प्रेरक प्रसंग : रूप ठूलो कि गुण ?

विष्णु गुप्तकुरूप थिए । राजा चन्द्रगुप्त मौर्यलाई एक दिन रमाइलो गर्न मन लागेछ । उनले भने, ‘प्रधानमन्त्रीजी, यदि तपाईं यति गुणवान्का साथै रूपवान् पनि हुनुभएको भए कति मजा हुँदो हो हगि ?

चाणक्यले चन्द्रगुप्तलाई कुनै जवाफ दिनुभन्दा पहिल्यै महारानीले उनको प्रश्नको जवाफ दिइन्, ‘महाराज, मानिसको रूप त मृगतृष्णा हो । मानिसको पूजा उसको रूपले होइन, गुण र बुद्धिले हुने गर्छ ।’ ‘तिमीले रूपवती भएर पनि किन यस्तो कुरा गर्‍यौ ?’ रानीको जवाफ सुनेपछि राजाले प्रश्न गरे, ‘के कुनै यस्तो उदाहरण छ, जहाँ गुणको अगाडि रूपको कुनै मान्यता नहोस् ?’
‘धेरै उदाहरण छन्, महाराज,’ यसपटक रानीको साटो चाणक्यले जवाफ दिए, ‘तपाईं पहिला यो चिसो पानी पिएर शान्त हुनुस् अनि कुरा गरौँला ।’ तब उनले तुरुन्त दुई गिलास पानी राजातिर बढाए । ‘महाराज, तपाईंलाई कुन गिलासको पानी राम्रो लाग्यो ?’ राजाले पानी पिइसकेपछि चाणक्यले उनलाई सोधे ।

राजाले जवाफ दिए, ‘दोस्रो गिलासको पानी शीतल एवं स्वादिलो थियो । त्यो पिएर म तृप्त भएँ । पहिलो गिलासको पानी पिउनलायक थिएन । तर, पहिला मलाई त्यही गिलास दिइएको थियो, त्यसैले नचाहेरै पनि पिउन बाध्य हुनुपर्‍यो ।’ चाणक्यले भने, ‘पहिलो गिलासको पानी सुनको घडामा राखिएको थियो । तर, दोस्रो गिलासको पानीचाहिँ माटाको घडामा राखिएको थियो महाराज ।’

महारानीले हाँस्दै भनिन्, ‘महराज हाम्रा प्रधानमन्त्रीले आफ्नो बुद्धि चातुर्यले तपाईंको प्रश्नको जवाफ दिनुभयो । टाढैबाट चम्किने सुनको घडाको सुन्दरता हेर्नमा छ । तर, त्यो घडा के कामको, जसको पानी पिउनलायक नै हुँदैन । अर्कातिर माटोको घडा हेर्दा कस्तो कुरूप छ तर त्यसमा धेरै ठूलो गुण लुकेको छ । अब तपाईं नै बताउनुस्, रूप ठूलो कि गुण एवं बुद्धि ?’ रानीको प्रश्न सुनेर राजा चन्द्रगुप्त मौन भए ।

यो पोस्ट हामीले नयाँ पत्रिका बाट साभार गरेका हौ ।
तपाइलाई यो जानकारी उपयोगी लग्यो भने कृपया सेयर गर्न नभुल्नु होला ।