अनुहारमा आउने चायापोतो र डन्डीफोरको समस्याले धेरैलाई सताइरहेको हुन्छ। तर, यी समस्या लिएर चिकित्सककोमा जानुभन्दा अरूले भनेको र सुनेको आधारमा विभिन्न घरेलु उपचार विधि अपनाएर अनुहारको छाला बिगार्नेहरू थुप्रै भेटिन्छन्।

चायापोतो

सामान्य भाषामा चाया वा पोतो भनिने अनुहार तथा नाकको डाँडीमा आउने कालो दागलाई मेडिकल भाषामा मेलज्मा वा कोलाज्मा भनिन्छ। विशेष गरी महिलाहरू गर्भवती भएका बेला यस्तो दाग देखापर्ने भएकाले मेडिकल भाषामा यसलाई कोलाज्मा नाम दिइएको हो। तर, चायापोतो आउनुमा गर्भवती मात्र कारण नहुने अध्ययनबाट पत्ता लागेको छ।

छाला रोगसम्बन्धी भएका पछिल्ला विभिन्न अनुसन्धानअनुसार चायापोतो घामको किरणका कारण देखापर्ने गरेको छ। छालाको तल्लो सतहमा हुने ‘मेलानोसाइट्स’ कोशिकाले ‘मेलानिन’ भन्ने तत्व उत्पादन गर्छ। घामले मेलानिनलाई निकै छिटो सक्रिय बनाउँछ। घाममा मात्र होइन अन्य कृत्रिम लाइटमा पनि मेलानिन उत्तिकै सक्रिय हुन्छ।

घामको किरण अनुहारमा परेपछि मेलानिन छालाको सतहमा फैलिन थाल्छ। थोरै मानिसमा मात्र घामको किरणले मेलानिन सक्रिय हुँदैन र चायापोतो देखिँदैन। मेलानिन सक्रिय भएर छालाको सतहमा देखिएको अवस्थालाई नै चायापोतो आएको भनेर बुझिन्छ। चायापोतोबाट जोगिन अनुहारको छालालाई घामको किरणबाट जोगाउनुपर्छ।

दिनमा तीन पटक अनिवार्य रूपमा सनब्लक क्रिम लगाउनुपर्छ। मेलानिन कृत्रिक लाइटमा पनि सक्रिय हुने भएकाले कोठामा बस्दा पनि सनब्लक लगाउनुपर्छ। चिकित्सकको सल्लाहमा ‘केमिकल पिल्स’ प्रयोग गरेर चायापोतोको उपचार गर्न सकिन्छ।

कहिलेकाहीँ ‘थाइरोइड हार्मोन’को गडबडीले पनि चायापोतो देखिन्छ। यसो हुँदा थाइरोइडको उपचार गर्नुपर्छ। चिकित्सको सल्लहामा औषधि तथा क्रिम लगाएर चायापोतो केही मात्रामा कम गर्न सकिन्छ।

 

डन्डीफोर

धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन्। तर, कतिपय महिलामा ३० वर्ष उमेर पुगेपछि पनि डन्डीफोर आउने गर्छ। पाठेघरमा समस्या भयो भने ३० वर्ष माथिका महिलालाई पनि डन्डीफोरको समस्याले सताउँछ। यो समस्यालाई ‘पीसीओडी’ भनिन्छ। यस्तो समस्या भएका महिलाले स्त्रीरोग विशेषज्ञको परामर्शमा एन्टिबायोटिक औषधि तथा पिल्स प्रयोग गर्नुपर्ने हुन्छ।

मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन्। रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ। यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ। जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन। यो छाला भित्रै जम्छ।

यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्स आएको हो। यसका चार वटा तह हुन्छन्। स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ। डन्डीफोरको पहिलो चरण ‘ब्ल्याक हेड्स’ हो।

काला स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड्स भनिन्छ। चौथो चरणमा पुगेको डन्डीफोरमा पीप र रगत नै जमेको हुन्छ। डन्डीफोर आइसकेपछि त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानि पुउर्याउछ |

डन्डीफोरलाई जथाभावी निचोर्ने र कोट्याउने गर्नाले दाग बस्छ। अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन्। कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन। तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलो बन्ने गरेको छ।

डन्डीफोर आएमा के गर्ने ?

१.डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो। यसबाट जोगिन छालालाई ड्राई राख्नुपर्छ। जीवनशैलीमा ध्यान दिनुपर्छ। धेरै चिल्लो खानु हुँदैन। चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरले सताउँछ।

२.डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ। कपालमा तेल हालेर बस्ने हुँदैन। अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ। दिनमा तीन÷चार पटक मुख धुनुपर्छ। छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ। डन्डीफोरले निकै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ र औषधि खानुपर्छ।

३.डन्डीफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन्। यसका लागि लेजर थेरापी गर्नुपर्छ। डन्डीफोरका कारण खत बसेको छालालाई मेसिनको सहायताले हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ।

४.यो विधिमा खत बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गरिन्छ। यसो गर्दा समेत अनुहारको शतप्रतिशत खत भने जाँदैन। केही कम चाहिँ गर्न सकिन्छ। डन्डीफोर आउन थालेपछि छालारोग विशेषज्ञलाई देखाएर उपचार गराउनुपर्छ।