किन वास्तुशास्त्र ?

आफुलाई आधुनिक युगको पुस्ता ठान्ने हामीलाई वास्तुशास्त्र वाहियत जस्तो लाग्छ । यसलाई कतिले आडम्बर र अन्धविश्वास पनि ठान्छन् ।

तर, यो एक प्राचिन विज्ञान हो । वास्तुशास्त्रले निर्देश गरेको कुरा विज्ञानसंगत हुने गर्छ । हुनपनि घर निर्माणअघि भू धरातलदेखि हावाको वहकावसम्मको ख्याल गर्न सक्यो भने त्यसले प्रत्यक्ष फाइदा गर्छ ।

वास्तुशास्त्र आनुसार कुन दिशामा के राख्ने ?

1.प्रवेशद्वार
प्रमुख प्रवेशद्वार अत्यन्त सुशोभित हुनुपर्छ। यसले प्रतिष्ठा बढाउँछ। प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ।  पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख गेट भए समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ। ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ। घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन । ढोका आफै खुल्ने-बन्द हुने हुनुहुँदैन।

2.पूर्व दिशा
यो दिशामा खुला स्थान तथा प्रवेशद्धार भयो भने गृहस्वामीको उमेर लामो, मान-सम्मान तथा सुख-शान्ति प्राप्त हुन्छ। यो दिशा भूमिको तल्लो भागमा हुनुपर्छ। बरन्डा, ढोका, झ्याल, बास बेसिन आदि यो दिशामा बनाउनुपर्छ। बालबालिकाहरूले यो दिशातर्फ फर्केर अध्ययन गरे सकारात्मक परिणाम आउँछ।

3.दक्षिण-पूर्व दिशा
यसलाई आग्नेय भनिन्छ। यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ। किचन, ट्रान्सर्फमर, जेनेरेटर आदि यो दिशामा राख्नुपर्छ। यसका साथै यो दिशामा काम गर्नेको कोठा, ट्वाइलेट आदि बनाउन सकिन्छ।

4.दक्षिण दिशा
यो दिशामा खुलापन हुनुपर्छ। यो ठाउँमा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनुहुँदैन। यो दिशामा भवन अग्लो ठाउँमा छ भने गृहस्वामीलाई सुख, समृद्धि र निरोगी राख्छ। यो दिशा धन राख्न उपयुक्त मानिन्छ।

5.दक्षिण-पश्चिम दिशा
यो दिशालाई नैऋत्य भनिन्छ। परिवारको मुलीको कोठा यही दिशामा हुनुपर्छ तर भुलेर पनि काम गर्नेहरू बस्ने कोठा यो दिशामा बनाउनुहुँदैन। मेसिन तथा क्यास काउन्टर पनि यही दिशामा बनाउनुपर्छ। यो दिशालाई खुल्ला छाड्नुहुँदैन। यहाँ झ्याल बनाउनुहुँदैन।

6.पश्चिम दिशा
यो दिशामा भवन वा भूमि तुलनात्मक रूपमा अग्लो भए घरका सबै सदस्यले सफलता र यश प्राप्त गर्छन्। भोजन कक्ष, शौचालय आदि यो दिशामा बनाउनुपर्छ। पश्चिममा वास्तु दोष भए घरमा वरुणयन्त्र स्थापना गर्नुपर्छ। शनिबार व्रत बस्नुपर्छ।

7.उत्तर-पश्चिम दिशा
यसलाई वायव्यकोण पनि भनिन्छ। वायव्य कोणमा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनुपर्छ। काम गर्नेहरूको कोठा पनि यही दिशामा हुनुपर्छ।

8.पूजास्थल
घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ। यसलाई पूर्व वा उत्तर भित्तामा झुन्डाउनुपर्छ। पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन। घरमा एक बित्ताभन्दा ठूलो पत्थरको मूर्ति स्थापना गर्नाले गृहस्वामीलाई सन्तान प्राप्त हुँदैन।

पूजा कोठा शयन कक्षमा बनाउनुहुँदैन। पूजाकोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन। घरमा शिवलिङ्ग, तीन गणेश, दुई शंख, दुई सूर्यका प्रतिमा, तीन देवीका प्रतिमा, दुई गोमती चक्र र दुई शालिग्रामले गृहस्वामीमा अशान्ति ल्याउँछन्। पूजाकोठाको रंग हलुका क्रिम तथा सेतो हुनुपर्छ।

9.भान्सा
भान्सामा तीनवटा पिर्का राख्नुहुँदैन। यसले घरमा झगडाको वातावरण निम्त्याउँछ। भान्सामा कहिल्यै रुनुहुँदैन। यसो गर्दा बिरामी पर्न सकिन्छ। खाना पकाउने ग्यास पूर्व दिशामा हुनुपर्छ। भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुनुहुँदैन। भान्सा घरको दक्षिण-पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर-पश्चिममा पनि निर्माण गर्न सकिन्छ।

10.भोजन कक्ष
खानपिन कक्षको रंग हलुका हरियो तथा नीलो बनाउनुपर्छ। पूर्व फर्केर खाना खाँदा मानिसको उमेर बढ्छ। दक्षिण फर्केर खाना खाँदा प्रेतत्त्व प्राप्ति हुन्छ। पश्चिम मुख गरी खानाले मनुष्य रोगी बन्छ। उत्तर फर्केर खाँदा आय तथा धन प्राप्ति हुन्छ।

11.सयन कक्ष
सयन कक्ष पूजा गर्ने स्थानमा हुनुहुँदैन। शयनकक्ष पूर्व हुनुलाई शुभ मानिन्छ। यसले नियन्त्रण शक्तिमा वृद्धि हुन्छ। धन-सम्पत्तिको चाहना राख्नेहरूले अन्न, गृह, गुरू, अग्नि र देवताको स्थानमाथि सुत्नुहुँदैन। अन्न भण्डार, गौशाला, गुरूस्थान, भान्सा र मन्दिर सुत्ने कोठामाथि बनाउनुहुँदैन ।

घरका अग्रजहरूको कोठा पश्चिम-दक्षिणतर्फ बनाउनुपर्छ। आफूभन्दा सानाको कोठा पूर्व वा उत्तरतिर बनाउनुपर्छ। यसो गर्दा सम्बन्धमा सहजता उत्पन्न हुन्छ। सधै पूर्व वा दक्षिणतर्फ सिरानी गरी सुत्नुपर्छ। पूर्वतर्फ शिर गरेर सुत्नाले विद्या प्राप्त हुन्छ। दक्षिणतर्फ शिर गरी सुत्दा धन तथा आयु वृद्धि हुन्छ। पश्चिमतर्फ शिर गरी सुत्दा चिन्ता बढ्छ। उत्तरतर्फ शिर गरी सुत्दा आयु घट्छ।

12.शौचालय
श्ौाचालयमा मार्बल लगाउनुहुँदैन। शौचालयको भित्ता र टायल्सको रंग आफ्नो चाहनाअनुरूप राख्न सकिन्छ।

13.बाल बालिका कक्ष
बालबालिकाहरूको शयनकक्ष पूर्व वा इशान कोणमा हुनुलाई शुभ मानिन्छ अध्ययन भवन, सभा र पठनपाठनका लागि यो क्षेत्र शुभ मानिन्छ।

14.पाहुना कोठा
पाहुनाका लागि बनाइने स्थान उत्तर-पश्चिम वा त्यसको आसपास हुनुपर्छ।

15.ब्यक्तिगत कक्ष
संगीत वा नृत्य साधना आदिका लागि अलग स्थान बनाउन नसकिए दक्षिण-पूर्वमा बनाउनुपर्छ। मनोरञ्जन कक्ष दक्षिण वा पश्चिम नैऋत्यको नजीक बनाउनुपर्छ।

दिशा र देवता 

प्रत्येक दिशा एक विशेष देवता द्वारा संचालित हुन्छ ।
उत्तर पूर्व – यो दिशा भगवान शिव द्वारा संचालित हुन्छ ।
पूर्व – यस दिशामा भगवान सूर्यको निवास हुन्छ ।
दक्षिण पूर्व – यस दिशामा अग्निको निवास हुन्छ ।
दक्षिण – यस दिशामा यमको निवास हुन्छ ।
दक्षिण पश्चिम – यस दिशामा पूर्वजहरुको निवास हुन्छ ।
पश्चिम – यस दिशामा वायु देवताको निवास हुन्छ ।
उत्तर – यस दिशामा धनका अधिष्ठाताको निवास हुन्छ ।
केन्द्र – ब्रह्मको निवास केन्द्रमा हुन्छ