नेपालमा विश्वविद्यालय, कलेज तथा विद्यालय खोल्ने होडबाजी नै चलिरहेको छ।नेपालमा विश्वविद्यालय मात्र नौवटा छन् । प्राविधिक शिक्षा दिने शिक्षालय तथा कलेजहरूको संख्या सयौं छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कोर्स सञ्चालन गरिरहेका कलेज पनि लगभग ९५ वटा छन् । विडम्बना, यति धेरै शिक्षालय हुँदाहुँदै पनि विद्यार्थी भिसामा देश छाड्ने विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । विदेश पढ्न जाने रहर मात्र नभै लहर नै चलिरहेको छ ।

बर्सेनी बढेको बढ्यै

शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा ५० हजार ६ सय ५९ जनाले नो अब्जेक्सन लेटर लगेका छन् । यसबाट सरकारले १० करोडभन्दा बढी राजस्व संकलन गरेको छ भने डेढ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । ६ वर्षअघिको तथ्यांक हेर्ने हो भने १० हजार विद्यार्थीले नो अब्जेक्सन लेटर लगेको देखिन्छ । त्यसपछि बर्सेनि औसत ६ हजार थपिँदै गएका छन् । यो वर्ष १८ हजार १ सय ७० भन्दा बढी विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । समग्रमा यस्तो अनुमति लिने विद्यार्थी संख्या बर्सेनि २ हजारको दरले बढिरहेको छ ।

धेरैको रोजाइमा अस्ट्रेलिया

पछिल्ला वर्षहरूमा अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइमा परेको छ । अस्ट्रेलियामा एकै वर्षमा २४ हजार २ सय ३३ विद्यार्थीले भिसा आवेदन दिएको तथ्यांक छ । त्यसपछि जापान, अमेरिका, भारत, चीन, क्यानाडा, पोल्यान्ड, बंगलादेश, जर्मनी, बेलायत, डेनमार्क, श्रीलंका आदि छन् । जापानका लागि १० हजार ४ सय १६ तथा अमेरिकाका लागि ३४ सय ८३ विद्यार्थीले आवेदन दिएका थिए ।

विदेश नै किन 

कतिपयले विदेश पढ्न जानुलाई फेसनकै रूपमा लिए पनि नेपालमा गुणस्तरीय शिक्षाको अभाव नै यसको प्रमुख कारण मानिएको छ । अन्तर्राष्ट्रिय शिक्षा लिएर सक्षम एवं सबल बन्न मात्र नभै सुरक्षित भविष्यका लागि पनि विदेश रोजिएको पाइन्छ । विदेशी डिग्री लिएर विदेशी श्रमबजारमा बिक्न तथा करियर सुरक्षित बनाउन नेपाली युवाहरूले मरिहत्ते गरेको पाइन्छ ।

नेपालको राजनैतिक अस्थिरता एवं व्यवहारिक शिक्षाको अभाव आदि कारणले नै विद्यार्थीहरू बाहिरिने बागबजारस्थित रोहिणी इन्टरनेसनल सर्भिसका म्यानेजिङ डाइरेक्टर श्याम भण्डारी बताउँछन् । भण्डारी भन्छन्— नेपालमा डिग्री सकेर पनि बेरोजगार बस्नुपर्ने साथै विदेशमा पढिसक्दा रोजगारी पनि प्राप्त हुने भएकाले, विद्यार्थीहरू उतै आकर्षित भैरहेका हुन् । नेपाली युवालाई स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्नु एवं रोजगारीको ग्यारेन्टी नहुनुमा सरकार जिम्मेवार रहेको भण्डारीको आरोप छ ।

पढाइपछिको रोजगारी

विदेश अध्ययनका लागि गैसकेपछि पढ्दै वा पढाइ सकेर रोजगारीको अवसर जुटाउन सकिन्छ । क्षमता, योग्यता वा सीपका आधारमा सामान्य रोजगारी प्राप्त गर्न कठिन छैन् । पढाइ खर्च जुटाउन पार्ट टाइम जब हासिल गर्न कुनै समस्या पर्दैन । सातामा १५ देखि २५ घण्टासम्म काम गर्न पाइन्छ ।

पुतलीसडकस्थित टिम कन्सल्टका म्यानेजिङ डाइरेक्टर विनोदकुमार सुवेदी भन्छन्— विदेश गएपछि सुरुका केही महिनासमस्या भए पनि पढ्दै काम गर्न थालेपछि कुनै असहजता महसुस हुँदैन । विदेशमा जुनसुकै स्तरको काम गरे पनि सम्मान नै हुन्छ, त्यहाँ श्रमको सम्मान गर्ने प्रचलन छ । सुवेदी भन्छन्— पार्ट टाइम जबले विद्यार्थीको दैनिकी एवं पहिलो तथा दोस्रो सेमेस्टरपछिको खर्च धान्न सक्छ ।

रोजगारीका क्षेत्र

हातमा राम्रो सीप भए विदेशमा त्यही अनुसारको रोजगारी प्राप्त गर्न समस्या छैन । नेपाली, बंगाली, भारतीय, पाकिस्तानी तथा अफ्रिकी विद्यार्थीहरूले लगभग एकै किसिमको काम पाइरहेका हुन्छन् । जापान पुगेका विद्यार्थीले विशेष गरी रेस्टुराँमा काम पाउँछन् । कुक वा वेटरका रूपमा काम गर्दा मासिक १ लाख रुपैयाँसम्म आम्दानी हुन्छ । मिनी सुपरमार्केटमा रोजगारीको सम्भावना बढी हुन्छ । अस्ट्रेलियामा धेरैजसो रेस्टुराँ, बर्गर हाउस, कफी हाउस आदिमा काम पाइन्छ । त्यसबाहेक कस्टम केयर, डिपार्टमेन्टल स्टोर आदिमा पनि रोजगारीको सम्भावना हुन्छ ।

रोजाइमा अन्य देश

नेपाली विद्यार्थी नामै नसुनेका वा युद्धग्रस्त देशमा पनि गएको पाइन्छ । छिमेकी भारत, चीन तथा श्रीलंकाबाहेक बेलारुस, गुयाना, साउदी अरेबिया, स्लोभाकिया, स्विट्जरल्यान्ड, पोल्यान्ड, भियतनाम, अर्मेनिया, रोमानिया, हल्यान्ड आदि देशका लागि पनि विद्यार्थीहरूले नो अब्जेक्सन लेटर लिँदै आएका छन् |