स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ ।

स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ ।

छालाको क्यान्सरपछि अमेरिकामा महिलाको मृत्युको प्रमुख क्यान्सर कारक स्तन क्यान्सर नै हो । प्रतिवर्ष दुई लाखभन्दा धेरै अमेरिकि महिलालाई स्तन क्यान्सर हुन्छ भने प्रतिवर्ष ४० हजारले यस रोगका कारण मृत्युवरण गर्छन् । लगभग १७ लाख अमेरिकी महिलाहरू स्तन क्यान्सरले पीडित भइरहेका छन् ।

स्तनको स्वयं परीक्षण
स्तनको विकास युवावस्थामा प्रवेश गरेको प्रमुख लक्षण हो । प्रायःजसो किशोरीहरूमा महिनावारी हुनुपूर्व स्तनको वृद्धि सुरु हुन्छ । यौवनावस्थामा प्रत्येक केटीको स्तनमा नियमित रूपमा परविर्तन हुन्छ । जब स्तन बढ्दै जान्छ, स्तनभित्र एक प्रकारको गिर्खा महसुस हुन्छ । महिनावारीको समयमा स्तन बढी संवेदनशील, सुन्निने र दुख्ने गर्छन् । यो सामान्य अवस्था हो ।

युवावस्थामा आफैँले आफ्नो स्तन परीक्षण गर्ने बानी बसाल्ने हो भने पछि देखिने असामान्य परविर्तन सहजै थाहा पाउन सकिन्छ । यो परीक्षण कुनै लाजको विषय वा गर्न नहुने काम पटक्कै होइन । जसरी हामीले आफ्नो कपाल, अनुहार आदिलाई स्याहार गर्छौं, त्यसरी नै स्तनलाई पनि महिनाको एकपटक केही मिनेट समय दिएमा स्तन क्यान्सरको जोखिम पत्ता लगाउन सकिन्छ ।

आफ्नो स्तन आफैँ परीक्षण गर्ने सबैभन्दा उपयुक्त समय महिनावारी भएको एक सातापछि हो, जुन समयमा स्तनहरू दुख्ने तथा ठूला हुने हुन्छन् । नुहाउने समयमा वा नुहाएर ठूलो ऐनाअगाडि उभिएर परीक्षण गर्नु सबैभन्दा उपयुक्त हुन्छ । स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउने, भिडियो एक्स–रेबाट परीक्षण गराउने र मेमोग्रामबाट परीक्षण गर्ने अन्य विधि हुन् । आफ्नो स्तनको आफैँबाट परीक्षण गर्न सके समयमै रोग पहिचान हुने र अधिकांश निको हुने चिकित्सकको भनाइ छ ।

स्तन परीक्षण गर्ने विधि
१. ठूलो ऐनाअगाडि निर्वस्त्र उभिएर तपाईंको देब्रे हात उठाउनूस् अनि दाहिने हातले देब्रे स्तनको परीक्षण गर्नुस् ।

२. तपाईंको देब्रे हातका बीचका तीनवटा औँलाहरूको संवेदनशील भागले (ल्याप्चे लगाउने भाग, टुप्पो होइन) स्तनको वरपिरी गोलाकार रूपमा विस्तारै मालिस गर्दै (औँला नउचालीकन) टुप्पोतिर लाग्नूस् ।

३. स्तनमा अाैँलाले दबाएर विभिन्न किसिमका तन्तुहरू अनुभव गर्नुस् । पहिले विस्तारै दबाब दिएर छालालाई मात्र परीक्षण गर्नुस् अनि मध्यम दबाब दिएर बीचका तन्तुहरू महसुस गर्ने र अन्तमा जोडले दबाब दिएर करङसम्म औँला पुर्‍याई भित्री गिर्खा, दुखाइ वा असहजता खोजी गर्ने ।

४. पूरै स्तन, छाती, पाखुरामुनि, काखी, ब्युटी बोन र काँध वरपिर छाम्ने ।

५. यसप्रकार देव्रे स्तन परीक्षण गरेपछि यसै गरी दाहिने स्तनलाई देव्रे हातले परीक्षण गर्ने ।

६. स्तनलाई ठूलो ऐनामा हेर्ने । स्तनको आकार, रंग, चाउरीपना, मुन्टो आदि हेर्ने । त्यसपछि स्तनको मुन्टोलाई विस्तारै दबाएर त्यसबाट निस्कने तरल पदार्थ हेर्ने ।

स्तनको आकार, प्रकार, रंग, नयाँ गिर्खा, तरल पदार्थ आदिमा परविर्तन महसुस भएमा, बढी दुखेमा, निको नहुने घाउ भएमा, स्तनको मुन्टो स्तनतिर फर्किएमा, स्तनको छेउमा काखीमुनि गिर्खा महसुस भएमा चिकित्सकसँग परामर्श गर्ने ।

कारण तथा जोखिम तत्त्वहरू
स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे तापनि निम्नलिखित कारणहरूलाई जोखिम तत्त्व मानिएको छ :

१. महिला, विशेष गरी प्रौढावस्था ।
२. वंशाणुगत -आमा, दिदी, बहिनी, छोरी मध्ये कुनै एकमा भएमा ।
३. जेनेटिक कारण ।
४. १२ वर्षभन्दा पहिले महिनावारी भएका र ५५ वर्षपछि रजोनिवृत्ति भएका महिला ।
५. नियमित मदिरा सेवन गर्ने महिला ।
६. गर्भ नतुहिने औषधी (डीईएस) सेवन गरेका महिला ।
७. लामो समयसम्म परविार नियोजनका लागि हार्मोनल पिल्स वा सुई प्रयोग गरेका महिला ।
८. रजोनिवृत्तिका पाश्र्वप्रभाव घटाउन हार्मोन रप्िलेसमेन्ट थेरापी लिएका महिला ।
९. मोटोपना -मोटो महिलामा एस्ट्रोजन हार्मोन बढी उत्पादन हुन्छ । जुन स्तन क्यान्सरको कारक तत्त्व हुनसक्छ । )
१०. कहिल्यै गर्भवती नभएका वा ३० वर्षपछि बच्चा जन्माएका महिला ।
११. विकिरण : बच्चा वा युवावस्थामा छातीको क्यान्सर वा अन्य रोगका लागि विकिरण उपचार गरेका महिला ।
१२. स्तन कोषको असामान्य वृद्धि भएमा ।
१३. निष्त्रिय जीवनशैली तथा बढी चिल्लो खाने महिला ।

लक्षणहरू
स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् । क्यान्सर बढ्दै गएपछि निम्नलिखित लक्षणहरू देखा पर्छन्

१. स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
२. स्तन वा स्तनको मुन्टोको आकार-प्रकार परविर्तन हुनु । जस्तै- रातोपना, चाउरएिजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर ३. फर्किएको, मुन्टो वरपिरकिो छालामा कत्ला निस्केको वा सुन्निएको ।
४. स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै- रातो, सफा वा पहेँलो, हरयिो अथवा पीपजस्तो आउनु ।
५. स्तनको मुन्टो दुख्नु ।
६. स्तनमा निको नहुने घाउ हुनु ।
७. गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु ।
८. सबै गिर्खाहरू क्यान्सर होइनन् । दसमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् ।

उपचार तथा निदान
स्तन क्यान्सर लागेपछि यसको उपचार प्रविधि जटिल हुन्छ । यद्यपी क्यान्सर कोषिकाहरू मार्न, ट्युमरलाई चाउरी पार्न र अन्य उपचारले निको नभए वा शरीरको अन्य भागमा फैलिएमा केमोथेरापी विधिद्वारा यसको उपचार गरिन्छ । क्यान्सर उत्पादनमा सहयोगी हार्मोनहरूलाई निस्तेज गर्न हार्मोन थेरापी गरिन्छ । यसबाट पनि निको नभएमा वा क्यान्सर अन्यत्र फैलिने किसिमको भएमा अप्रेसन गरि क्यान्सरका तन्तुहरू, गिर्खा, सम्पूर्ण स्तन वा लिम्फ ग्रन्थिलाई काटेर हटाइन्छ ।

स्थानीय उपचारजस्तै विकिरण र शल्यक्रियाबाट रोगग्रस्त भागको वरपिर उपचार गरिन्छ भने केमोथेरापीले सम्पूर्ण शरीरमा उपचार गर्छ । प्रायः महिलालाई मिश्रति उपचार प्रभावकारी हुन्छ । प्रथम, द्वितीय, तृतीय अवस्थाको स्तन क्यान्सरको उपचारको लक्ष्य भनेको क्यान्सर निको पार्ने र दोहोरनि नदिनुनै हो । चौथो अवस्थाको क्यान्सर उपचारको लक्ष्य लाक्षणिक उपचार र आयु लम्बाउने खालको हुन्छ । अधिकांश बिरामीमा चौथो अवस्थाको स्तन क्यान्सर निको हुँदैन । अक्युपञ्चर, मसाज, हर्वलथेरापी, भिटामिन, ध्यान, योग आदिबाट दुखाइ र कमजोरी हटाउने तथा मनोवैज्ञानिक लाभ प्रदान गर्न सकिन्छ ।

वंशाणुगत वा जेनेटिक कारणलाई नियन्त्रण गर्न नसकिएपनि सन्तुलित आहारबिहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ । सकभर विकिरणबाट बच्ने, नियमित व्यायाम गर्ने, चिल्लोयुक्त खाना कम खाने, धुम्रपान तथा मद्यपान नगर्ने आदिबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ । स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्तन क्यान्सरको विकासक्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने हो ।