आँखाको बिभिन्न समस्याहरु मध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ।

आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ।

आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ। यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।

मूलभूत कारणहरु

१. भाइरसद्वारा हुने आँखा पकुवाः यो प्राय एडेनोभाइरसको संक्रमणले हुन्छ र तिब्र सरुवा प्रकृतिको हुन्छ । यस रोगमा शुरुमा ज्वरो आउँछ, घाँटी दुख्छ र नाकबाट पानी बग्छ । आँखाबाट पानी बगिरहन्छ र आँखा मा बालुवा परे जस्तो अनुभव हुन्छ ।

२. ब्याक्टेरियाद्वारा हुने आँखा पकुवाः यो प्राय स्टाफिलोकोकस या स्ट्रेप्टोकोकस समूहका ब्याक्टेरियाको संक्रमणले हुन्छ र सरुवा प्रकृतिकै हुन्छ । यस रोगमा आँखाबाट पहेंलो, सेतो र हल्का हरियो रंगको पीप बग्दछ ।

केही विशेष खालका ब्याक्टेरिया द्वारा हुने आँखा पकुवा निम्नानुसार छन् :

१. निजेरिया समुह (विशेष गरेर निजेरिया गनोरिया) का ब्याक्टेरियाका कारण आँखा रातो हुने, पीप बग्ने र समयमै राम्रो उपचार गरिएन भने रोगीले आँखै नदेख्ने हुन सक्छ । यो गनोरिया रोग लागेका विरामी को जननांगसँग आँखाको सम्पर्क भयो भने लाग्न सक्ने रोग हो ।

२. नवजात शिशु मा हुने गोनोकोक्कल आँखा पकुवा : यो संक्रमित आमाबाट प्रजननका बेला बच्चामा सर्न सक्ने रोग हो, जुन बच्चा जन्मेको दोस्रो दिन देखि पहिलो हप्ता भित्रै देखिन्छ ।

३. नवजात शिशुमा हुने क्लामिडिया आँखा पकुवा संक्रमित आमाबाट प्रजननका बेला बच्चामा सर्न सक्छ जुन बच्चा जन्मेको पहिलो हप्ता पछि देखिन्छ ।

४. एलर्जी धुवाँ, धूलो, परागकणहरु वा अन्य एलर्जी उत्पन्न गराउने कुराहरु बाट हुने आँखा पकुवा यसभित्र पर्दछन् । अकस्मात आँखा रातो हुने, चिलाउने, चिप्रा लाग्ने र कहिले काहीं वर्षैभरि रहिरहने यसका लक्षण हुन् ।

५. वाह्य वस्तुहरु श्याम्पू, क्लोरिन, कन्ट्याक्ट लेन्स जस्ता बाह्य वस्तु बाट पनि आँखा पाक्ने रोग हुन सक्छ ।

६. क्लामिडिया आँखा पकुवा  यो क्लामिडिया नामक ब्याक्टेरिया को संक्रमणबाट हुन सक्ने रोग हो जसलाई ट्राकोमा भनिन्छ र यसले अन्धो समेत बनाउन सक्छ ।

लक्षणहरु 

१. आँखा रातो तथा गुलाबी देखिनु, चिलाउनु र पानी बग्नु

२. एउटा मात्र वा दुवै आँखा प्रभावित हुनु

३. हल्का दुख्नु वा आँखा मा धुलो, कसिंगर परेजस्तो महसुस हुनु

४. आँखाबाट पहेंलो, सेतो वा हरियो रंगको पदार्थ बग्नु

५. निदाएर उठ्दा च्याप्च्याप् लाग्ने पदार्थले आँखाका परेला एकआपसमा टाँस्सिनु

६. प्रारम्भिक चरणमा देख्ने शक्तिमा खासै फरक नहुनु

जोखिमयुक्त अवस्था

यदि तपाईंले तलका लक्षणहरु पाउनुभयो भने त्यो जटिल आँखा पकुवा रोग हुन सक्छ र तत्कालै डाक्टरलाई देखाउनु पर्दछ

१. तिब्र आँखा दुखाई

२. दृष्टिमा कमी

३. उज्यालोमा हेर्न कठिनाई

४. आँखा वरिपरिको छाला मा चाला

५. आँखा रातो हुनु सँगै लिंग वा योनिबाट सेतो पदार्थको स्राव

६. चश्मा लगाउने मानिसमा आँखाको समस्या

७. नवजात शिशुका आँखा पाकेमा

८. आँखा पाकेको लक्षण मा सुधार हुँदै नगएमा

उपचारका विकल्पहरु

विरामीको इतिहास बुझेर तथा आँखाको जाँच गरेर फिजिसियनले आँखा पकुवा रोगको उपचार गर्न सक्छन् । कहिलेकाहीं थप जाँचहरु गर्नुपर्ने र आँखारोग विशेषज्ञ सँगै परामर्श लिनुपर्ने हुन्छ । धेरैजसो एलर्जी तथा भाइरल आँखा पाक्ने रोगहरु आँफै सञ्चो हुन्छन् तर अन्य कतिपय आँखा पाक्ने समस्याको समाधान उपचारबाट गर्नु पर्छ ।

१. ब्याक्टेरियल आँखा पकुवा : सामान्य छ भने आँफै ठीक हुन्छ । असामान्य छ भने आँखाका एन्टीबायोटिक मलम र झोलको प्रयोग गर्नु पर्छ । गोनोकोक्कल आँखा पकुवा (प्रौढ र नवजात शिशुमा) गम्भीर समस्या हो र यसलाई तत्कालै उपचार गर्नु पर्छ ।

२. भाइरल आँखा पकुवा : आँखाको लक्षण हेरेर चिप्लो पार्ने औषधि, डिकन्जेस्टेन्ट र एन्टीहिस्टामिन समूहका आँखा मा हाल्ने झोल औषधिको प्रयोग गरिन्छ । भाइरस विरोधी निश्चित औषधि छैनन् ।

३. एलर्जीका कारण हुने आँखा पकुवा : एन्टीएलर्जी समूहका आँखामा हाल्ने झोल (एन्टीहिस्टामिन, मास्ट सेल स्टाबिलाइजर) को प्रयोग गरेर र सम्भव भएसम्म एलर्जी गराउने कुराहरु बाट टाढा रहेर यस किसिमको आँखा पाकुवाको उपचार गरिन्छ ।

४. वाह्य वस्तुहरुका कारण हुने आँखा पकुवा : आँखा मा कन्ट्याक्ट लेन्स छ भने तेसलाई झिक्ने, श्याम्पू आदि को प्रयोग गर्दा आँखा लाई जोगाउने तथा आँखा लाई चिप्लो पार्ने किसिम को झोल औषधि को प्रयोग गर्ने गरिन्छ ।

रोकथाम वा बचावट 

१. भाइरल र ब्याक्टेरियल आँखा पकुवा सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरु प्रयोग नगर्ने । हात–मुख धुने जस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने ।

२. आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने ।

३. अत्यन्त वृद्ध वा साना शिशुसँग बढी सम्पर्कमा नरहने । किनकि तिनीहरुको रोग प्रतिरोधी क्षमता कम हुने हुँदा तिनीहरुमा चाँडो संक्रमण हुन सक्छ ।

४. एउटा आँखाबाट अर्को आँखा मा रोग नसरोस् भन्नका लागि संक्रमित आँखामा मात्र झोल औषधि को प्रयोग गर्ने र हात राम्ररी धुने ।

५. यदि स्वास्थ्य सँग तथा बालबच्चा सँग सम्बन्धित काम गर्नु पर्ने छ भने काम मा जानका लागि चिकित्सक सँग परामर्श गर्ने ।