मानिसलाई खतराको सम्भावना भएमा शरीरले कुनै न कुनै प्रतिक्रिया देखाउँछ । त्यस्तो अवस्थामा मन आत्तिने, डर लाग्ने असामान्य विषय होइन । तर, सामान्य अवस्थामा पनि अलि बढी नै डरको अनुभूति गर्नु, दैनिक क्रियाकलापलाई असन्तुलन बनाइरहनुले डिसअर्डरको रूप लिन सक्छ, जसलाई एन्जाइटी डिसअर्डर भनिन्छ । यसबारे मनोविज्ञ आदर्श प्रधानले नयाँ पत्रिकालाई बताएका छन् :

के हो एन्जाइटी ?

एन्जाइटी जुनसुकै उमेर समूहका मानिसलाई हुन सक्छ । यस्तो अवस्थामा मानिसमा मुटुको धड्कन बढ्ने, श्वासप्रश्वासमा अस्वाभाविक तीव्रता आउनेजस्ता लक्षण देखा पर्छन् । यस्तो अवस्थामा मुटुमा ठूलो समस्या आएको भन्ठानी बढी आत्तिने समस्या पनि हुन सक्छ । तर, चेतना अभावका कारण मानिसलाई यस्तो समस्या मुटुको नभई मानसिक रोगको लक्षण हो भन्ने कुरा थाहा नहुन सक्छ ।

एन्जाइटी डिसअर्डर भएपछि सुरुमा निद्रा नलाग्ने समस्या हुन्छ । लागिहाले पनि बीच–बीचमा बिउँझने र पुनः निद्रा लाग्न गाह्रो हुने समस्या हुन्छ ।

पुराना पीडादायी तनावपूर्ण घटनाहरू मस्तिष्कमा खेलिरहन्छ । त्यसैले, यस्ता बिरामी पुनः यस्ता घटना दोहोरिन्छ कि भन्ने त्रासमा हुन्छन् । जसलाई ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’ भनिन्छ । यस्तो समस्याले एन्जाइटीलाई बढाउन थप भूमिका खेल्छ ।

एन्जाइटी डिसअर्डर विभिन्न प्रकारका हुन्छन्, जस्तै– जेनरलाइज्ड एन्जाइटी डिसअर्डर, सोसल एन्जाइटी, सेपेरेसन एन्जाइटी डिसअर्डर, एगोराफोबिया, प्यानिक डिसअर्डर आदि ।

कारण

एन्जाइटी डिसअर्डरका कारण किटान गरेर भन्न गाह्रो छ । जीवनमा घटेका पीडादायी घटनाले यस्तो डिसअर्डर बढाउन ठूलो भूमिका खेल्छ । वंशानुगत कारण पनि एन्जाइटी डिसअर्डर हुने गरेको पाइन्छ ।

केही मानिसलाई विभिन्न शारीरिक रोगका कारण पनि एन्जाइटी हुने गर्छ । चिकित्सकहरूले कुनै–कुनै अवस्थामा एन्जाइटीका लक्षणलाई मेडिकल रोगको पहिलो संकेतका रूपमा लिने गर्छन् । यदि मेडिकल कारणले एन्जाइटी बढेको भएमा चिकित्सकले रोगका लक्षण हेरेर समाधान खोज्छन् ।

यस्तालार्ई एन्जाइटीको सम्भावना

मुटुरोग भएकालाई एन्जाइटीको सम्भावना हुन्छ ।

मधुमेहबाट ग्रस्त मानिस पनि यसको जोखिममा हुन्छन् ।

थाइराइडको समस्या भाएका मानिसलाई पनि एन्जाइटी हुन सक्छ ।

धूमपान, मद्यपान, लागुपदार्थको सेवन गर्नेलाई पनि डिसअर्डरको सम्भावना हुन्छ ।

पुरानो दुखाइको समस्या, दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरू पनि यसबारे सचेत हुन आवश्यक हुन्छ ।

लक्षण

असम्भव घटना घट्ला भनेर डराइरहनु ।

हातखुट्टा काम्ने समस्या आउनु ।

मुटुको घड्कन बढ्नु ।

बढी पसिना आउनु ।

नियमित टाउको दुख्नु ।

छटपटी हुनु ।

श्वासप्रश्वासको गतिमा असन्तुलन आउनु ।

ग्यास्ट्रिक बढ्नुका साथै पेटमा असहज अनुभव हुनु ।

बेहोस होलाजस्तो अनुभव हुनु ।

आत्तिरहनु र आत्मविश्वास घट्दै जानु ।

अत्यन्त थकित हुनु, कमजोर भएको महसुस गर्नु ।

पटक–पटक पिसाब गर्न मन लाग्नु ।

रोकथामका उपाय

सामान्य एन्जाइटी डिसअर्डर भएको हो भने मनोपरामर्शदातासँगको नियमित परामर्शले पनि निको हुन्छ । यस्ता बिरामीलाई मनोपरामर्शदाताले कग्नेटिभ बिहेभियरलगायतका साइकोथेरापीबाट उपचार गर्छन् ।

यद्यपि, व्यक्तिलाई अत्यधिक कठिन महसुस भएको छ र समस्याले गम्भीर रूप लिँदै गएको छ भने मनोचिकित्सकको सल्लाहअनुसार औषधि नै सेवन गर्नुपर्ने हुन्छ । यस्तो समस्यालाई सामान्य ठानेर बस्दा गम्भीर अवस्था पनि निम्तिन सक्छ ।

एन्जाइटीको मात्रा कमी हुँदै गएमा बिस्तारै योग, ध्यान, प्राणायाम गर्न पनि सकिन्छ । यस्तो गतिविधि एन्जाइटीका लागि निकै लाभदायक हुन्छ । किनभने, नियमित ध्यानले नकारात्मक सोचलाई कम गर्नुका साथै प्रतिकूल अवस्थामा पनि नआत्तीकन समाधान खोज्न सिकाउँछ ।

यस्ता बिरामीले विश्राम, योग, निद्राको नियमित अभ्यास गर्दा पनि राम्रो हुन्छ । यस्तो गर्दा शरीर, मन, भावनामा भएको तनाव कम भई ताजापनको अनुभूति हुन्छ ।

भोजनमा विशेष ख्याल राख्न जरुरी हुन्छ । सधैँ सन्तुलित भोजन प्रयोग गर्ने प्रयत्न गर्नुपर्छ । र, धूमपान, मद्यपान, सुर्ती र लागुपदार्थबाट टाढै रहनुपर्छ ।

नयाँ पत्रिका बाट

तपाइलाई यो जानकारी उपयोगी लग्यो भने कृपया सेयर गर्न नभुल्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here