आचार्य शङ्करको जन्मको वास्तविक तिथिमितिको बारेमा अनेक विवाद छन् । हरेक अवतारी पुरुषको जन्म र मृत्यु दुवै दिव्य मानिन्छ । त्यसैले सुरुमा शङ्करको जन्म मितिको बारेमा खासै खोजी भएन । पछि गरिएका अनुसन्धानहरुबाट उनको जन्म वि.सं. ७४३ (सन् ६८६) बैशाख शुक्ल तृतीयाको मध्यान्ह कालमा विशिष्टादेवीको गर्भबाट दक्षिण भारतमा भएको जानकारी प्राप्त हुन्छ ।

उनका पिता शिवगुरू नामपुद्रिको घरमा विवाहका धेरै वर्षसम्म जब कोही संतान भएनन् तब उनले आफ्नी पत्नी विशिष्टादेवीको साथ पुत्र प्राप्तिको कामनाले धेरै समयसम्म चंद्रमौली भगवान शंकरको कठोर आराधना गरे। अन्तमा प्रसन्न भएर भगवान शंकरले उनलाई सपनामा दर्शन दिए र भनें- ‘वर माँग।’

शिवगुरूले आफ्ना इष्टसित एउटा दीर्घायु सर्वज्ञ पुत्र माँगे। भगवान शंकरले भने- ‘बाबु, दीर्घायू पुत्र सर्वज्ञ हुँदैन र सर्वज्ञ पुत्र दीर्घायू हुँदैन। भन तिमी कस्तो पुत्र चाहन्छौ?’ तब धर्मप्राण शास्त्रसेवी शिवगुरूले सर्वज्ञ पुत्रको याचना गए। भगवान शिवले फेरि भने- ‘बाबु तिमीले सर्वज्ञ पुत्र पाउनेछौ।

म आफैं तिम्रो पुत्रको रूपमा तिम्रो घरमा अवतार लिनेछु।’ आठ वर्षमा संन्यास ग्रहण गरी व्यास परम्पराका आचार्य गौडपादको शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर हिन्दु धर्मका मूलतत्वको जानकारी दिंदै आधा एशिया भ्रमण गरेका आचार्यको मृत्यु ३२ वर्षको उमेरमा बदरीनाथ धाममा भएको मानिन्छ । मृत्यु अघि उनले भ्रमण गरेको महत्वपूर्ण तीर्थ नेपालको पशुपतिनाथ हो । त्यसैले पशुपतिनाथ हिन्दुहरुका लागि महत्वपूर्ण तीर्थस्थल रहीआएको छ ।

आचार्य शङ्करको वाणी

१. जसरी अन्धकारमा रसीमा सर्पको कल्पना गरिन्छ तथा सीपिलाई चांदीको टुक्रा बुझिन्छ त्यसै गरी अज्ञानीले देहलाई नै आत्मा बुझ्छन् ।

२. एकमेवाद्वितीय ब्रह्मको अनुभूतिबाट माया वा अविद्यालाई नष्ट गर्न सकिन्छ । यो ठीक त्यस्तो ज्ञान हो जस्तो रस्सीको ज्ञान भए पछि फेरि त्यसमा सर्प हुने भ्रम हराउंछ ।

३. जसरी घडा माटैमाटोले बनेको हुन्छ त्यसै गरी देह पूरै चेतना मात्र हो । अतः आत्म अनात्ममा अज्ञानी व्यर्थको भेद गर्दछन् ।

४. जसरी कमलपित्तका रोगीलाई केवल पहेंलो मात्र देखिन्छ, त्यसै गरी अज्ञानले गर्दा मानिस आत्मालाई देहरुप देख्छ । वस्तुतः तिमी परमात्मा हो तर यो अज्ञानको कारण नै तिमीले आफूलाई देहका बन्धनमा ग्रस्त पाउंछौ । र त्यहींबाट जन्म मरणको चक्र सुरु हुनजान्छ ।

५. माता, पिता, पुत्र, बन्धु अथवा अन्य कसैबाट मेरो त्राण छैन । मेरो मस्तकमा स्थित श्रीगुरुदेवका चरणकमलमा नै मेरो परम त्राण तथा कल्याण छ ।

६. यस संसारमा तीन कुरा अत्यन्त दुर्लभ छन् । र ती केवल ईश्वरका अनुकम्पाले मात्र प्राप्त हुनसक्छन् । ती हुन्– मनुष्य जन्म, मुक्तिको इच्छा र महापुरुषको शरण ।

७. मुक्तितर्फ अग्रसर गराउने साधनमा सर्वश्रेष्ठ स्थान केवल भक्ति हो । स्वस्वरुपको अनुसन्धानको नाम भक्ति हो।
हे माता, मलाई मुक्ति चाहिएन । धन–सम्पत्ति, सुख वा ज्ञान पनि चाहिदैन । मेरो केवल यही प्रर्थाना छ, जबसम्म शरीरमा प्राण रहन्छ मैले तिम्रो नाम लिइरहुं ।

फुर्सद भए यो पनि हेर्नुहोस 

आचार्य शङ्करको पशुपतिनाथ यात्रा 
आफ्ना शिष्यहरुका साथ बंगाल देशका विभिन्न मन्दिर र तीर्थस्थलहरु को दर्शन गर्न व्यस्त रहेका शङ्करलाई कुनै शिष्यले के खबर ल्यायो भने नेपालको पवित्र मन्दिर पशुपतिनाथको पूजा अर्चना गर्न त्यहांका मानिसहरु ले छोडे । बौद्ध प्रभावकाकारण हिन्दु देवताको पूर्णतया अवहेलना भइरहेको छ । विरुद्ध मतावलम्बीहरु ले रक्सी मासु इत्यादि अपवित्र वस्तुहरु मन्दिर भित्र फालेर मन्दिरलाई भ्रष्ट बनाइरहेका छन् । वर्णाश्रम धर्म त्यहां लोप भएको छ र ब्राह्मणहरु ले दयनीय जीवन बिताइ रहेका छन् । त्यहांका राजा पनि केही गर्न नसकी निष्क्रिय बसेका छन्। यस्ता कुराहरु सुनेर आचार्यका शिष्यहरु लाई पीर पर्यो । उनीहरुले आचार्यलाई नेपालमा जान अनुरोध गर्न थाले। सबैले बारम्बार अनुरोध गरे पछि यसलाई दैव इच्छा भन्ठानेर आचार्य नेपाल तर्फ प्रस्थान गरे । शंकराचार्य नेपाल आउंदा उनको उमेर २८–३० वर्ष थियो । सन् ७०३ मा उनी नेपाल आउंदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरुमा केही मतभेद पाइन्छ । किनभने आचार्य शङ्करलाई कुनै राजशक्तिको आधार थिएन अन्यथा उनको बारेमा तत्कालीन राजाका तर्फबाट इतिहासमा अवश्य अंकित गरिन्थ्यो । उनी जनमानसका आचार्य थिए र आज पनि जनजनमा उनको कामको गहिरो छाप परेको छ ।

शंकराचार्य नेपाल आएका छन् भन्ने समाचारले समस्त सनातन धर्मावलम्बीहरुको हृदयमा उत्साहको संचार भयो। आचार्यको दर्शन गर्न पशुपतिनाथ क्षेत्रमा मानिसहरु ओइरिन थाले । मन्दिरमा पूजा अर्चना को व्यवस्था लथालिंग देखेर आचार्यले आफ्ना शिष्यहरुलाई मन्दिरको सरसफाई गर्न भने । तत्काल एक स्तोत्र रचना गरी शिवको भजन गर्न थाले । सम्पूर्ण शिष्यहरुले पनि आचार्यका साथ पशुपतिनाथको पूजा अर्चना गर्न थाले । महादेवको जय ध्वनिले काठमाडौंका चारै दिशाहरु गुंजायमान हुन थाल्यो । पशुपतिनाथमा पुनः पूजा अर्चना हुन थाल्यो भन्ने सुनेर टाढा टाढाबाट मानिसहरु आएर मन्दिर दर्शन गर्न थाले । आचार्य आफैंले पशुपतिनाथ मन्दिरको प्रांगणमा बसेर सबैलाई धर्मोपदेश गर्दथे । आचार्यद्वारा गरिएको मधुर शास्त्र व्याख्या सुनेर श्रोताहरुको हृदय आनन्दले गद्गद् हुन्थ्यो । यसरी नेपालमा हिन्दु धर्ममा नवजागरण देखिन थाल्यो । आचार्यका शिष्यहरुले शहरमा घुमि घुमि धर्म उपदेश गर्न थाले । त्यहांका ब्राह्मणहरु लाई उनीहरुले नित्य नैमित्तिक कर्म– अग्निहोत्र, पंच देवताको पूजा र पंच महायज्ञको शिक्षा दिन थाले । साधारण जनताको अनुरोधमा वेद पारंगत ब्राह्मणहरु ले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । यस शुभ कर्मले राजा पनि विशेष उत्साही भए । राजाको खर्चले अनेक स्थानमा मन्दिर बनाइए । तिनीहरुमा देवदेवीहरुको मूर्ति स्थापना गरिए । आचार्यको विशेष इच्छा अनुरुप पशुपतिनाथ मन्दिरको जीर्णोद्धार गरियो तथा शास्त्र सम्मत पूजा अर्चनादि नियमित रुपमा गर्नकालागि विद्वान ब्राह्मण नियुक्त गरिए । जसको नेतृत्व दक्षिण भारतका विद्वान ब्राह्मण स्वामी सोमशेखर आनन्द ले गरेका थिए । केही दिन भित्रैमा नेपालमा वैदिक धर्म, सदाचार र वर्णाश्रम धर्मको पुनः प्रचार भयो । ठाउं ठाउंमा वेद र अन्य शास्त्रहरुको अध्ययनका लागि पाठशालाहरु बनाइए । आचार्यका गृहस्थ शिष्यहरुमध्ये अनेक ब्राह्मणहरुले अध्यापन गराउने भार वहन गर्न तयार भए । शंकराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि माधवाचार्य आएर शैव मतको पुनः परिपुष्टि गरे ।आचार्य शङ्करको नेपाल आगमन बारे इतिहासकाहरु एक मत छैनन् । प्राध्यापक गोपालनिधि तिवारीका अनुसार बलदेव उपाध्यायकृत श्रीशंकराचार्य पुस्तकमा आचार्य नेपाल आएको कुराको विस्तृत वर्णन पाइन्छ भने ज्ञानमणि नेपालद्वारा लिखित पशुपतिनाथ दर्शन, स्पर्शन र पूजन सम्बन्धमा समीक्षा भन्ने पुस्तकमा आदि शंकराचार्य नेपाल आएको प्रमाण नपाइएको कुरा उल्लेख छ [६] सिलभा“ लेभीले भने शंकराचार्य नाम गरेका संन्यासी दुइपटक नेपाल आएको उल्लेख गरेका छन् । आचार्य शङ्कर नेपाल आएको कुरा अंग्रेज इतिहासकाहरुले पनि उल्लेख गरेका छन् ।