1. शान्त वातावरण

नवजात शिशुको निन्द्रा चाडै खलबलिन सक्ने भएकाले उनीहरुलाई शान्त ठाउँमा सुताउने व्यवस्था गर्नुपर्छ । सकेसम्म गाडी वा अन्य आवाज नआउने ठाउँ उपयुक्त हुन्छ । साथै प्रदूषणबाट पनि मुक्त राख्नुपर्छ ।

2. आरमपूर्वक सुताउने

भर्खर जन्मिएको बच्चालाई पर्याप्त निन्द्रा चाहिन्छ । उनीहरु एक दिनमा १६ घण्टासम्म आरम गर्न सक्छन् । तर, यत्तिका समयसम्म उनीहरु खाली पेट बस्न सक्दैनन् । तरल पदार्थले पेट भर्नुपर्ने हुँदा बारम्बार भोग लागिरहन्छ ।

जब पेट खाली हुन्छ, उनीहरु ब्यूँझन्छन् ।त्यसैले बच्चालाई स्तनपान गराइरहनुपर्छ । यसका लागि आमाले पोषिलो वा झोलयुक्त खानेकुरा बढी नै सेवन गर्नुपर्छ ।

३.स्तनपान गराउनुअघि

पहिलो बच्चालाई स्तनपान गराउन कतिका लागि समस्या हुन्छ । अनुभव पनि हुँदैन । बच्चा जन्मिएपछिको २४ घण्टासम्म उनलाई ८ देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ । स्तनपान गराउने आमाले पनि सन्तुलित खाना खानुपर्छ ।

बच्चालाई छातीमा राखेर निप्पललाई ओंठमा स्पर्श गराउनुपर्छ । बच्चाले मुख खोलेपछि विस्तारै स्तन दबाउनुपर्छ । बच्चाले राम्ररी दुध चुस्न सकेन भने विस्तारै अभ्यस्त गराउनु पर्छ ।

4. गुम्साएर नराखौं

जाडोमा बच्चालाई न्यानो राख्नुपर्छ । वाहिरको चिसोले चाडै प्रभावित बनाउने हुँदा बच्चाको कोठाको तापमान मिलाउनुपर्छ । यद्यपी बच्चालाई न्यानो बनाउने चक्करमा धेरै गुम्साएर राख्नु हुँदैन । उनीहरुको छाला एकदमै संवेदनशिल हुने भएकाले वाह्य वातावरणले तुरुन्तै असर गर्न सक्छ ।

५. दिसापिसाब गराउने

जाडोमा भोग लागिरहन्छ । साथै दिसापिसाब पनि गरिरहन्छ । दिसा पिसाब गरेपछि बच्चाको कपडा परिवर्तन गरिहाल्नुपर्छ । एक दिनमा ६-८ वटा डाइपर परिवर्तन गर्नुपर्ने हुन्छ ।

दिशा गरेको अवस्थामा मनतातो पानी कपासमा डुबाउँदै सफा गरिदिनुपर्छ । बच्चालाई दिनमा केहि घण्टा डायपर बिना नै रहन दिनुपर्छ ।

६. सरसफाई

नवजात शिशुको सरसफाईमा विशेष ख्याल गर्नुपर्छ । जाडोमा नुहाइदिन गाह्रो हुन्छ ।

बच्चा जन्मिएको पहिलो साता स्पन्जले बिस्तारै उसको शरीर सफा गरिदिनुपर्छ । एकपटक गर्भनाल निस्किएपछि नियमित रुपले हप्तामा दुई पटक वा तीन पटक नुहाइदिनुपर्छ । नुहाइदिनका लागि तातो पानी प्रयोग गर्नुपर्छ ।

गर्मीमा यसरी गरौं बच्चाको हेरचाह

जाडो सकिएर बिस्तारै गर्मी मौसम आउँदै छ । मौसम परिवर्तनसँगै यो बेला बच्चाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । यस्तो मौसममा बच्चालाई घमौरा र घाउ-खटिरा आउने, धेरै पसिना आएर चिसो लाग्ने, बढी गर्मीले एलर्जी हुने जस्ता समस्या देखा पर्छ । त्यसैले गर्मीमा बालबालिकाको हेरचाह गर्दा निम्न कुरा ख्याल गर्नुपर्छ |

1.सहज पहिरन लगाइदिने

गर्मीमा बच्चालाई सुती कपडा लगाइदिनु निकै उपयोगी हुन्छ । अन्य कपडाले ताप ग्रहण गर्ने र पोल्ने भएकोले सुतीको लुगाले उनीहरुलाई शीतल र सहज हुन्छ । उनीहरुलाई उकुसमुकुस हुने गरी धेरै कसिलो पहिरन पनि लगाइदिनु हुादैन । यद्यपि घर बाहिर कतै निस्किँदा भने शरीर पूरै ढाक्ने लुगा लगाइदिनुपर्छ ।

2.बेलाबेलामा डाइपर परिवर्तन गर्ने

गर्मी याममा पसिना आएर शरीरमा ब्याक्टेरिया पैदा गर्ने भएकोले विशेष सावधानी अपनाउनुपर्छ । खासगरी डाइपर निश्चित समयको अन्तरालमा बदल्ने गर्नुपर्छ । तीन घण्टाको अन्तरालमा बदल्नु उपयुक्त मानिन्छ ।

बच्चालाई डाइपर परिवर्तन गर्दा डाइपरले ढाक्ने भाग राम्ररी सफा गर्नुपर्छ । सुख्खा बनाएर मात्र नयाँ डाइपर लगाइदिनुपर्छ ।

3.झोल पदार्थ खुवाइरहने

गर्मीको मौसममा धेरै पसिना निस्किने भएकाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले दूध चुस्ने उमेरका बच्चाहरुलाई दूध र अन्यलाई झोल पदार्थ बेलाबेलामा खुवाइरहनुपर्छ । गर्मीको समयमा भोक कम लाग्ने भएकाले स्वाभाविक रुपले ठोस कुरा उनीहरु खान रुचाउँदैन । त्यसैले सकेसम्म उनीहरुलाई झोल पदार्थको सेवनमा जोड दिनुपर्छ ।

4.तेलले मालिस नगर्ने

गर्मी याममा बच्चाको शरीरमा तेल लगाइदिनु राम्रो मानिँदैन । यसले एलर्जी हुन सक्छ । तेल लगाएपछि राम्ररी नुहाइदिएन वा सफा गरिदिएन भने छालासम्बन्धी समस्या निम्त्याउँछ । गर्मी भयो भनेर बच्चालाई पूरै शरीरमा पाउडर लगाइदिने कतिपयको बानी हुन्छ । त्यसो पनि गर्नुहुँदैन ।

5.नियमित नुहाइदिने

गर्मीको मौसममा बच्चालाई नियमित रुपमा नुहाइदिनुपर्छ । साँझको समयमा चिसो स्पन्ज बाथ दिने र पछि क्रिम मसाज गर्ने गर्नुपर्छ ।

6.कोठाको तापमान स्थिर राख्ने

बच्चा राख्ने कोठाको तापमान सन्तुलिन राख्नुपर्छ । किनकि तापमानमा परिवर्तन हुँदा बच्चाको स्वास्थ्यमा असर गर्छ । यदि कोठामा एसी प्रयोग गर्नुहुन्छ भने तापमान २४ डिग्रीमा राख्नुहोस् । यसका साथै कोठा गुम्सिएको हुनुहुँदैन । स्वच्छ हावा आउजाउ गर्ने खुला खालको हुनुपर्छ ।

7.चर्को घाममा बाहिर ननिकाल्ने

दिउँसोको कडा घाम बालबालिकाको लागि राम्रो हुँदैन । चर्को घामले बच्चाको कोमल छालामा सोझै असर गर्छ । त्यसैले चर्को घाममा बच्चालाई बाहिर निकाल्नु हुँदैन । बरु घाम डुबिसकेपछि साँझपख केही समयका लागि उनीहरुलाई बाहिर निकालेर डुलाउन सकिन्छ ।