सुन्दा समान्य लाग्छ ‘साबुनपानीले हात धुने’ बिषय । तर साबुनपानीले हात धुने बानी नगर्दा हामी थुप्रै सरुवा रोगको संक्रमणको सामना गरिरहेका हुन्छौं । झाडापखाला, हैजा, जुका, निमोनिया, जन्डिस, छालाको एलर्जीजस्ता रोगको संक्रमण साबुनपानीले हात नधुँदा हुने गरेको अध्ययनले देखाएको छ । सही तरिकाले सबै नेपालीले साबुनपानीले हात धुने बानीको विकास गर्न सके ५० प्रतिशतभन्दा बढी सरुवा रोग आफैं निको हुने विज्ञहरूको दाबी छ ।

हो, यही सुन्दा सामान्य तर गम्भीर अर्थ बोकेको साबुनपानीले हात धुने विषयमा एकजना नेपालीले विद्यावारिधि (पीएचडी) गर्दै छन् । उनी हुन्, शालिकराम धिताल । हाल उनी छात्रवृत्तिमा अस्ट्रेलियाको न्युक्यास्टल विश्वविद्यालयमा पीएचडी गरिरहेका छन् । धिताल यो विषयमा पीएचडी गर्ने पहिलो नेपाल हुनेछन् ।

स्वास्थ्य प्रवद्र्धन विषयमा अरू केही नेपालीले पीएचडी गरेका भए पनि साबुुनपानीले हात धुने विषयमा भने अहिलेसम्म कसैले पनि पीएचडी नगरेको धितालको दाबी छ । डेनमार्कबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका धिताल स्वास्थ्य मन्त्रालयमा जनस्वास्थ्य अधिकृतको रूपमा कार्यरत छन्।

उनी अध्ययन बिदामा पीएचडी गरिरहेका हुन् । सस्तो, सजिलो र व्यावहारिक रूपमा सबैले दैनिक जीवनमा अवलम्बन गर्न सके विभिन्न रोगको संक्रमण घटाएर स्वस्थ्य समाज निर्माणमा सघाउ पु¥याउन सकिने भएकाले यो विषयलाई आफूले पीएचडीका लागि छानेको धिताल बताउँछन् । केही समयको बिदामा नेपाल आएका उनले भने, ‘रोग लागिसकेपछिको उपचारमा भन्दा रोग लाग्नै नदिने शिक्षालाई व्यापक रूपमा अगाडि बढाउन सके मात्र हाम्रोजस्तो देशमा रोगको संक्रमण कम गर्न सकिन्छ भन्ने विश्वासले नै यसमा लागेको हुँ ।’

संसारमा १९ प्रतिशत मानिसले मात्र साबुनपानीले हात धुने गरेका छन् । जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण २०१६ ले ४७ प्रतिशत नेपालीले साबुनपानीले हात धुने गरेको देखाएको छ । यसको अर्थ अहिले पनि आधाभन्दा बढी अर्थात् ५३ प्रतिशतले साबुनपानीले हात नधुने गरेको देखाएको छ ।

धिताल विगत दुई दशकदेखि स्वास्थ्य प्रवद्र्धनमा सक्रिय छन् । नेपालमा उपचारात्मकसँगै प्रतिरोधात्मक विषयलाई पनि सँगसँगै लैजान सके मात्र स्वस्थ्य समाजको परिकल्पना साकार हुने उनको अनुभव छ । स्वास्थ्य र सरसफाइको कमीले हुने संक्रमण कम गर्न साबुनपानीले हात धुने बानीको विकास गर्न सरकारले अझै पहल गर्नुपर्ने उनको मत छ । सल्यानको ढोरचौरमा जन्मेका धितालले जनस्वास्थ्यका विषयमा थुप्रै पुस्तकसमेत लेखिसकेका छन् । हेल्थ टुडे बाट साभार गरिएको .