केहि काम गर्दा पसिना आउनु भनेको सामान्य कुरा हो। गर्मीमा पसिना आउने क्रम धेरै हुन्छ तर कसैलाई पसिना धेरै मात्रामा आउने गर्छ ।

पसिना के हो ?
छालाको भित्रिसतहमा अवस्थित श्वेदग्रन्थि (Sweat Glands)बाट पसिना बन्दछ । यो ग्रन्थिको काम भने शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नु हो । अत्याधिक गर्मिका कारण छालालाई डढ्नबाट जोगाउनको लागि श्वेदग्रन्थिले छालाको माथिल्लो सतहमा नुनयुक्त पानी (पसिना) उत्पादन गर्दछ। जसलाई पसिना भनिएको हो । शरीरबाट निस्केको पसिनाको स्वाद प्रायः नुनिलो हुन्छ ।

शरीरमा पसिना आउने स्थानहरु
हुन त पसिना शरीरको जुनसुकै ठाँउमा पनि थोर-बहुत आउन सक्छ । तरपनि पसिना आउने खास ठाउँहरु हाम्रो शरीरमा यस प्रकार छन्: हत्केला, खुट्टाको पैताला, काँखी, काछ । यि भागहरुमा प्रायः पसिना बढि नै आउने गर्छ ।

यसबाहेक टाउको, निधार, माथिल्लो ओठ, पिठ्यु, पेटमा पनि पसिना आउछ । यसको कारण श्वेदग्रन्थिहरु शरीरको भित्रि भागहरु जस्तै, हत्केला र खुट्टाको पैताला तिर बढि मात्रामा हुन्छन् । ति श्वेदग्रन्थिहरु अतिसक्रिय भएपछि बढि पसिना आउछ ।

किन गन्हाउँछ पसिना ?
पसिना शरीरको सबै भागमा आउँछ तर शरीरका कुनै कुनै अंगमा मात्र गन्हाउँछ । खुट्टाको काप, काखी, कास जस्ता ठाउँ बढी गुम्सने भएकोले फङ्गसको संक्रमण हुने हुन्छ । पसिना सुक्न पाउँदैन र गन्हाउँछ । पसिना गन्हाउने समस्या जसलाई हुन्छ, त्यो मान्छेलाई थाहा हुँदैन ।

पसिनाको गन्धले वरपर बसेका मानिसलाई सकस हुन्छ, बेहोस होला जसरी गन्हाउँछ । तर जसको पसिना गन्हाउने समस्या छ, त्यो मानिसको नाकले गन्धलाई पचाईसकेको हुन्छ र थाहा पाउँदैन ।

पसिना गन्हाउने समस्याको समाधानका लागि सँगैको साथीको मुख्य भूमिका हुन्छ, आफ्नो साथीको पसिना गन्हाएको छ भनेर भनिदिनु पहिलो उपचार हो । पसिना गन्हाउने प्रमुख कारण भनेको सरसफाईको कमी हो ।

पसिना आउँदा के गर्ने त ?

-दिनहुँ लुगा फेर्ने ।

-दिनहुँ नुहाउने ।

-दिनहुँ जुत्ता, मोजा फेर्ने ।

-लुगा, जुत्ता घाममा सुकाउने ।

-पसिना सोस्ने खालका लुगा जस्तै सुतीको कपडा लगाउने ।

-पानी प्रशस्त पिउने ।

-शरीरको तापक्रम कम गर्ने उपाय अपनाउने ।

-शरीरलाई सुख्खा राख्न पाउडर लगाउने ।

-पसिनाको गन्ध नआओस् भन्नको लागि डियोड्रेन लगाउने ।

-फिटकिरीको प्रयोगले संक्रमणलाई रोक्न मद्दत गर्छ ।

चिकित्सकको सल्लाह लिन जरुरी छ ।पसिनालाई स्थायी रुपमा नै हटाउन सकिन्न । त्यसको लागि पसिना उत्पादन गर्ने नशालाई नै निकालेर फाल्नु पर्छ यो ठूलो शल्यक्रिया हो । अस्थायी रुपमा आइनाटोफोरोसिस, अर्थात करेन्टको माध्यम तथा बोटक्स इन्जेक्सन दिएर यो समस्या –समाधान गर्न सकिन्छ ।

Topics #पसिना #सरसफाई