हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ। केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो। बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या पनि देखिन सक्छ।

हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ। यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ। शरीरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ। हैजाको कीटाणु शरीरमा प्रवेस गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन्।

सन् २०१० को एक तथ्याङ्क अनुसार प्रत्येक वर्ष विश्वभर ३०-५० लाख मानिसहरू हैजाबाट प्रभावित हुन्छन् भने यसका कारण ५८ हजारदेखि १ लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ। हाल यसलाई विश्वभर फैलिएको रोगको रूपमा वर्गीकरण गरिएको भएपनि विकसित देशहरूमा हैजाका बिरामीहरू बिरलै भेटिन्छन् । यो रोगबाट प्रायजसो बालबालिकाहरू प्रभावित हुने गर्दछन्। हैजा महामारीको रूपमा अचानक देखिने तथा कुनै निश्चित स्थानमा लामो अवधिसम्म रहिरहने खालको पनि हुन्छ ।

लक्षण तथा चिह्नहरू

१. चौलानी जस्तै सेतो पखाला

२. पातलो पखाला लाग्नु तथा वान्ता हुनु हुन्।प्रायजसो यी लक्षणहरू शरीरमा ब्याक्टेरिया छिरेको आधा दिनदेखि पाँच दिनभित्र अचानक देखा पर्छन्। हैजाका कारणले हुने पखाला चौलानी जस्तै सेतो हुने हुनाले यसलाई अङ्ग्रेजीमा ‘राइस वाटर’ भनिन्छ।

यस्तो पखालाको माछाको गन्ध जस्तै हुन्छ।  उपचार नगरिएको बिरामीले दिनभरमा १० देखि २० लिटरसम्म पखाला गर्न सक्छ।यदि गम्भीर खालको हैजाको उपचार गरिएन भने यसले मानिसको मृत्यु नै हुने गरी जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ। उपचार नगरिएको कडा खालको हैजाले सङ्क्रमित मध्ये करीब आधा जति मानिसलाई मृत्युको मुखमा पुर्‍याउँछ।

३. हैजाको कारणले ज्वरो आउँदैन। यदि ज्वरो आइहाल्यो भने थप सङ्क्रमण भएको हुन सक्छ। बिरामीहरू अत्यन्तै कमजोर हुन्छन्।

४. आँखा गढ्ने, मुख सुक्ने, छाला चिसो र ओसिलो हुने, छालाको लचकतामा कमी आउने वा हातगोडा चाउरी पर्ने जस्ता लक्षणहरू पनि देखिन्छन्।

५. दिसामा बाइकार्बोनेट बाहिरिने हुनाले एसिडोसिस भएर लामोलामो सास फेर्ने तथा सास फेर्न गाह्रो हुने समस्या पनि देखा पर्न सक्छ।

६. जलवियोजनका कारण रक्तचाप घट्छ, नाडी छिटोछिटो चल्छ तर महशुस गर्न गाह्रो हुन्छ र समयसँगै पिसाबको मात्रा घट्दै जान्छ।

७. शरीरमा इलेक्ट्रोलाइटको अभाव तथा आयोन सिफ्टका कारण विशेष गरी बालबालिकाहरूमा मांसपेसी बाउँडिने तथा कमजोरी हुने, बेहोस हुने, सिजर वा कोमामा जाने जस्ता लक्षणहरू देखिन्छ।