मानव शरीरका लागि मृगौला महत्वपूर्ण अंग मध्ये एक हो । प्रत्येक मृगौला १० देखि १२ सेन्टिमिटरसम्म लामो सिमीको गेडा आकारको हुन्छ । यसको मुख्य काम रगतमा हुने फोहोरमैला छान्ने नै हो ।

मृगौलामा भएका लाखौका संख्यामा रहेका नेफोनहरुले रगतमा भएका फोहोर पदार्थ र शरीरमा बढी भएको पानी छान्ने काम गर्दछ र शरीरमा बढी भएको पानीको मात्रालाई पिसावको रुपमा बाहिर पठाउने काम गर्छ ।

मृगौलाले एसिडहरु र रसायनहरुलाई पनि सफा गर्नुका साथै शरीरमा नयाँ रगत बन्नको लागि र हड्डि बलियो बनाउन पनि मद्यत गर्दछ । त्यसैले मानव शरीरमा मृगौलाको महत्व अत्यन्तै धेरै रहेको छ ।

मृगौला रोगको लक्षणहरु
  •  शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने ।
  •  खाना रुची कम हुने, वाक वाक लाग्ने ।
  •  शरीरमा रगत कम भएर शरीर सेतो हुने ।
  •  शरीरको छाला गाढा कालो भएर जाने ।
  •  सास फेर्न गा¥हो हुने, छाती दुख्ने, मानिस बेहोस सम्म हुन सक्छ ।
  •  सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौला सम्बन्धी रोग हुन सक्छ ।
मृगौला सम्बन्धी रोग लागेमा के गर्ने ?
  •  मृगौला रोगको उपचार अत्यन्त महंगो हुन सक्दछ तसर्थ चिकित्सकको नियमित सल्लाह अनुसार समयमै रोग माथि नियन्त्रण राख्न कोशिस गरौं ।
  •  मृगौला फेल भएमा व्यक्तिहरु सम्भव भए सम्म प्रत्यारोपण गराऊ र अरु स्वस्थ व्यक्ति सरह जीवन बिताऔं ।
  •  प्रत्यारोपण सम्भव नभए डायलाइसिस सेवाबाट लाभान्वित होऔं ।
  •  डायलासिस तुलनामा प्रत्यारोपण निकै किफयती हुने तथा प्रत्यारोपित व्यक्तिहरु दिर्घायु हुने गर्दछन् ।
  •  अगंदान दिई अरुलाई जीवनदान दिऔं र पुण्य कमाऔं ।

मृगौलालाई कसरी स्वस्थ राख्न सकिन्छ ?

मृगौलालाई स्वस्थ राख्ने सबैभन्दा सस्तो र सहज उपाय पानी नै हो । दिनमा दुइ तीन लिटर पानी अनिवार्य पिउनु पर्छ । हामीले खाएको कुनैपनि कुराको फिल्टर या त कलेजोमा हुन्छ या त मृगौला ।

कलेजोले प्रोसेस गरेको कुराहरु दिशाको माध्यमबाट बाहिर निस्कन्छ भने मृगौलामा भएको प्रोसेसमा पिसावबाट जान्छ । तर धेरैजसो खानेकुराहरुले मृगौलामा नै बढी असर गर्छ । त्यही भएर पानी अर्थात् तरल पदार्थ धेरै खानु पर्दछ |

मृगौलालाई स्वस्थ राख्ने अर्को उपाय भनेको मृगौला फेलिएर हुने कारणहरुबाट सतर्क हुनु नै हो । मृगौला फेल हुने सबभन्दा मुख्य कारण डाइबिटिज (सुगर) हो । यदि सुगरलाई नियन्त्रणमा राख्न सक्यो भने त्यसबाट पनि अप्रत्यक्षरुपमा मृगौलालाई सहयोग नै पुगिराखेको हुन्छ । त्यसपछि प्रेसरलाई पनि नियन्त्रणमा राख्न जरुरी छ ।

यसका साथै प्रसस्तै मात्रामा पानी पिउने । खानेकुराहरुमा ब्यालेन्स मिलाउने । नुन धेरै नखाने र खाने कुरामा प्रोटिनको मात्रा पनि धेरै खानु हुँदैन । साथसाथै नियमित व्यायाम र चेकजाँच गराइराख्नु भयो भने मृगौलालाइ स्वस्थ राख्न सकिन्छ ।

कहिले काँही अचानक मृगौला बिग्रने पनि हुन्छ ?

मृगौला बिग्रिनुको दुइवटा कारण छन् । एउटा अचानक फेल हुने र अर्को दीर्घकालिन मृगौला रोगबाट । अचानक मृगौला फेल हुने जसलाई हामी एक्युड किड्नी इन्ज्युरी पनि भन्छौं । यो खासगरी विषजन्य पदार्थहरु जस्तो बारुला, सर्पको टोकाइ, पेनकिलर तथा बढी मात्रामा औषधि सेवनले हुन्छ ।

हामिले खाएको कुराहरु अन्तमा फिल्टर गर्ने भनेको मृगौलाले नै हो र मृगौलाले पनि निश्चित क्षमता धान्दछ । यदि क्षमताभन्दा बढी हुन गयो भने फिल्टर गर्न सक्दैन र थिग्रिन थाल्छ ।

जसको कारण अचानक मृगौलाले काम गर्न छोड्छ । तत्काल उपचार गरेनौं भने एकेआई (एक्युट किड्नी इन्जरी) पछि गएर दिर्घकालिन मृगौला रोग बन्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा के कारणले त्यस्तो भएको हो त्यसको उपचार गरेर दीर्घकालिन रोगबाट बच्न सकिन्छ ।

सामान्य अवस्थामा के भयो भने मृगौला सम्बन्धी समस्या आएको मान्ने ?

मृगौला कुनै लक्षण नदेखाइकन एक्कासि पनि फेल हुन सक्छ, त्यसैले बेला बेलामा चेकजाँच गराइरहँदा सजिलो हुन्छ । त्यसपछि दोस्रो चरण मा वाकवाकी आउने, खानामा अरुची बढ्ने, कमजोरी महसुस हुने, रिँगटा लाग्ने, टाउको दुख्ने आदि लक्षणहरु देखा पर्न सक्छ ।

त्यसैगरी डाइविटीजको लक्षण देखा पर्यो भने, छिनछिनमा पिसाव लाग्ने र पिसाव गर्न कठिन हुने हुन्छ । मृगौलाको पत्थरी पनि एउटा कारण हो । पथ्त्रीको पनि आ–आफ्नै लक्षणहरु छन् । तल्लो पेट दुख्ने । यस्तो यस्तो हुन सक्छ । यि लक्षणहरु देखा पर्न थाल्यो भने एक पटक चेकजाँच गरेर के भएको हो त्यसको उपचार गरिहाल्नु पर्छ ।