१.पृथ्वीका तीन रत्न हुन्छन्, जल, अन्न र सुभाषित । तर मूर्खहरूले पत्थरका टुक्राहरुलाई रत्नधन मानेका हुन्छन् ।

2. अग्नि, ऋण, र शत्रुको अलिकति पनि शेष नराख्नु । यो शेष छिटै बढेर सताउन सक्छ ।

3. वनको राजा सिंहलारई न कुनै अभिषेक हुन्छ, न कुनै संस्कार हुन्छ । उसको आफ्नो पौरखले उ राजा भएको हो ।

4. दुर्बलको बल राजा (सरकार) हो । बालकको बल रुनु हो । मूर्खको बल मौन हो र चोरको बल ढांट्नु हो ।

5. जसले नित्य आफ्ना मान्यजनलाई आदरपूर्वक अभिवादन गर्छ उसले यी चार कुराहरुमा निरन्तर वृद्धि प्राप्त गरिरहन्छ– १. आयु, २. विद्या, ३. यश र ४.बल । आफ्नो घर परिवारका मान्यजनको आशीर्वादले आयु र स्वास्थ्य, वृद्धहरुको संगत गर्नाले ज्ञान, इष्टमित्रहरुको सहयोगले धनसम्पत्ति, र साथ पाउंदा बल बढ्छ । आफुभन्दा उमेरमा जेठा सदस्यहरुलाई असम्मान गर्ने व्यक्तिले सफलता प्राप्त गर्न सक्दैन । यी गुण नभएको व्यक्ति जतिसुकै योग्य भए पनि उसको उन्नतिमा बाधाहरु आउंछन् । मान्य जनको शुभकामनाले यी बाधाहरुबाट सजिलै पार पाइन्छ ।

6. मानिसले उचित तरीकाले धन आर्जन गरेको छ कि छैन भन्ने कुराको निरीक्षणका लागि निम्नलिखित शक्तिहरुले निरन्तर अनुगमन गरिरहन्छन् १. दिउसोमा सूर्य २. रातिमा चन्द्र ३.एकान्तस्थलमा पनि बग्ने हावा ४.आगो ५.आकाश ६.पृथ्वी ७.जल ८.हाम्रो आफ्नै आत्मा ९.यम १०.दिवाको शक्ति, उज्यालोपन ११.रात्रिको शक्ति, अन्धकार १२.उषा १३.सन्ध्या १४.धर्म जसले अनुचित तरीकाले धन आर्जन गर्छ उसले कहिल्यै पनि सुख प्राप्त गर्न सक्दैन । सधैं शंका र चिन्ता रहन्छ र एक दिन उसले आफ्नो गलतीको सजायं पाउंछ भन्ने नैतिक सन्देश यस श्लोकमा छ । एक दर्जन स्थानबाट निगरानी गरिएको अपराधी कहांबाट उम्कन सफल होला र ?

7. कुनै व्यक्तिमा जेजति ज्ञान हुन्छ त्यसलाई शतप्रतिशत मान्दा १.पच्चीस प्रतिशत उसले आचार्यबाट प्राप्त गर्छ, २. पच्चीस प्रतिशत उसको आफ्नै मेधा (बुद्धि)ले आर्जन गर्छ, ३.पच्चीस प्रतिशत साथीहरुको संगतले प्राप्त गर्छ र ४.बांकी पच्चीस प्रतिशत उसको जीवनको अनुभवले प्राप्त गर्छ ।

आचार्यहरुले शिक्षकलाई जेजति ज्ञान हस्तान्तरण गर्छन् त्यो सबका सब विद्यार्थीहरुले प्राप्त गर्दैनन् । त्यसको केही अंश मात्र ग्रहण गर्छन् । केही बुझ्छन्, केही बुझ्दैनन् । न बुझेकोमध्ये उसले केही आफ्नो श्रमले र केही साथीहरुसंग विचार विमर्श गरेर ज्ञान आर्जन गर्छन् ।

जेजति ज्ञान आर्जन गरेको भए पनि केही सिक्नका लागि बांकी रहन्छ । जिन्दगी भरि सिक्दै जानु पर्छ । केही ज्ञान जिन्दगीबाट लिनै पर्छ । अर्थात् परेर सिक्ने अंश जिन्दगीबाट प्राप्त गरिन्छ । यो सतत चलिरहन्छ ।

8. प्रकृतिले नै स्त्री र पुरुषमा अलग अलग गुण दिएको छ । स्त्रीहरुमा पुरुषको तुलनामा पोषण र आहार, निर्णय गर्ने बौद्धिकता, व्यस्त रहिरहने क्षमता, र इच्छपूर्तिको क्षमता यस प्रकार हुन्छ, १. दोब्बर बढी पोषणको आवश्यकता २. चार दोब्बर बढी बौद्धिक निर्णय लिने क्षमता ३. छ दोब्बर बढी निरन्तर एकाग्रतापूर्वक काम गर्ने योग्यता ४.आठ दोब्बर बढी इच्छाहरु सन्तुष्ट गर्नसक्ने क्षमता स्त्री र पुरुषमा असमानता प्राकृतिक हो ।

तर यस असमानतामा चाणक्यले स्त्रीहरुलाई हरेक क्षेत्रमा विशिष्टता प्रदान गरेका छन् । यहा“ भनिएका मध्ये कतिपय विशेषताहरु आधुनिक चिकित्सा शास्त्री र मनोवैज्ञानिकहरुले पनि पुष्टि गरेका छन् । आचार्य रजनीशले एक स्थानमा के भनेका छन् भने स्त्रीको शरीरमा पौष्टिकता संचयको क्षमता नौ महिनाका लागि हुन्छ भने पुरुषको शरीरमा यो तीन महिनाका लागि हुन्छ । रोग प्रतिरोध क्षमता पुरुषभन्दा महिलामा हुन्छ तथा संवेगात्मक सन्तुलनमा महिलाहरु पुरुषभन्दा बढी सक्षम हुन्छन् भन्ने कुरा आधुनिक समयका अनुसन्धानहरुले सिद्ध गरेका छन् ।

9. यो मेरो यो तेरो, यो आफ्नो यो पराई, (यो मेरो नजीकको यो टाढाको, यो मेरो समूहको, यो अर्का समूहको, यो मेरो सम्प्रदायको त्यो अर्को सम्प्रदायको) यसरी गणना गर्ने लघु चेत भएका हुन् । यसरी मेरो र तेरो भनी विभाजन गराउनेहरु क्षुद्र बुद्धिका हुन्छन् । महाभारत युद्धको बारेमा जसले जानकारी राख्छन् उनीहरुलाई के थाहा छ भने त्यसको एक मात्र कारण मामकाः पाण्डवाश्चैव भन्ने धृतराष्ट्रको भावना नै प्रमुख हो । आफैंले जिम्मेवारी लिएर एउटै कुटुम्बमा पालन पोषण गरिरहेका सन्तानहरुलाई पनि धृतराष्ट्रले विभाजन गरेर यिनी मेरा र यिनी भाईका गराई दिए । यसको तुस महाभारत युद्धको कारण बन्यो । जो उदार हुन्छन उनीहरुका लागि संसार भरिका मानिस आफ्नै कुटुम्ब हुन् । उनका लागि यो संसार घर परिवारको अर्को रुप हो । उसका लागि सबै मेरा हुन्छन् ।

सन्देश

धनको क्षति भयो भने त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैंन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरुको उसको सम्मान गर्न छाड्छन । मानिसहरु उसलाई मद्धत गर्नुको साटो उसको अवस्थालाई हाँसोको विषय बनाउँदछन् ।
यदि मनमा केही दुःख छ भने त्यो पनि कसैसँग अभिब्यक्त गर्नु हुँदैंन । किनभने संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन् । हुन सक्छ जुन मानिससँग दुःख अभिब्यक्त गरिन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।
पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनु हुन्न । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैंन । यसो गर्नालले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ । भविष्यमा उसले विभिन्न समस्याहरु सामना गर्नुपर्ने हुन सक्छ ।
ज्ञानी त्यही हो जो मान तथा अपमानलाई सदैव समान रुपमा लिन्छ । तर, यस्तै गर्न सक्नु एकदमै कठिन मानिन्छ । जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैंन । हुन सक्छ तपाई अरुलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन वृद्धि हुन्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग पनि बताउनु हुँदैंन ।