कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो |यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ। रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ। बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ।

यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन्। यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ। त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ। कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ।

४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ। मासु, दूधबाट बनेका पदार्थहरू र अण्डाको पँहेलो भाग यसका प्रमुख स्रोतहरू हुन्। नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ। यसको मात्रा घटाउने केही औषधि पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ।

कोलेस्टेरोलको मात्रा बढ्न नदिन अपनाउनुपर्ने केही उपाय यस्ता छन्

१. कोलेस्टेरोलको समस्या भएकाहरूले तेल र तेलजन्य पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । प्रतिदिन तीन चम्चाभन्दा बढी तेल भरिसक्के खानु हुँदैन ।

२. भान्छामा प्रयोग गर्ने तेल बदलिरहनुपर्छ । एकपटक ल्याएको तोरीको तेल सकिएपछि सूर्यमुखी, जैतुन, तिल, नरिवल तेल आदि ल्याउनुपर्छ । नियमित एउटै तेल खानु हुँदैन । यसरी तेल बदलेर खाने गर्नाले शरीरलाई उपयोगी हुने खालका सबै खाले फ्याट प्राप्त हुन्छन्, जुन कोलेस्टेरोलको बिरामीका लागि उपयोगी हुन्छन् ।

३. कोलेस्टेरोलको मात्रा सन्तुलनमा अमला खाने गर्नुपर्छ ।

४. चुकन्दर खानाले पनि रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलनमा रहन्छ ।

५. हरियो सागसब्जी, कोसे तरकारी, केराउ, सूर्यमुखीको दाना, आलसजस्ता खानामा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा कोलेस्टेरोलको मात्रालाई नियन्त्रित र सन्तुलित अवस्थामा राख्छ ।

६. मेथी, लसुन, प्याज, बेसार, हाडेबदाम, सोयाबिन आदि खाने गर्नाले पनि कोलेस्टेरोल नियन्त्रित अवस्थामा रहन्छ ।

७. कोलेस्टेरोल बढेमा कलेजोमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले कोलेस्टेरोल बढ्ने समस्या भएकाहरूले एलोभेरा, अमला र तरकारीको जुस मिसाएर खाने गर्नाले कोलेस्टेरोलका कारण कलेजोमा जम्मा भएको विकार शरीरबाहिर निकास हुन्छ ।

८. कोलेस्टेरोलको समस्या भएकाहरूले काँचो नरिवलको पानी पिउने गर्नु रामो हुन्छ ।

९. कोलेस्टेरोल हुनेले उसिनेको खाना खान जोड दिनुपर्छ । घिउ, बटर आदि खानु हुँदैन । बिस्कुट, कुकिजजस्ता खाद्य पनि कम खानुपर्छ । साथै, जंक फुठ पनि कम खानुपर्छ ।

१०. फलफुल र सागसब्जि बढी खाने

११. नियमित शारीरिक व्यायाम गर्ने

१२. तौल घटाउने

१३. चुरोट र मदिरा छाड्ने