छालामा मुसा आउने समस्या हामी मध्ये धेरैमा हुन सक्छ । कसैकसैमा त लामो समय देखिको मुसाले हात, खुट्टा नै कुरूप पनि बनाएको हुन्छ । मेडिकल भाषामा “वार्ट” भनिने मुसा अरु केहि नभएर छालामा हुने एक किसिमको भाइरसको संक्रमण हो ।

मुसा नै हो भनेर कसरी छुट्टाउने ?

१. सामान्यतया मुसा हातको पछाडीपट्टी, औंलाहरु, घुंडा, र खुट्टा, पैतालामा देखिन्छ ।

२. छालाको सतहभन्दा माथि उठेको साह्रो र सुख्खा गिर्खाको रुपमा देखा पर्छ ।

३. यो एक वा एकभन्दा बढी मात्रामा पनि देखिन सक्छ ।

४. थोरै कोतार्दा सेतो पत्र निस्कन सक्छ र जमेको रगतका शिराको कालो धब्बा देखिन सक्छ |

सावधान ! छालामा भएको मुसाले हुन सक्छ क्यान्सर

शरीरमा भएका मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ चिलाएमा, या दुखेमा चिकित्सककहाँ गएर उपचार गर्नुपर्छ । किनभने, यस्तो लक्षण देखिएमा क्यान्सर हुन सम्भावना हुन्छ । जन्मजात मुसा छ भने हानिकारक मानिदैन । तर, मानिस हुर्कने क्रममा मुसा देखिएको छ भने यसले क्यान्सरको रूप धारण पनि गर्न सक्छ ।

के गर्न हुदैन ?
कतिपयले पार्लरमा गएर त कतिले घरमै मुसा हटाउने गरेको पाइन्छ । यसरी मुसा हटाउनु हानिकारक मानिन्छ । यसलाई हटाउन घरेलु विधि प्रयोग गर्दा जटिल समस्या निम्तिन सक्छ ।

के मुसा आफै ठिक हुन्छ ?

स्वस्थ मानिसमा करिव ३० प्रतिशत मुसा ६ महिनामा र ६० प्रतिशत एक वर्षमा आफै हराएर जान्छ । यदि मुसा सानो हुँदै गएमा र रगतका शिराका काला धब्बाहरु देखिएमा यो आफै हराएर जादैछ भनेर बुझ्नुपर्छ ।

अस्वस्थ र रोग प्रतिरोधात्मक क्षमता कम भएको मानिसहरु जस्तै, कुनै रगतको क्यान्सर, एड्स आदि रोगहरु लागेको छ र मुसा धेरै मात्रामा छ भने चाहीँ क्यान्सरमा पनि परिणत हुनसक्छ ।

साथै योनाङ्गहरुमा देखिने मुसा पनि क्यान्सरमा परिणत हुने संभावना धेरै हुन्छ । लामो समयसम्म मुसा आफै हराएर नगएमा, बढ्दै गएमा र अन्य ठाउमा पनि फैलिदै गएमा एकपटक छालारोग विशेषज्ञसंग सल्लाह लिनु बुद्दीमानी हुन्छ ।

मुसाको उपचार के हो ?

विशेषत मुसाको उपचार यो कुन भागमा छ, कतिओटा छ, बिरामीको उमेर कति हो, आदि कुरामा निर्भर गर्छ । आधाभन्दा बढी मुसाहरु आफै हराएर जाने हुनाले कुनै उपचार चाहिँदैन । साथै कतिपय उपचार गरेपछि पनि मुसा फेरि देखिन सक्छ ।