन्टाअघि नै उनको मृत्यु भइसकेको दाबी गरेका छन् । यस कारण पनि प्रकाशको मृत्यु आकस्मिक भएको चिकित्सक बताउँछन् ।

नर्भिक अस्पतालका डा. जेपी जैसवालले सबै कुरा हेर्दा ‘सडेन कार्डियाक अरेस्ट’ प्रकाशको मृत्युको कारण रहेको बताए । ‘उहाँ (प्रकश) को शरीर सबै ठिक छ, मुख राम्रो छ कुनै पनि किसिमको त्यस्तो पदार्थ सेवन गरेको पनि देखिँदैन्,’ उनले पत्रकार सम्मेलनमा भने, ‘आकस्मिक हृदयाघात नै ९९ प्रतिशत कारण देखिन्छ ।’
मृत्युको कारण थाहा पाउन पोस्टमार्टम नै प्रमुख विकल्प भएपनि हृदयाघात नै हो भनेर ठोकुवा गर्न भने ‘प्यासेन्ट हिस्ट्री, मृत्युअघिको इसिजी र रगतमा कार्डियाक इन्जाइमको रिपोर्टका आधारमा हो । तर यही कुरा नभएको अवस्थामा चिकित्सकले अन्य जोखिम वा अवस्थाको मूल्यांकन गरेर मृत्युको प्रमुख सम्भावित कारण घोषणा गर्छन् ।’

वरिष्ठ मुटुरोग विशेषज्ञ अनिलको भनाइमा अधिकांश अवस्थामा हृदयाघातका पूर्वलक्षण देखिन्छन् । तर गम्भीर खालका हृदयाघात वा मुटुको चालको गडबडीबाट सुरु भएको हृदयाघातमा एक्कासी मृत्यु हुनसक्छ ।
‘अधिकांश मानिसमा हृदयाघात हुँदा छातीको दुःखाइसँगै पसिना आउने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छ,’ ओम भन्छन्, ‘सुरुमा सामान्य हृदयाघात भएर २४ घन्टाभित्र मुटुको चाल गडबडी हुने र पछि मृत्यु हुनसक्छ ।’

उनका अनुसार कुनै खानपान वा अन्य तनाबले पनि मुटुको चाल बढी भएर पनि एक्कासी मानिसको मृत्यु हुनसक्छ । उमेरका आधारमा पनि जति कम उमेरको मानिसमा हृदयाघात हुन्छ उति बढी ज्यान जाने जोखिम हुन्छ ।

वीर अस्पतालका फिजिसियान डा. अनिल बरालका अनुसार आकस्मिक रुपमा विशेषगरी सुतेको समयमा हुने मृत्युको कारणलाई फिजियोलोजीसँग जोडेर हेर्नुपर्छ । ‘सुतेको अवस्थामा मस्तिष्क, मुटु र मिर्गौलालगायत महŒवपूर्ण अंग आरामको अवस्थामा हुन्छन् र मुटुको चाल, रक्तचाप सबै शरीर धान्न सक्ने तहमा मात्रै हुन्छ । त्यसमा पनि बिहान ३÷४ बजेको समयमा रक्त प्रवाह पनि न्यून मात्रै हुन्छ ।’ सुस्त गतिमा बगेको रगत शरीरका कुनै भागमा जम्ने र त्यस्तो थेग्ला फोक्सोको धमनी वा मस्तिष्कको नसामा पुगेर थुनिए (इम्बोलिज्म थम्बो) पनि आकस्मिक मृत्यु हुनसक्छ ।
चिकित्सकका अनुसार हृदयाघात, मस्तिष्कघात र प्यारालाइसिसको जोखिम पनि बिहानकै समयमा बढी हुन्छ । रातिको समयमा मानिस निद्रामा हुने भएकाले पनि अलिअलि लक्षण देखिए थाहा नहुन पनि सक्छ । ‘दिउँसो छाती दुख्यो, चिटचिट पसिना आयो, श्वास बढ्यो भने मनिसले अरुलाई भन्न र अस्पताल जान भ्याउँछ,’ बराल भन्छन्, ‘सुतेको समयमा हृदयाघातजन्य लक्षण थाहा नपाईकनै ज्यान जानसक्छ,’ । कतिपय व्यक्तिको मुटुको नसा जन्मजात फुलेको हुनसक्छ । त्यस्तो अवस्थामा प्रेसर बढेर नसा फुटेमा समेत एक्कासी ज्यान जानसक्छ ।

रक्सी सेवनको अवस्थामा समेत राति एक्कासी मृत्यु हुनसक्ने चिकित्सक बताउँछन् । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल भएका व्यक्तिलाई बढी मदिरा खाएको अवस्थामा हृदयाघात वा मस्तिष्कघातको जोखिम हुन्छ । मदिराले रक्तचाप बढाउने हुनाले त्यस्तो अवस्थामा मुटुका नसा फुटेर पनि हृदयाघात भई तत्काल मृत्यु हुनसक्छ । ‘बढी रक्सी खाएर अचेत भयो र त्यस्तो समयमा बान्ता भई थेग्ला श्वासनलीमा छि¥यो भने पनि केही बेरमै मृत्यु हुनसक्छ,’ बराल भन्छन् ।
अधिकांश रुपमा आकस्मिक मृत्युका कारक उच्च रक्तचाप, मधुमेह, अनियन्त्रित कोलेस्ट्रोल अत्यधिक मदिरा सेवन, मानसिक तनाब, धूमपान, मोटोपना हुन् । त्यसमा शारीरिक अभ्यास छैन भने मुटु रोगको जोखिम झन् बढी हुन्छ ।
आकस्मिक रुपमा हुने मृत्युबाट बच्न नसके पनि जोखिम कम गर्न सकिने चिकित्सक बताउँछन् । ‘स्वस्थ जीवनशैली र खानपान नै यसबाट बच्ने प्रमुख उपाय हो,’ डा. बराल भन्छन्, ‘तीबाहेक नियमित स्वास्थ्य परीक्षण गर्न र समस्या भए उपचार गराए वा सावधानी अपनाए ज्यान जोगाउन सकिन्छ ।’
डा. ओमको भनाइमा कामको तनाब, प्रतिस्पर्धा, धपेडी, रिस, बेचैनीजस्ता तत्वले पनि मुटुको चालमा गडबडी उत्पन्न हुन्छ । निरन्तर यस्तो समस्यासँग जुध्नु परे त्यसले मुटुलाई जोखिममा पार्न सक्छ ।

हाम्रो स्वास्थको सहयोगमा ।

Topics #आकस्मिक #मृत्यु