‘रक्तदान जीवनदान। रक्तदान महादान।’
यी वाक्य हामीले बारम्बार सुन्ने गरेका छौँ। रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ ।

रक्तदान गर्नुको फाइदा

१. क्यालोरी घटाउँछ
एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६ सय ५० किलो क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मदत गर्छ । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छन् । तर त्यसका लागि पहिले हेल्थ चेकअप, ब्लडमा हेमोग्लोबिनको मात्रा र आइरनको मात्रा चेक गर्नु जरुरी छ । तीन महिनाको अन्तराल अघि रक्तदान गर्नु राम्रो हुँदैन ।

२. मुटुको समस्याबाट टाढा राख्छ
हरेक तीन महिनामा रक्तदान गर्नाले शरीरमा रहेको आइरनको मात्रा नियन्त्रण गर्न सघाउ गर्छ । खासगरी पुरुष जसमा मुटुरोगको सम्भावना केही कम रहन्छ । शरीरको सञ्चालनका लागि आइरनको महत्वपूर्ण भूमिका रहन्छ तर यसको परिणाम धेरै हुँदा अक्सिडेटिब ड्यामेज हुनसक्छ । जसका कारण एजिङ, हृदयघात र स्टोकको समस्या देखिन्छ ।

३. क्यान्सरबाट जोगाउँछ
शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो बिरामीको कारण हुनसक्छ । यस्ता समस्याबाट बच्न समय समयमा रक्तदान जरुरी छ । अनुसन्धानले पनि यो कुरालाई मानेको छ कि रक्तदानले क्यान्सरको सम्भावनालाई शतप्रतिशतसम्म कम गर्छ ।

४. स्वास्थका लागि जरुरी
रक्तदानपछि शरीरमा नयाँ रगत बन्छ । यसले स्वास्थसँग जोडिएका थुप्रै समस्याहरुबाट टाढा राख्छ । रक्तदानले काँर्डियोवैस्कुलर स्वास्थको पनि नियन्त्रण गर्छ । रक्तदानका दौरान ब्लड प्रेसर, शरीरको तापक्रम, हेमोग्लोबिनजस्ता चेकअप गरिन्छ जसले शरीरको उतारचढावका बारेमा पनि जानकारी दिन्छन् र लामो समयसम्म स्वस्थ रहन सकिन्छ ।

५. आत्मसन्तुष्टि
रक्तदानपछि आफैँमा एक आत्मसन्तुष्टि विकास हुन्छ । आफैँलाई एउटा राम्रो काम गरेको अनुभव हुन्छ । कसैको जिन्दगी बचाउनु राम्रो काम हो । बिरामीको जरुरत हेरेर रगतलाई थुप्रै हिस्सामा बाँडिन्छ । साना बच्चाका लागि थुप्रै पटक रगतको जरुरी हुन्छ । त्यसैले आफ्नो खुसीसँगै अरुलाई समेत खुसी राख्न रक्तदान गर्नुहोस् ।

निम्न अवस्थामा रक्तदान गर्न मिल्छ

१. १८ वर्ष उमेर तथा ५० केजी तौ भएका स्वस्थ्य व्यक्ति जोसुकैले रक्तदान गर्न सक्छन्। अभिभावकको स्वीकृतिमा १६ वर्ष माथिकाले पनि रक्तदान गर्न मिल्छ। ६० वर्षभन्दा बढी उमेरकाहरुले रक्तदान नगरेको वेश।

२. ज्वरो वा सास फेर्न गाह्रो नभएमा एलर्जी, सुक्खा खोकी भए पनि रक्तदान गर्न मिल्छ।

३.  सामान्य खालको दम भएकाहरुले औषधि खाइरहेका भए पनि रक्तदान गर्न सक्छन्।

४. नाडीको चाल ५०-१०० प्रतिमिनेट भएका, माथिल्लो प्रेसर (सिस्टोलिक) १००-१८० तथा तल्लो प्रेसर (डायास्टोलिक) ५०-१०० छ भने उच्च रक्तचापको औषधि खाइरहेका वा नखाएका जोसुकैले पनि रक्तदान गर्न सक्छन्।

५. चिनी रोगले आँखा, मुटु, मिर्गौला आदि अंगमा असार नपारेको अवस्थामा मुखबाट औषधि खाइरहेकाहरुको चिनी रोग नियन्त्रणमा छ भने रक्तदान गर्न सकिन्छ।

६. विगत ६ महिनादेखि छाती दुख्ने तथा मुटुरोग सम्बन्धी लक्षण नभएका, रोग नियन्त्रणमा भएका र दैनिक क्रियाकलापमा समस्या नभएका मुटुरोगीहरुले रक्तदान गर्न मिल्छ।

निम्न अवस्थामा रक्तदान गर्नु हुँदैन

१. औषधि सेवन

– ज्वरो आएको तथा एन्टिबायोटिक लिइरहेको अवस्था।

– आइसोट्रेटिनोइन, एकुटेन, फिनास्टेराइडजस्ता डन्डिफोर तथा पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने औषधिको अन्तिम मात्रा खाएपछि एक महिना नपुगेको अवस्था।

– पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने डुटास्टेराइड औषधिको अन्तिम मात्रा खाएपछि ६ महिना नपुगेको अवस्था।

– एस्पिरिन खाइरहेकाहरुले पर्खनुपर्छ भन्ने छैन, तर तीन दिन पर्खंदा वेश।

– हेपारिन, वार्फारिनजस्ता रगत पातलो पार्ने औषधि लिइरहेका बिरामीहरुले चिकित्सकद्वारा औषधि छुटाइएको अवस्थामा सात दिनपछि मात्र रक्तदान गर्नु पर्छ।

– टिक्लोडिपिन, क्लोपिडोग्रेल जस्ता रगत जमाउन कम गर्ने औषधि लिइरहेकाहरुले औषधि छोडेपछि १४ दिन पर्खनुपर्छ।

– ग्रोथ हर्मोन लिएकाहरुले रक्तदान गर्नु हुँदैन।

– सोरियासिस नामक छालाको रोगका लागि इट्रेटिनेट औषधि लिइरहेकाहरुले कहिल्यै पनि रक्तदान गर्नु हुँदैन। एसिट्रेटिन औषधि लिइरहेकाहरुले पनि औषधि छोडेको तीन वर्षसम्म रक्तदान गर्नु हुँदैन।

– छालाको क्यान्सरमा प्रयोग गरिने भिस्मोडेगिल औषधि लिइरहेकाहरुले औषधि छोडेको ७ महिना नपुगेको अवस्था।

– प्रतिरक्षात्मक शक्ति कमजोर हुने रोगमा प्रयोग गरिने टेरिफ्लुनोमाइड औषधि लिइरहेकाहरुले औषधि छोडेको २ वर्षसम्म रक्तदान गर्न मिल्दैन।

२. खोप

– दादुरा, हाडे, रुबेला, ठेउला तथा जनै खटिरा विरुद्ध खोप लगाएको चार हप्तासम्म रक्तदान गर्नु हुँदैन।

– हेपाटाइटिस ‘बी’ का रोगीको सम्पर्कमा नआएका तर हेपाटाइटिस ‘बी’ खोप लगाएकाहरुले तीन हप्तासम्म रक्तदान गर्नु हुँदैन।

– हेपाटाइटिस ‘बी’ का रोगीको सम्पर्रकमा आएका, हेपाटाइटिस ‘बी’ इम्युन ग्लोबुलिन लगाएकाहरुले एक वर्ष नपुगेसम्म रक्तदान गर्नु हुँदैन।

३. स्वास्थ्य अवस्था

– प्रति एक सय मिलिलिटर रगतमा हेमोग्लोबिन महिलामा १२ दशमलब ५ ग्राम तथा पुरुषमा १३ ग्रामभन्दा कम वा २० ग्रामभन्दा बढी भएकाहरुले रक्तदान गर्नु हुँदैन।

– गर्भवती महिलाले बच्चा जन्मेको ६ हप्तासम्म रक्तदान गर्नु हुँदैन।

– हृदयघात, मस्तिष्कघात, कलेजो तथा मिर्गौला फेल भएकाहरुले रक्तदान गर्नु हुँदैन।

– तराई क्षेत्रमा व्यावहारिक नहुन सक्छ, तथापि मलेरियाको उपचार गरेको तीन वर्षसम्म तथा मलेरिया हुने क्षेत्रमा भ्रमण गरेको एक वर्षसम्म रक्तदान गर्नु हुँदैन।

– रगत बग्न सजिलै नरोकिने रोगी वा रगत पातलो पार्ने औषधी खाइरहेकाहरुले रक्तदान गर्नु हुँदैन।

– हेमोक्रोमेटोसिस नामक रोग भएकाहरुले रक्तदान गर्नु हुँदैन।

– रक्तनलीबाट लागूपदार्थ सेवन गर्नेहरुले रक्तदान गर्नु हुँदैन।

– रगत तथा ग्रन्थीको क्यान्सर भएकाहरुले रक्तदान गर्नु हुँदैन। पूर्णरुपमा उपचार गरिएका क्यान्सर रोगीहरुले पनि एक वर्षपछि मात्र रक्तदान गर्न सक्छन्।

रक्तदान गरेपछि अपनाउनुपर्ने सतर्कता

१. ५-२० मिनेट आराम गर्नुपर्छ।

२. कहिलेकाहीँ रक्तदान गरेपछि रिङ्गटा लाग्न सक्छ, होस गुम्न सक्छ। यस्तो अवस्थामा जुरुक्क उठ्ने प्रयास गर्नु हुँदैन। कोल्टे फर्केर आराम गर्नुपर्छ। गोडा अलि माथि उठाउने वा गोडामुनि सिरानी राखेर सुत्नुपर्छ।

३. जुस, जीवन जल, पानी जस्ता तरल पदार्थ प्रसस्त पिउनुपर्छ।

४. २४ घण्टा शारीरिक श्रम हुनेगरी गाह्रो काम गर्नु हुँदैन।

रोग हजारौँ प्रकारका हुन्छन्। सबै रोगको परीक्षण सम्भव नहुन सक्छ। आफूलाई लागेको रोग तथा स्वास्थ्य समस्याबारे अरुलाई भन्दा आफूलाई बढी थाहा हुन्छ। यसैले रक्तदान गर्नुअघि आफ्नो रोग तथा स्वास्थ्यबारे स्वास्थ्यकर्मीलाई सबै कुरा जानकारी गराउनुपर्छ। आफ्नो स्वास्थ्यमा नराम्रो असर नपर्ने गरी रक्तदान गरौँ तर रोगदान नगरौँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here