पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो। ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ।

महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ। जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ। डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो।

४० वर्षभन्दा कम उमेरका महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ। ५० वर्ष उमेरमाथिका महिलाहरू अर्थात् रजोनिवृत्ति भएका महिलाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ र पाठेघरको क्यान्सर भएका महिलाहरूमध्ये ४० वर्षभन्दा बढी उमेरका महिलाहरू ९५ प्रतिशत हुन्छन्। महिनावारी बन्द भएपछि असामान्य रक्तश्राव भएमा पाठेघरको क्यान्सर लगभग सुनिश्चित हुन्छ।

पाठेघरको क्यान्सरको यकिन कारण हालसम्म पत्ता लागेको छैन, त्यसकारण रोकथाम कठिन छ। हामीलाई थाहा भएका सम्भावित कारणहरू र हानिकारक तत्त्वहरू त्यागेर रोकथामको प्रयास गर्ने हो। संक्रमणको समयमै उपचार, सन्तुलित आहारविहार, सुरक्ष्ाित यौन अभ्यास, धुम्रपान त्याग, नियमित रूपमा योनिश्रावको परीक्षण, शारीरकि अभ्यास, लाक्षणिक उपचार, मनोवैज्ञानिक सहयोग, क्यान्सरका बारेमा जनचेतना विस्तारजस्ता उपायहरूले रोग प्रतिरोधात्मक शक्ति तथा मनोबल वृद्धि हुन्छ।

समयमै उपचार गरेमा पाठेघरको क्यान्सरबाट ८४ प्रतिशत बाँच्ने सम्भावना हुन्छ। पाठेघरको पूर्णरूपमा क्यान्सर भइसकेपछि ८३ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्छन् भने सुरुको अवस्थामा निदान भएका ९६ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्ने सम्भावना हुन्छ। हाम्रोजस्तो अविकसित, स्वास्थ्य चेतना एवं सेवा केन्द्रीकृत भएको मुलुकमा कमसेकम प्रत्येक अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड र योनिश्रावको जाँच गर्ने न्यूनतम व्यवस्था भएमा पाठेघरको क्यान्सरको समयमै निदान भएर महिलाको मृत्युदर घट्ने सुनिश्चित छ।

सामान्य लक्षणहरू
९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ। महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ। त्यस्तै महिनामा दुई-तीनपटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि।

१. रजोनिवृत्ति भइसकेपछि रक्तश्राव हुनु।

२. यौन सम्पर्कको समयमा बढी पीडा हुनु।

३. तल्लो पेट दुख्ने, सुन्निने तथा हावा भरिएजस्तो हुनु।

४. मूत्रत्यागपछि मूत्राशयमा पीडा र गाह्रो अनुभव हुनु।

५. शारीरकि तौल अस्वाभाविक रूपमा घट्नु वा बढ्नु।

६. लामो समय रक्तश्रावका कारण रक्तअल्पता हुनु।

पाठेघरको क्यान्सरको अवस्था
# पहिलो अवस्था  क्यान्सर पाठेघरमा मात्र हुन्छ, पाठेघरको द्वारमा हुँदैन।

# दोस्रो अवस्था  पाठेघरबाट क्यान्सर पाठेघरको मुख तथा द्वारसम्म फैलिन्छ।

# तेस्रो अवस्था  क्यान्सर पाठेघरबाट बाहिर फैलिन्छ तर तल्लो पेटका अंगहरूमा मात्र सीमित हुन्छ।

# चौथो अवस्था  क्यान्सर तल्लो पेटबाहेक अन्यत्र जस्तैः पिसाब थैली, आन्द्रा, कलेजो, फोक्सो, हड्डी ग्रन्थिहरू र अरू अंगहरूमा पनि फैलिन्छ।

कारण/कारक तत्त्वहरू
वैज्ञानिकहरूले पाठेघरको क्यान्सरको ठोस कारण पत्ता लगाउन नसके पनि हालसम्मको अनुसन्धानबाट निम्नलिखित कारक तत्त्वहरू प्रमाणित गरेका छन्

१. लामो समयसम्म एक्ट्रोजेन हर्मोन मात्र सेवन गर्ने महिलाहरूमा।

२. मोटोपना  शरीरमा भएको अत्यधिक बोसोले अन्य महिलाको तुलनामा ३ देखि १० गुणा हर्मोनको उत्पादन हुन्छ।

३. पारविारकि इतिहास  आमा, दिदी, बहिनी तथा छोरीलाई क्यान्सर भएमा।

४. कहिल्यै गर्भवती नभएका महिला तथा ३५ वर्षपछि गर्भवती भएका महिलाहरूमा।

५. महिनावारी १२ वर्ष पहिले सुरु भएका र रजोनिवृत्ति ५५ वर्षपछि भएका महिलाहरूमा।

६. स्तन, डिम्बाशय वा आन्द्राको क्यान्सर भएका महिलाहरूमा।

७. स्तन क्यान्सरको उपचारका लागि लामो समयसम्म टामोक्सिफेन औषधी प्रयोग गररिहेका महिलाहरूमा।

८. पाठेघरको भित्री तह असामान्य रूपमा वृद्धि भएमा।

९. मधुमेह तथा उच्च रक्तचाप भएमा।

१०. तल्लो पेटमा बारम्बार विकिरण -एक्स रे औषधी)को प्रयोग भएमा।

११. धेरै धुम्रपान गर्ने महिलाहरूमा।

१२. ह्युमन पापिलोमा भाइरस, एचआईभी/एड्स वा अन्य निरन्तर संक्रमण भइरहेमा।

१३. पाठेघरमा लामो समयसम्म ट्युमर फाइब्राइड आदि भएमा।

१४. एस्ट्रोन प्रतिस्थापन उपचार निरन्तर गरेमा।

रोकथाम

  • नियमित स्वास्थ्य परीक्षण गर्ने।
  • तौल घटाउने।
  • सन्तुलित आहारको सेवन गर्ने।
  • कम चिल्लो र बढी रेसायुक्त खाना खाने।
  • धुम्रपान नगर्ने।
  • नियमित व्यायाम गर्ने।
  • तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने
  • स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने।
  • अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नपुर्‍याउने।
  • चिकित्सकको सल्लाह अनुरूप पाठेघरको शल्यक्रिया गरी हटाउने।