मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस (अमेरिकामा) भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ। मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ। रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ।

लक्षणहरु

उपचार नगरिएका मधुमेहका रोगीहरूमा साधारणतया तौल घट्ने, धेरै पटक पिसाब लाग्ने (पोलियुरिया), धेरै तिर्खा लाग्ने (पोलिडिप्सिया) तथा धेरै भोक लाग्ने (पोलिफेइजिया) जस्ता लक्षणहरू देखिन्छन्।

मधुमेहका विशेष लक्षण नभए पनि केही अन्य लक्षणहरूले पनि यो रोग लागेको जनाउ दिन सक्छन्। आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, काटेका घाऊहरू ढिलो निको हुने र छाला चिलाउने आदि यसका थप लक्षणहरू हुन्।

यदि रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी भएमा आँखाको लेन्समा पनि ग्लुकोज जम्मा भएर यसको आकार बढ्न जान्छ र आँखाको दृष्टि परिवर्तन हुन्छ। मधुमेह लागेको बेलामा शरीरका केही विशेष भागमा खटिराहरू देखिन सक्छन्। यस्ता खटिराहरूलाई अङ्ग्रेजीमा डाइबिटिक डर्माड्रोम्स भनेर चिनिन्छ।

के नखाने ?
१. चिनीरोगीले कहिल्यै पनि रिफाइन गरेको चामलको भात खानु हुँदैन । किनभने, रिफाइन राइसबाट शरीरले सजिलै र छिटो कार्बोहाइड्रेड ग्रहण गर्छ । जसले गर्दा छोटो समयमै रगतमा चिनीको मात्रा बढिहाल्छ ।

२. चिनीरोगीले आलु पनि खानु हुँदैन या कम गर्नुपर्छ । आलुमा पनि बढी मात्रामा कार्बोहाइड्रेड हुने भएकाले यसले शरीरमा चिनीको मात्रालाई बढाउने काम गर्छ ।

३. कतिपयलाई लाग्न सक्छ पाउरोटी अर्थात् ह्वाइट ब्रेडले चिनीरोगीलाई कुनै असर पार्दैन । तर, यो पनि चिनीरोगीका लागि विष साबित हुन सक्छ । जुनसुकै रिफाइन प्रडक्टले शरीरमा चिनीको मात्रालाई बढाउने काम गर्छ ।

४. चिनीरोगीले कहिल्यै पनि कोल्डड्रिंक्सको प्रयोग गर्न हुँदैन । त्यस्ता पेय पदार्थमा चिनीको मात्रा अत्यधिक हुन्छ ।

५. प्रोसेस मिटबाट बनेका कुनै पनि खाद्यपदार्थको प्रयोग गर्नु हुँदैन, जस्तै– ससेज, बर्गर अदि । किनभने, त्यस्ता खाद्यपदार्थमा बढी चिल्लो पदार्थ हुन्छ । चिनीरोगीले बढी चिल्लो पदार्थको पनि प्रयोग गर्नु हुँदैन । किनभने, यसले मिर्गौला र मुटुसम्बन्धी रोगको सम्भावना अत्यधिक हुन्छ ।

के खाने ?

१. चिनीरोगीले रिफाइन राइसको सट्टामा ब्राउन राइस खानु उपयुक्त हुन्छ । किनकि, यस्तो राइसमा फाइबर बढी हुन्छ । खानापछि शरीरले बिस्तारै कार्बोहाइड्रेड ग्रहण गर्छ र रगतमा ग्लुकोजको मात्रा पनि बिस्तारै बढ्छ ।

२. आलुको सट्टामा स्विट पोटाटोको प्रयोग गर्न सक्नुहुन्छ । किनकि, यसमा चिनीको मात्रा अत्यधिक कम हुन्छ । यस्तो आलुलाई सखरखण्ड भनिन्छ । यसबाट साधारण आलुभन्दा बढी मात्रामा पौष्टिक तत्व पाइन्छ ।

३. पाउरोटी अर्थात् ह्वाइट ब्रेडको सट्टामा ‘होल विथ ब्रेड’ खान सकिन्छ । किनभने, यस्तो ब्रेड रिफाइन नगरिएको आँटाले बनाइएको हुन्छ । चिनीरोगीले मैदाबाट बनेको खाद्यपदार्थ खानु हुँदैन ।
४. कोल्डड्रिंक्स र जुसको सट्टामा हामीले फलफूल नै खानुपर्छ । तर, फलफूलको पनि अत्यधिक प्रयोग भने गर्नु हुँदैन ।

५. हामीले आँटा, फापर, कोदो, मकैको रोटी खान सकिन्छ । यसबाट बनेका जुनसुकै खाद्यपदार्थको प्रयोग गर्दा हुन्छ ।

६. कतिपय चिनीरोगीले कर्नफ्लेक्सको प्रयोग गर्छन् । यसो गर्नु हुँदैन । बरु रिफाइन नगरिएको मकैबाट बनेको खाद्यपदार्थ प्रयोग गर्नु उत्तम हुन्छ ।

७. चिनीको सट्टामा सुगर–फ्री प्रयोग गर्न सकिन्छ, जसलाई क्याकारिन, इन्टेभिया भनिन्छ । यसलाई चिया, हटलेमन वा अन्य खाद्यपदार्थमा प्रयोग गर्न सकिन्छ । यसमा चिनीको मात्रा हुँदैन तर गुलियो स्वाद भने आउँछ ।

८. चिनीरोगीले जति बढी सलाद आइटम खान सक्यो त्यति फाइदाजनक हुन्छ, जस्तै– मुला, गाँजर, साग, काँक्रा आदि |