निद्रा मस्तिष्कका कोषहरुले आराम गर्ने अवस्था हो । काम गर्दाको थकान मेटाउन शरीरलाई जसरी आरामको आवश्यकता हुन्छ त्यसरी नै ब्रेनलाई पनि आराम गर्नुपर्ने हुन्छ । त्यो आराम ब्रेनले सुत्दा पूरा गर्छ । एक अध्ययनका अनुसार मानिसले जीवनको एक तिहाई समय सुतेरै बिताउने गर्दछ । तर, राम्ररी निद्रा नलाग्नु वा धेरै निद्रा लाग्नुजस्ता समस्याले हामीलाई तनाव दिइरहेको हुन्छ।

निद्रा गडबड हुने कारण

१. उठ्ने र सुत्ने समयको टुंगो नभएमा । निदाउने र उठ्ने भनेको हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुको घटबढले हुन्छ । जसलाई ‘सक्र्याडियन रिदम’ भनिन्छ । एउटै समयमा सुत्ने र उठ्ने मानिसको हर्मोनहरुको सन्तुलन पनि त्यही अनुसार मिलेको हुन्छ र निदाउन सजिलो हुन्छ।

२. घुर्ने बानी भएमा । घुर्ने बानी भएका मानिसहरुको रगतमा अक्सिजनको मात्रा घट्छ र कार्वनडाइअक्साइडको मात्रा बढ्छ । त्यसले गर्दा मानिस थुप्रैपटक ब्युँझिरहेको हुन्छ, तर उसलाई थाहा हुँदैन । यस्तो अवस्थालाई ‘स्लिप एप्निया सिन्ड्रोम’ भनिन्छ ।

३. मोटोपन, थाइराइड र डिप्रेसनको समस्या भएमा ।

४. मधुमेह र प्रोस्ट्रेट सम्बन्धी समस्या भएकाहरु, जसलाई राति छिनछिनमा पिसाब लाग्ने हुन्छ ।

५. लागूऔषध दुव्र्यसनीहरुमा ।

६. शरीरका भित्री अंगमा अप्ठेरो भएमा (जस्तैः लिभर, किड्नी, मुटुरोग, दम आदि) ।

७. हर्मोनका कारण पनि धेरै निदाउने वा निदाउन नसक्ने हुन सक्छ ।

उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घण्टा सुत्नुपर्ने हुन्छ । तर, जति उमेर बढ्दै जान्छ त्यति निद्रा घट्दै जान्छ । उमेर अनुसार मस्तिष्कको परिपक्वता बढ्दै जाने भएकाले निद्रा पनि उमेर अनुसार फरक पर्ने हुन्छ ।

निद्रा लगाउने उपाय

१. आफूलाई सहज हुनेगरी सुत्ने र उठ्ने समय सँधै एउटै बनाउने ।

२. बेलुकी खाना खाइसकेपछि कम्तिमा दुई घण्टा आराम गरेर मात्र सुत्ने ।

३. सुत्ने बेला वा राति उठेर पानी खाने बानी छ भने त्यसलाई कम गर्ने ।

४. घुर्ने समस्या भएकाहरुले उत्तानो परेर नसुत्ने ।दायाँ कि बाँयातिर कोल्टे परेर सुत्ने ।

५. दिउँसो सुत्ने बानी हटाउने ।

६. धूमपान, मध्यपान र लागूपदार्थको सेवन नगर्ने ।

७. स्वस्थ आहार लिने ।

८. मोटोपन घटाउने ।

९. नियमित व्यायाम गर्ने ।

शास्त्र भन्छः सुत्ने समय यी ५ चिज सिरानीमुनी राख्नुस्
शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ ।

१. हनुमान चालिसा
हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

२. फलामको उपकरण
सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।

३. मुला
सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिलल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।

४. फूल
सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

५. दुर्गा सप्तसती
पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।