मोटरसाइकल चालक र पछाडि बस्नेले गतिलो हेल्मेट लगाए दुर्घटनामा हुने ‘हेड इन्जुरी’ (टाउकामा लाग्ने चोट) मा ८० प्रतिशतसम्म कमी गर्न सकिने विज्ञहरूले बताएका छन् ।

मुलुकमा हुने हेड इन्जुरीमा करिब ५५ प्रतिशत कारक सडक दुर्घटना हुने गरेको छ । सडक दुर्घटनामा लाग्ने चोटमा ६० प्रतिशत हेल्मेट नलगाएका कारण हुने गरेको विज्ञहरूले बताएका छन् । मोटरसाइकल चढ्ने सबैले उपयुक्त ढंगले हेल्मेट लगाए मोटरसाइकल दुर्घटनाबाट हुने हेड इन्जुरीमा ८० प्रतिशतसम्म कम गर्न सकिने तथ्यांकबाट देखिन्छ |

मोटरसाइकल दुर्घटनामा परी बर्सेनि सयौं युवाले ज्यान गुमाउने गरेका छन् । काठमाडौंमा मात्र नभई मुलुकभरि नै सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको हुने गरेको छ । मोटरसाइकल पछाडि बस्नेले हेल्मेट नलगाउँदा हेड इन्जुरी र दुर्घटनामा हुने क्षतिसमेत बर्सेनि बढ्दो रहेको छ ।

टाउको जोगाउनभन्दा पनि ट्राफिक प्रहरीसँग जोगिन हेल्मेट लगाउने भएकाले कमजोर, अनुपयुक्त, टाउकाको बचाउ गर्न नसक्ने हेल्मेट लगाउने तथा हेल्मेटको फित्तासमेत नबाँध्ने प्रवृत्ति देखिएको प्रहरीको भनाइ छ । हेल्मेट लगाउने तर यसको फित्ता नबाँध्ने वा अनुपयुक्त हेल्मेट लगाउँदासमेत हेड इन्जुरी हुने गरेको प्रशस्त घटना रहेको छ |

मोटरसाइकल पछाडि बसेकालाई अगाडि के भइरहेको छ भन्ने थाहा नहुने र सामान्य झड्का वा दुर्घटनामा समेत उछिट्टिएर हेड इन्जुरी भएर मृत्यु हुने गरेको छ | हाल मादक पदार्थ सेवनमा कडाइ भए पनि हेड इन्जुरी भएकामध्ये ६० प्रतिशतले मदिरा सेवन गरेको पाइएको छ ।

चलाउने व्यक्तिले मदिरा नखाए पनि रक्सी खाएर पछाडि बसेका मानिस सामान्य दुर्घटना वा झड्का पर्दासमेत उछिट्टिएर हेड इन्जुरी हुने गरेको देखिएको छ । मदिरा सेवन गरेको व्यक्तिले मोटरसाइकल पछाडि बसेर पनि यात्रा गर्नु जोखिमपूर्ण हुन्छ |

केहि विज्ञहरूले बिनाहेल्मेट मोटरसाइकल चढ्न नपाउने नियम कडाइसाथ लागू गर्नुपर्ने बताउँछन् । यस्तो गर्ने हो भने हेड इन्जुरीमा निकै कमी आउनेछ । राजाको प्रत्यक्ष शासनमा स्वास्थ्यमन्त्री हुँदा स्नायु शल्यचिकित्सक डा. उपेन्द्र देवकोटाले मोटरसाइकलमा पछाडि बस्नेले समेत हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए । त्यतिबेला हेल्मेटको बिक्री बढाउन यस्तो नियम ल्याएसमेत पनि भनियो, त्यसले दुर्घटना परि मृतु हुनेको संख्यामा कमी ल्याएको थियो ।

वास्तविक तथ्यांक उपलब्ध नभए पनि त्यतिबेला पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ५–६ महिना लागू गर्दा हेड इन्जुरीमा करिब ५० प्रतिशत कमी आएको थियो । शाही शासनविरुद्धको आन्दोलन सफल भएपछि पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम हटेको थियो ।

त्यतिखेर सबैले खुलापन महसुस गरे । हेल्मेटको अनिवार्यतालाई राज्यले वा प्रहरीले लादेको अनुभव गर्दै पालना गर्न छोडियो  । गुणस्तरीय हेल्मेटले कुनै पनि दुर्घटनामा टाउकामा लाग्ने चोटपटक ७० प्रतिशत कम गर्न सक्ने तथा ज्यान बाँच्ने सम्भावना ५० प्रतिशत हुने डाक्टरहरू बताउँछन् ।

एस पोस्टको केहि भाग कान्तिपुर बाट साभार गरिएको छ | मन परेमा पोस्ट share गर्दिनु होला |