हामीले खाएको खानादेखि लिएर आन्तरिक वा बाह्य रुपमा प्रतिक्रिया भई शरीरमा बेचैनी हुनु एलर्जी हो । एक वा विभिन्न बाह्य कारणले एलर्जी हुन सक्छ । एलर्जी एउटा क्षणिक समस्या भए पनि कतिपय अवस्थामा यसका कारण ज्यान नै जोखिममा पर्न सक्छ ।


एलर्जीको खास कारण नै शरीरमा प्रतिकूल प्रतिक्रिया हुनु हो । खानेकुरा, प्रयोग गर्ने सामग्रीदेखि वातावरण र मौसमले समेत एलर्जी गर्छ । जस्तो कसैलाई बिहान उठ्नेवित्तिकै चिसोको कारण निरन्तर हाच्छ्युँ हुन्छ भने कोहीलाई कुनै औषधी खाँदा वा लगाउँदा एलर्जी हुन्छ । कपालमा मेहन्दी लगाउँदादेखि पानी छँुदासम्म एलर्जी हुने गरेको पाइएको छ ।

कतिपय एलर्जी निकै घातक हुन्छन् । श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने वा छाती पोल्ने लक्षण देखिएमा तत्काल चिकित्सककहाँ जानुपर्छ । विशेष गरी बारुला, अरिंगाल, माकुरालगायतका किरा र झिँगाले टोक्दा शरीर निकै सुन्निने गर्छ ।

 

खानेकुराको एलर्जी

खानेकुरामा हुने प्रोटिनले पनि शरीरमा एक प्रकारको एलर्जी बनाउँछ । बदाम, अन्डा, गहुँको पिठोबाट बनेका परिकारले ९० प्रतिशतसम्म एलर्जी हुने गरेका विभिन्न अध्ययनले पुष्टि गरेका छन् ।

धुलोको एलर्जी

धुलोका कणहरु नाकभित्र छिरेर नाक बन्द हुने, हाच्छ्युँु आउने, खोकी लाग्ने र घाँटी खसखस हुनु धुलोको एलर्जी हो । यस्तो समस्याबाट आम सहरिया मानिस र विशेष गरी धुलो धुवाँमा हिँडडुल गर्ने व्यक्ति प्रभावित हुने गरेका छन् । चीनमा धुलोको एलर्जीबाट वर्षेनी हजाराँै मानिसको मृत्यु हुने गरेको छ ।

मौसमी एलर्जी

मौसम र वातावरण परिवर्तनसँगै मानिसलाई विभिन्न प्रकारका एलर्जी हुने गर्छ । चिसो मौसम सुरु हुँदा नाकबाट पानी वग्ने, निरन्तर हाच्छ्यँु आउने गर्छ । त्यस्तै गर्मी मौसममा आँखा रातो हुनु, अनुहारमा डावर आउनु, छालाको कत्ला परिवर्तन हुने गर्छ ।

पाल्तु जनावरबाट हुने एलर्जी

घरेलु कुकुर, विरालो, खरायो, सुगालगायतका पन्छी र जनावरबाट पनि एलर्जी हुने गर्छ । यी पन्छी र जनावरका प्वाँख, छाला, नंग्रा इत्यादिबाट एलर्जी हुने गर्छ । जनावरको शरीरमा टाँसिएको धुलो र तिनीहरुको गन्धले मानिसलाई घन्टाँैसम्म टाउको दुख्ने, बान्ता आउने वा रिंगटा लाग्ने गर्छ । विशेष गरी चिडियाखानामा जाँदा मानिसलाई यस्तो समस्या देखिन्छ ।

औषधीबाट हुने एलर्जी

औषधीले शरीरभित्र सिर्जना गर्ने रासायनिक परिवर्तन वा औषधीप्रति शरीरको रोगप्रतिरोधात्मक नकारात्मक प्रतिक्रियाले पनि शरीरमा एलर्जी हुने गर्छ । यो एलर्जी निकै घातक हुन्छ र कहिलेकाहीँ ज्यानै जान सक्छ ।

कस्मेटिक एलर्जी

कस्मेटिक सामग्रीमा प्रयोग हुने रसायनहरुले छालामा फोका, पसिना आउने र अनुहार रातो भएर सुन्निने गर्छ ।

एलर्जीका लक्षण

धुलो, मौसमी परिवर्तन र जनावरबाट हुने एलर्जीले श्वास फेर्न गाह्रो हुने, नाकबाट पानी बग्ने, आँखा सुन्निने, आँखाबाट आँसु आउने, रिंगटा लाग्ने, टाउको र घाँटी दुख्ने र नाक थुनिने गर्छ ।
खानाको एलर्जीले मुख र घाँटी दुख्ने तथा सुन्निने, नपच्ने, बान्ता आउने, रिंगटा लाग्ने, पेट दुख्ने र पखाला लाग्ने हुन्छ । त्यस्तै श्वासप्रश्वासमा समस्या आउने, खोकी लाग्ने र हाच्छ्यँु आउने गर्छ ।
औषधी र कस्मेटिक एलर्जीले श्वास फेर्न गाह्रो हुने, छाला रातो हुने, फोका आउने, पसिना आउने, छाला खुुइलिने आदि लक्षण देखिन्छ ।

एलर्जीबाट बच्ने उपाय

त्यसो त एलर्जीको खास औषधी हँुदैन । आफूलाई जे कुराबाट एलर्जी हुन्छ त्यसबाट बच्नु नै यसको प्रभावकारी उपाय हो ।
जस्तै ः नाकको एलर्जी वा हाच्छ्यँु आउने समस्या छ भने धुवाँ, धुलो भएको ठाउँमा जाँदा सकभर मास्क लगाउने ।

आफूलाई एलर्जी हुने खानेकुराको पहिचान गरी एलर्जी हुने खानेकुरा नखाने ।

जनावर र पन्छीसँग धेरै सामिप्यता नबढाउने । कतिपय रोग समेत सर्ने भएकाले पाल्तु जनावरलाई नियमित नुवाइदिनुपर्छ ।
अरिंगाल, वारुला र माकुराले टोक्दा सम्पूर्ण शरीर सुन्निएमा तत्काल चिकित्सककहाँ जानुपर्छ ।

स्वास्थ्य खबरपत्रिका बाट

तपाइलाई यो जानकारी उपयोगी लग्यो भने कृपया सेयर गर्न नभुल्नु होला ।