के हो दादुरा ?
यो अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो रोगले सामान्यत: बालबालिकालाई बढी प्रभावित गर्छ ।

डब्लूएचओका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधक क्षमता कमभएकालाई बढीहुने गर्छ ।

उच्च कुपोषण र पर्याप्त स्वास्थ्य स्याहारको कमी भएको जनसंख्यामा दादुरा मृत्युको १० प्रतिशतसम्म कारक हुन सक्छ ।

गर्भावस्थामा दादुराबाट संक्रमित भएका महिलाहरू यसका कारण समयपूर्व प्रसूति, गर्भपतनजस्ता जोखिममा हुन्छन् । दादुराको संक्रमण भएर निको भएका व्यक्तिहरूलाई बाँकी जीवनभर योसंक्रमणले दोहोर्‍याएर छुँदैन । अर्थात्,उनीहरू दादुराप्रतिरोधी हुन्छन् ।

दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ । यो रोग खोक्दा वा हाच्छिउँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कण (ड्रपलेट) ले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने गर्छन् ।

दादुरा रोगीसँगको प्रत्यक्ष सम्पर्क वा हावाका माध्यमले फैलिन्छ । रोग प्रभावित व्यक्तिको नजिक भइरहने वा खकार/थुक/सिँगानको प्रत्यक्ष सम्पर्कमा आउनेहरूलाई यो संक्रमण हुन सक्छ । दादुराको भाइरसले सास नलीलाईसंक्रमित गर्छ । यसपछि सम्पूर्ण शरीरमा फैलिन्छ ।

लक्षणहरू
दादुरा रोगको पहिलो लक्ष्यण उच्च ज्वरो आउनु हो । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग (Koplick spot) देखापर्दछन् ।

केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा (Rash) देखापर्दछन् । यी विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी विमिरा ५, ६ दिन सम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया यो रोगको जिवाणु शरीरमा प्रवेश गरीसकेपछि यसको लक्षण देखिन १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्दछ ।

दादुरा कसरी सर्दछ
दादुरा रोग रोगीको नाक तथा घाँटी बाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा यसका विषाणु हावामा फैलिन्छन् र यो रोग सर्ने गर्दछ । ड्ड दादुरा रोगको लक्षण देखिनु भन्दा अगाडि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म यो रोगको रोगीले दादुराका विषाणु सार्दछ । यो रोग बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्न सक्दछ, जस्तै: विद्यालय, अस्पताल आदि ।

दादुरा रोगका जटीलताहरू
१. खोप नपाएका ५ वर्षमुनिका बालबालिकाहरू, विशेषगरी १ वर्षमुनिका शिशुहरू दादुराको जटिलताको जोखिममा पर्नुका साथै मृत्यु समेत हुनसक्छ् । दादुराबाट संक्रमित शिशुहरूमा कडाखालको झाडा लागेर जल वियोजन हुन जान्छ । बालबालिकाहरूमा कान पाक्ने (Otitis Media) तथा कडा खालको श्वास प्रश्वासको संक्रमण (निमोनिया) हुन जान्छ ।

२. दादुरा रोग लागेर मृत्यु हुने कारण धेरै जसो निमोनिया हो । दादुराको विषाणुले प्रतिरोधात्मक क्षमतालाई कमजोर पारिदिने भएकोले यस्तो भएको हो । निमोनिया दादुराको विषाणुले वा अन्य जिवाणुको संक्रमणबाट हुने गर्दछ । दादुराको कारणबाट कहिले काँहि मस्तिष्कमा कडा खालको सुजन (inflammation) भई मस्तिष्क ज्वरो (encephalitis) पनि आउन सक्दछ ।

३. कडाखालको दादुरा रोग विशेषगरी कुपोषित, चाहिने मात्रामा भिटामिन ए नपाएका, HIV/ AIDS र अन्य रोगका कारणबाट प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै जना परिवार संख्या भएका ठाउँमा हुर्केका बालबालिकालाई लाग्दछ । अफ्रिका महादेश तथा बर्षैभरि दादुरा देखिने विश्वका अन्य मुलुकमा अन्धोपनको मुख्य कारण नै दादुरा रोग हो । एकपटक दादुरा रोग लागिसकेपछि निको भएका बालबालिकाहरूलाई जीवनभर दादुरा रोग विरुद्धको प्रतिरोधात्मक क्षमता विकास हुन्छ ।

दादुरा रोगको उपचार
१. दादुरा रोग लागेका बालबालिकाहरूलाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक (antibiotics) औषधी दिनुपर्दछ । बिरामीलाई खान र झोलिलो पदार्थ पिउन प्रोत्साहित गर्नुपर्दछ ।

२. विकासोन्मुख मुलुकहरूमा दादुरा रोगको निदान भइसकेका बालबालिकाहरूलाई २४ घण्टाको फरकमा २ मात्रा पूरक भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । पूरक भिटामिन ए ले दादुरा रोगबाट मृत्यु हुने संख्यालाई ५० प्रतिशतले घटाउनुका साथै आँखा विग्रन र अन्धोपन हुनबाट बचाउँछ ।

२. दादुरा रोग विरुद्ध लगाइने खोपले दादुरा रोगबाट बचाउन सकिन्छ । दादुरा रोग अतिसंक्रमित रोग भएकोले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबलिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन् । अस्पतालमा दादुरा रोग सर्ने खतरालाई न्यूनीकरण गर्न अस्पतालमा भर्ना भएका तथा दादुरा विरुद्ध खोप नलिएका लक्षित समुहका बालबालिकाहरूलाई दादुरा रोग विरुद्ध खोप दिनुपर्दछ । त्यस्ता बालबालिकाहरूका बाबु–आमालाई आफ्ना बाल बालिकाहरूले खोप पाएको थाहा नभएमा पनि दादुरा विरुद्ध खोप दिनुपर्दछ ।