रेबिज (अङ्ग्रेजी: Rabies) पशुबाट मानिसमा सर्ने रोग हो। चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू जस्तै :- स्याल, ब्वाँसो, फ्याउरोआदी जनावरहरूमा उत्पन्न हुन्छ; घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ। यो रोग प्रायश: कुकुरको टोकाइबाट मानिसमा सर्छ। यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई “पानीबाट डराउने रोग” वा हाइड्रोफोबिया पनि भनिन्छ।

रेबिज रोग लागेको कुकुरको चटाईबाट मात्र पनि यो रोग सर्न सक्छ।रोगी जनावरको र्‍यालद्वारा घाउमार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्दछ भनेर सन् १८०४मा एक जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए । त्यसको धेरैपछि मात्र लाईसा नामक भाइरसको सङ्क्रमणले गर्दा रेबिज हुन्छ र त्यो भाइरस स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा हुन्छ भनेर पत्ता लागेको हो ।

सर्ने तरिका
रेबिज रोग लागेको कुनै पनि जंगली जनारहरू सँगको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई सर्दछ। रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरूलाई सर्दछ। रेबिज रोग लागेको कुकुर तथा मान्छे बहुलाउने गर्दछ।

लक्षण
रेबिज रोग लागेको जनावरहरुमा देखिने मुख्य लक्षण भनेको उत्तेजना हो ।

१. गाई र भैंसी
धेरै चनाखो हुने, छट्पटीने, विना कारण कराउने, सिङ्गले भित्तामा ठोकी रहने, नउग्राउने, निल्न नसक्ने, र्याल काढी रहने, आँखा राता देखिने र अरु स्वास्थ पशु भन्दा भिन्नै लक्षणहरु देखाउने

२. कुकुर
रेबिज रोग लागेको कुकुरले पुच्छर टाँगमुनी लुकाएर हिँड्दछ। यस्तो कुकुरलाई अरु कुकुरहरूले देखेमा भुक्छन्। रोगी कुकुर पनि भुक्न खोज्छ तर सास सुकेको हुन्छ र भुक्दा सास आँउदैन। रेबिज रोग लागेको कुकुरले मुखबाट र्‍याल फाल्दै हिडेको देखिन्छ।

३. मानिस
रेबिज रोग लागेको मान्छे पानीवाट डराउँछ। रेबिज रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अरु मानिसहरूलाई चिथोर्ने, कोर्ने, जस्ता कामहरू गर्छ।लक्षणहरू रोगको तीन अवस्था अनुसार देखा पर्दछन् ।

  • पहिलो अवस्था- टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना-तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।
  • दोस्रो अवस्था- चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने, जोसँग / जे गर्दा पनि रिसाउने, पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।
  • तेस्रो अवस्था- र्‍याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हँुदै मृत्यु हुन्छ ।

उपचार विधि

१. रेबिज रोग लागिसकेपछि ज्यान बचाउन गाह्रो पर्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । त्यसैले यसको लक्षण देखिएलगत्तै उपचारमा लागिहाल्नुपर्दछ।

२. रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्नुपर्छ । त्यसपश्चात् जति सक्दो चाँडो अस्पताल पुर्‍याई रेबिजविरुद्धको खोप लगाउनुपर्दछ ।

कस्तो अवस्थामा पुग्छन् अस्पताल ?

रेबिजका बिरामी अस्पताल आउँदा झमझमाउने सास फेर्न गाह्रो हुने पानी र हावादेखि डराउने आत्तिने समस्या लिएर आउने गर्दछन् । यसको कारण भने कुकुरले टोकेको एक–दुई महिनापछि मात्र बिरामी अस्पताल पुग्ने गर्दछन् । त्यसअघि उनीहरूले टिटानसको खोप मात्र लगाएका हुन्छन् ।

टिटानसको खोपले मात्र रेबिजबाट जोगाउँदैन । कतिपयले त्यही खोप पनि लगाएका हुँदैनन् । नेपाल सरकारले रेबिजविरुद्धको खोप निःशुल्क गरेको छ । तर पनि धेरैलाई यसबारेसमेत जानकारी छैन । रेबिजजस्तो खतरनाक रोगलाई बेवास्ता गर्दा धेरैको ज्यान गएको छ ।

बच्न
१. घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने ।
२. भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने ।
३. स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने ।