स्वस्थ भएर बाँच्ने सबै मानवको जन्मसिद्ध अधिकार हो। प्रकृतिले स्वस्थ भएर बाँच्न सबै व्यवस्था मिलाएर दिएको छ, तर हाम्रै अज्ञानताले गर्दा हामी रोगको सिकार भइरहेका छौं। हामी प्रकृतिसँग जति टाढा हुन्छौं त्यति रोगको सिकार हुन्छौं। हाम्रो दिनचर्या जति प्रकृतिको नियमसंगत हुन्छ, त्यति नै हामी निरोगी हन्छौं।

 

तल प्रस्तुत नियमलाई पालना गरौं र निरोगी जीवन जिऔंः

१. राति १० बजेभित्र सुतेर विहान सूर्योदयपूर्व उठ्ने गरौं।

२. निद्रा खुलेलगत्तै आँखा खोल्नुपूर्व ‘आज म सकारात्मक भएर दिन बिताउँछु’ भन्ने संकल्प गरौं।

३. आँखा नखोलीकन दायाँ कोल्टे फेर्दै उठौं र पँलेटी कसेर बसौं । ५–१० मिनेटसम्म स्वाभाविक रूपमा चलिरहेको श्वास–प्रश्वासमाथि कुनै अवरोध नपुर्याई श्वासमै ध्यान केन्द्रित गरौं। अन्तमा सबैको मंगल होस् भन्ने कामना गर्दै हत्केलाहरू रगडेर तातो बनाई अनुहारमा हत्केलाले मोलौं र हत्केलालाई हेर्दै बिस्तारै आँखा उघारौं।

४. दिसा जानुपहिले तामाको भाँडामा राखेको पानी १–२ गिलास पिऔं।

५. दिसाका लागि निश्चित समय बनाऔं। दिसा गर्दा जोड वा बल गरेर गर्ने नगरौं। दिसा गरिसकेपछि गुद्धार १०–१५ पटक संकुचन गर्ने गरौं।

६. दिसा वा पिसाब लाग्ने बित्तिकै गरिहालौं। रोक्ने बानीले पछि रोग निम्याउँछ।

७. दाँत माझ्दा नरम ब्रसको प्रयोग गरौं र हलुकासँग तल माथि र घुमाएर ब्रस गर्ने गरौं। मञ्जन गरेपछि औंलाले गिजालाई रगटेर सफा गर्ने गरौं। यसो गर्दा दाँत मजबुत हुन्छ।

८. दैनिक छोटो स्नान गरौं। स्नान खाना खानुभन्दा १ घन्टा पहिले, खाना खाएको ३ घन्टापछि, पसिना आएको छ भने सुकेपछि मात्र गरौं। खस्रो सुतीको कपडाले घर्षण गर्दै स्नान गर्ने गरौं।

९. समय र मौसम अनुकूल भएमा बिहान र बेलुका १५–२० मिनेट अति आवश्यक कपडा मात्र लगाएर घाम ताप्ने गरौं।

१०. नियमित रूपमा स्वास्थ्य रक्षाका लागि बिहान १ देखि डेढ घन्टासम्मको समय आफ्ना लागि निकालौं। सो समयमा आशन, प्राणायाम, ध्यान र व्यायाम गरौं। व्यायामका रूपमा बिहान ३५ मिनेट जति हिँडडुल गरौं। यसका लागि प्राकृतिक, रमणीय, खुला र एकान्त स्थान हुनुपर्छ। हिँडडुल गर्दा गहिरो र लामो श्वास लिने र फाल्ने गरौं।

११. भोक लागेको बेला मात्र खाने र खाँदा पेटमा बोझ नहुने गरी चपाइचपाई खाने गरौं।

१२. पानी दिनको ३–४ लिटर नियमित रूपमा पिउने गरौं। १ घन्टामा १ गिलासका दरले पानी पिउने गरौं। खाना खानुभन्दा १–२ घन्टा पहिले र खाएको १ घन्टापछि मात्र, फलफूल खानुभन्दा आधा घन्टा पहिले र खाएको आधा घन्टापछि मात्र पानी पिउने बानी बसालौं।

१३. बिहानको खानाः चोक्कर भएको गहुँको रोटी, दलिया वा नफलेको चामल (ब्राउन राइस) र २–३ किसिमको तरकारी खाने गरौं।

दालः अंकुरित गरी पकाएको मुंग, चना वा गेडागुडी खाने गरौं।

सलादः गाँजर, मुला, काँक्रा, बन्दा, सलगम, गोलभेंडा, धनियाँ पात, पुदिना आदि खाने गरौं।

खाजाः फलको रस, फलफूल वा सलाद खाने गरौं। मौसम अनुसारको ताजा फलफूल, अंकुरित अन्न, मह–पानी वा कागती–पानी खाऔं।

बेलुकाको खानाः बिहानको जस्तै।
(नोटः खानामा रोटी÷भातको मात्रा २०–४० प्रतिशत र तरकारीको मात्रा ६०–८० प्रतिशत हुनुपर्छ।)

१४. रातिको खाना सुत्नुभन्दा ३ घन्टा अगाडी नै खाने गरौं। खाना खाने ठाउँ शान्त राखौं। टिभी, रेडियोलाई बन्द गरौं।

१५. खानापछि १० मिनेट बज्राशनमा बस्ने गरौं। सुरुमा जति समय सकिन्छ त्यति बसौं। पछि समय बढाउँदै १० मिनेट पुर्याऔं।

१६. ३ घन्टा लगातार काम गरेपछि आराम गर्ने गरौं। कम्प्युटर वा टेबुल वर्क गर्नुहुन्छ भने, घन्टा–घन्टामा हात र ढाडको सामान्य कसरत वा शरीरलाई तन्काउने र आँखा चिसो पानीले धुने गरौं। कामको बीचबीचमा १०–१५ पटक गहिरो श्वास–प्रश्वास लिने गरौं। बस्दाखेरि सामान्यतया ढाडलाई सिधा राख्ने गरौं।

१७. दिनमा १–२ पटक खुलेर हासौं। यसबाट तनाब हट्छ र शक्ति सञ्चार हुन्छ।

१८. साधा सुतीको सफा कपडा लगाउने गरौं। उनी कपडा सुतीको कपडामाथि मात्र लगाउने गरौं। पेटी र पटुका हलुका कस्ने गरौं। हिल नभएको जुत्ता मात्र लगाऔं। हिल भएको जुत्ताले नसा, ढाड तथा गर्धन दुख्ने, महिलामा पाठेघरको रोग र अनियमित महिनावारीको समस्या हुन्छ।

१९. दिनमा सुत्ने बानी त्यागौं। सुत्नै परे बढीमा ३० मिनेट मात्र सुत्ने गरौं।

२०. तनावबाट मुक्त हुन सकारात्मक चिन्तन गरौं। सधँं आशावादी बनौं। सबैलाई प्रेम गर्ने र सहयोग गर्ने बानी बसालौं।

२१. केही कडा बिस्तारामा सुत्ने गरौं। सिरानी होचो राखौं।

२२. फुर्सदको समयमा साहित्य, दर्शन, स्वास्थ्य–सम्बन्धी सामग्री वा रूची भएको विषय पढ्ने गरौं। सुमधुर संगीत सुन्ने गरौं। समयको सदुपयोग गरी प्रगतिशील कार्यमा लागौं।

२३. उभिएर खाना पकाउँदा एउटा खुट्टा मुढा वा इँटामाथि र अर्को खुट्टा भुइँमा राख्ने गरौं। पालैपालो खुट्टा बदल्ने र गाह्रो भए कुर्सीमा बसेर खाना पकाउने गरौं।

२४. समय मिलाएर दिनमा १–२ पटक शवाशन वा वैज्ञानिक आराम गर्ने बानी बसालौं। यसले शारीरिक तथा मानसिक थकानबाट मुक्ति दिन्छ।

२५. घरका कोठा घाम छिर्ने, खुला, हावा आवत–जावत गर्ने र सफा वातावरणको हुनुपर्छ।

२६. मैदाको सट्टा चोक्कर सहितको गहुँ/जौको पिठो, सेतो भातको सट्टा ब्राउन राइस र सेतो चिनीको विकल्पमा खैरो चिनी/गुँड/खैरो सख्खर प्रयोग गर्ने गरौं।

२७. भावनात्मक आवेग (रिस, दुःख, तनाव, पिर) शान्त भएपछि मात्र खाना खाने गरौं। प्रशन्न, शान्त, खुसी मनले खाना खाने गरौं।

यो पोस्ट हामीले स्वास्थ्य खबरपत्रिका बाट साभार गरेका हौ। जसलाई डा रविनलाल श्रेष्ठ लेख्नु भएको हो । (योग तथा प्राकृतिक चिकित्साका विज्ञ डा श्रेष्ठ ‘तपाईंको स्वास्थ्य तपाईकै हातमा’ पुस्तकका लेखक हुन्)

तपाइलाई यो जानकारी उपयोगी लग्यो भने कृपया सेयर गर्न नभुल्नु होला ।

Topics #स्वस्थ रहनका लागि केहि स्वस्थ बानी