रोगप्रतिरोधक क्षमता बलियो भए हाम्रो शरीर थुप्रै संक्रमण र रोगबाट आफैं जोगिन सक्छ । अनि हामी स्वस्थ र बलियो भएर आनन्द साथ दीर्घजीवन बाँच्न सक्छौं ।

प्राचीनकालदेखि नै ऋषिमुनिले स्वस्थ भएर सय वर्ष बाँच्नका लागि विभिन्न आयुर्वेदिक र जीवनशैलीसम्बन्धी प्रक्रिया अपनाउन उपायहरू सुझाएका छन् । यसैले होला, रोगप्रतिरोधक क्षमता बढाउने उपायबारे आयुर्वेदले हजारौँ वर्षअघि वर्णन गरेको छ ।

रोगप्रतिरोधक क्षमता बढाउन उपाया 

आयुर्वेद अनुसार हामी आफंै बारी र जंगलछेउछाउमा भएका विभिन्न वनस्पति, फलफूल, जडीबुटीलगायत उपयोग गरेर बाह्रै महिना स्वस्थ रहन सक्छौं ।

तुलसी, गुर्जो, पिप्ला, लसुन (नेपाली, चिनियाँ होइन), प्याज, छयापी, बेसार, मह, गाउँघरमा बनाएको परम्परागत घिउ आदि समयअनुसार उपयुक्त मात्रामा सेवन गर्दा रोगप्रतिरोधक क्षमता बढ्दै जान्छ ।

विकासे दूध, डेरी आदिमा पाइनेभन्दा पनि गाई, भैंसी, बाख्राको प्राकृतिक तरिकाले निकालिएको ताजा दूध पिउन त्यति नै राम्रो मानिन्छ ।

अझ हामीकहाँ पाइनेमध्ये बाख्राको दूध सबैभन्दा स्वस्थकर हुन्छ |
बालबालिकालाई कब्जियत छैन भने च्यवनप्रासको सेवन सबैभन्दा राम्रो मानिन्छ । यसमा मुख्य रूपले अमलाको प्रयोग हुन्छ ।

यस्तै, अदुवाको रस, तुलसीको पात, मह, दालचिनी राम्रा ‘टनिक’ हुन् । आयुर्वेदविज्ञको सल्लाहमा दिनहँु खाँदा र बालबालिकालाई खुवाउँदा राम्रै हुन्छ ।

यस्तै, गुड/सक्खरमा आइरन, इन्जाइमहरूलाई अदुवाको रसमा मिलाएर खान दिँदा बालबालिकाको रोगप्रतिरोधक क्षमता बढ्छ ।हाल बजारमा पाइने हार्मोनका कारण उत्पादित दूध वा अन्य रासायनिक कारणले धेरै बालबालिकाका आँखामा असर परिरहेको छ |

वयस्कका लागि च्यवनप्रास, भृंगराज आदि उपयुक्त मानिन्छ । आलसमा ओमेगा ३ देखि ६ सम्म पाइन्छ । यसले रोगप्रतिरोधक क्षमता बढाउन सहयोग पुर्‍याउँछ ।

खाना शरीरमा सोसेर नजाँदा बिग्रिने भएकाले ‘मेटाबोलिज्म’ राम्रो पार्न शरीरका लागि अग्निवर्धन औषधि आयुर्वेदमा उल्लेख छ । यसले समेत रोगप्रतिरोधक क्षमता बढाउँछ । पिप्ला, सुठो, मरिच, दालचिनी आदि मसला अग्निवर्धक हुन्छन् । यिनको सेवनले मेटाबोलिज्म सुधार हुन्छ । खाएको खाना शरीरमा पुर्‍याउँछ ।

धेरै चिल्लो आदि नखानु राम्रो कुरा, तर थोरैथोरै मसला खानु धेरै राम्रो हो |
वृद्घ उमेरका लागि सबैभन्दा उपयुक्त र राम्रो प्रक्रिया मालिस (मसाज) हो । यो उमेरमा खाएको कुरा शरीरमा विषाक्त भएर नजाओस् भन्नका लागि पहिले खानपिनहरूबाटै ऊर्जा दिने चलन थियो ।

यो उमेरमा शरीरमा रोगप्रतिरोधक क्षमता बढाउन ब्राह्मी, अश्वगन्धा, सतावरी, घोडताप्रे, ज्योतिषमति आदिको प्रयोग आवश्यक छ ।प्राकृतिक रूपमा अगाडि बढ्दा रोगप्रतिरोधक क्षमतालाई कायम गर्दै आनन्दपूर्वक निरोगी भएर सामान्य रूपमा बाँच्न सकन्छ |

मौसमी फलफूल खानुस्

प्रकृतिले तपाईं बसेको ठाउँको वातावरण, मौसमअनुसार नै तपाईंलाई उपयुक्त हुने फलफूल, सागसब्जी उत्पादन गर्छ । ती फलफूलले खास मौसमविशेषमा चाहिने आवश्यक तत्त्व दिइरहेका हुन्छन् । यसैले हाम्रा गाउँसहरमा हाम्रै माटोमा मौसमअनुसार पाइने फलफूल सेवन गर्दा पनि रोगप्रतिरोधी क्षमता बढ्छ ।

सकारात्मक जीवनशैली

रोगनिरोधक क्षमता बढाउन सकारात्मक जीवनशैली अत्यावश्यक छ । दिनहँु आफ्नो उमेर, आफू रहेको स्थान, आफ्नो शरीरलाई उपयुक्त हुने खालको प्राणायाम, योग, नियमित व्यायाम आवश्यक हुन्छ । यसो गदौ रोगनिरोधक क्षमता बढ्छ । शान्त मन, सकारात्मकता, खुसी, प्रसन्नता आदिका कारण समेत रोगप्रतिरोधक क्षमता बढिरहेको हुन्छ ।