हेपाटाइटिस भाइरस द्वारा हुने सरुवा रोग हो।यस रोगले मानिसको कलेजोमा असर गर्दछ।अन्य मौसम भन्दा बर्षातको समयमा बढी देखा पर्दछ।यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने संभावना हुन्छ । यसलाई एड्स भन्दा पनि खतरनाक मानिन्छ ।

हेपाटाइटिस बाट मर्नेको संख्या एड्स बाट मर्नेको संख्या भन्दा १०गुणा बढी हुन्छ । मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रुपमा हेपाटाइटिस भाइरस ए.बी, सी, डी र ई पर्दछन् ।

संसारमा १४ लाख व्यक्तिलाई प्रत्येक वर्ष हेपाटाइटिस ‘ए’ ले आक्रमण गर्दछ भने २ करोड हेपाटाइटिस ‘बी’ को शिकार भएको पाइन्छ । हेपाटाइटिस ‘सी’ ले भने १५ करोडलाई आक्रमण गरिसकेको छ । प्रत्येक वर्ष करिब १० लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ ।

# हेपाटाइटिस ए र ई

दिसाको माध्यमबाट सर्ने यस रोगले विद्यालय जाने बालबालिका, जवान, वृद्धवृद्धा सबैलाई आक्रमण गरेको पाइन्छ । यी दुई महामारीमूलक हेपाटाइटिस गर्मी मौसममा बढी देखिन्छन् । ढलनलको उचित प्रबन्ध नहुनु, शुद्ध खानेपानीको अभाव, अशुद्ध खाना, स्वास्थ्य चेतनाको अभाव आदि यसका प्रमुख कारण हुन् ।

शरीरमा हेपाटाइटिस ए विषाणु प्रवेश गरेको २–४ हप्तामा र हेपाटाइटिस ई विषाणु प्रवेश गरेको २–८ हप्तामा जन्डिसलगायतका लक्षण तथा चिह्नहरुदेखिन थाल्दछ । सरसफाइ राम्रो नभएको विकासोन्मुख देशका ९० प्रतिशत बालबालिका दश वर्षको उमेर नपुग्दै संक्रमित भएको पाइन्छ ।

लक्षणहरु
पहिलो अवस्था: (१ देखि २ हप्ता) खानामा रुचि घट्दै जानु, वाकवाकी लाग्न थाल्नु, ज्वरो आउनु, दिसा तारन्तार हुनु,पेटको दायाँ कोखा दुख्नु आदि पर्दछन् ।

दोस्रो अवस्थाः पहिलो अवस्था देखिएको एक हप्तापछि यो अवस्था देखिएको पाइन्छ ।यसका प्रमुख लक्षणमा दिसा तथा पिसाबमा पहेंलोपना, आँखा, नङ, मुख र शरीरमा क्रमशः पहेंलोपना बढ्दै जान्छ ।

तेस्रो अवस्थाः दोस्रो अवस्थाका लक्षणहरु हराएर जान्छन्, बिरामी कमजोर हुन्छ तर सन्चो महसुस गर्दछ ।

उपचार
बिरामीले प्रशस्त झोल तथा सफा र ताजा खानेकुरा खानुपर्छ, बिरामीलाई आराम अत्यन्तै आवश्यक हुन्छ, जथाभावी जडीबुटी तथा एलोपेथीका औषधिले ज्यान जानसक्छ किनकि कमजोर कलेजो थप कमजोर भई काम गर्न नसक्ने हुन सक्दछ ।

तपार्इंहरुलाई यो अवगत नै छ कि हामीले प्रयोग गर्ने प्रायः औषधिहरु कलोजोको माध्यमबाट पच्ने हुन्छ । व्यक्तिगत शुद्धता र सरसफाइ विशेष गरी खाना खानुअघि र खाना खाएपछि साबुनपानीले राम्ररी हात धुनुपर्दछ । उमालेर र जीवाणुनाशक औषधि प्रयोग गरेर पानी खानुपर्दछ ।

राम्ररी पकाएको खानेकुरा खानुपर्दछ । बिरामीले प्रयोग गरेका कपडाहरु राम्ररी घाममा सुकाएरमात्र प्रयोग गर्नुपर्दछ । सबैले चर्पीमा दिसापिसाब गर्ने बानी बसाल्ने र बालबच्चाको दिसा पनि चर्पीमा विसर्जन गर्ने गर्नुपर्दछ । घरवरिपरिको ढल निकासलाई व्यवस्थित पार्दै जानुपर्दछ ।

बिरामी शिथिल हुँदै गएमा तुरुन्त स्वास्थ्य संस्थामा लानुपर्दछ । गाउँघरमा जन्डिस झार्ने भनेर टाउकोमा काँसको बटुका राखी अण्डा घोलेर मन्त्र पढेजस्तो गर्ने अनि घोलिएको अण्डा देखाएर जन्डिस झर्यो भन्ने कुसँस्कार एकदमै गलत हो ।

# हेपाटाइटिस बी

हेपाटाइटिस बी भाइरसले कलेजोमा संक्रमण गर्दछ । संसारभर करिब २ करोड जनसंख्यालाई यसले आक्रमण गरिसकेको छ भने यसका विभिन्न असरबाट प्रत्येक वर्ष ६ लाखले ज्यान गुमाइरहेको विकराल अवस्था छ ।

एउटा मननयोग्य कुरा के छ भने एचआईभीभन्दा ५० देखि सय गुणा बढी खतरनाक यो भाइरसको संक्रमण सुरक्षित व्यवहार, सचेतना र भ्याक्सीनबाट रोक्न सकिन्छ ।

संक्रमित व्यक्तिको रगत तथा रगतजन्य पदार्थ ग्रहण गर्दा, असुरक्षित यौन सम्पर्कको माध्यमबाट अङ्गग प्रत्यारोपण गर्दा, आमाबाट बच्चा जन्मँदा, लागूऔषधको लागि सुईको असुरक्षित प्रयोग आदिबाट यो सर्दछ । स्वास्थ्यकर्मीहरु जस्तैः सर्जन, ल्याबमा काम गर्ने व्यक्तिहरु उच्च जोखिममा पर्दछन् ।

खाना तथा पानीको माध्यमबाट हेपाटाइटिस बी सरेको पाइएको छैन । शरीरमा विषाणु पसेको करिब ३० देखि १ सय ८० दिनमा यसले लक्षण तथा चिह्नहरु देखाउन थाल्दछ ।

लक्षण
प्रायः व्यक्तिमा पहिलो चरणमा कुनै लक्षण तथा चिह्नहरु देखिँदैन । कसै–कसैले जन्डिस, वाकवाकी लाग्ने, खाना मन नलाग्ने, पेट दुख्ने, उल्टी गर्ने आदि लक्षणहरु देखाउँछन् तर केही व्यक्तिमा भने दीर्घ रुपमा कलेजोको संक्रमण भई कलेजोको सिरोशिस तथा क्यान्सर हुन्छ ।

मुख्यतः ९० प्रतिशत दीर्घ संक्रमण चाहिँ नवजात शिशुमा देखिएको छ । हेपाटाइटिस बी बाट संक्रमित ९० प्रतिशत स्वस्थ्य जवान व्यक्ति छ महिनामा आपैंm निको हुन्छ ।

उपचार
हेपाटाइटिस बी को उपचार यही हो भनेर भन्न नसकिए पनि पौष्टिक खानपान, झोलिलो खानेकुरा र स्वस्थ्यकर आनीबानी अपनाउनुपर्दछ । हेपाटाइटिस बी बाट संक्रमित दीर्घरोगीहरुलाई इन्टरफेरोन, एन्टीभाइरल औषधिहरु प्रयोग गरिन्छ ।

अल्पविकसित देशहरुमा यो रोग पत्ता लाग्दा कलेजोको क्यान्सर भइसकेको पाइन्छ, जसले गर्दा रोग पहिचान गरेको केही महिनामै बिरामीको मृत्यु हुने गर्दछ । विकसित देशहरुमा अप्रेशन तथा केमोथेरापीबाट केही वर्ष बढी बाँच्न सक्ने उपचारहरु गरिन्छ । कहिलेकाहीँ कलेजो प्रत्यारोपणबाट नयाँ जीवन प्राप्त गर्न पनि सकिन्छ ।

# हेपाटाइटिस सी

झन्डै–झन्डै हेपाटाइटिस बी को जस्तै अवस्था देखाउँदछ । यो संक्रमण सामान्यभन्दा अत्यन्तै खतरनाक हुन्छ । करिब १ करोड मानिस हेपाटाइटिस सी को शिकार भइसकेका छन् भने ३ लाख ५० हजार प्रत्येक वर्ष मर्ने गर्दछन् ।

यसको रोकथामको लागि अहिले कुनै भ्याक्सिन प्रयोग नभए पनि यसको उपचार सम्भव छ । रगत तथा रगतजन्य पदार्थको प्रयोग, अङ्ग प्रत्यारोपण र सुई मार्फत लागूऔषध प्रयोगबाट तथा जन्मिको क्रममा आमाबाट बच्चामा यो भाइरस सर्न सक्दछ । यो खाना तथापानीबाट सर्दैन ।

लक्षण
शरीरमा विषाणु प्रवेश गरेको करिब २ हप्तादेखि ६ महिनामा लक्षणहरु देखिन्छन् ।करिब ८० प्रतिशतमा भने लक्षणहरु नै देखिँदैनन् । जस्तोः ज्वरो आउनु, थकान महसुस हुनु, खान मन नलाग्नु, वाकवाक लाग्नु, उल्टी हुनु, पेट दुख्नु, गाढा रङ्गको पिसाब हुनु, खैरो रङ्गको दिसा हुनु, जोर्नी दुख्नु र जन्डिस देखिनु आदि पर्दछन् ।

उपचार
सबै हेपाटाइटिस सी को उपचार नचाहिन पनि सक्दछ । इन्टरफेरोन र रिवाभिरिन नामक एन्टीभाइरल ओषधिको प्रयोग गरिन्छ । नयाँ औषधि टेलाप्रिभिर र बोसीप्रभिर आदि प्रयोग हुन थालेका छन् तर सबैको उपचार सम्भव नहुन सक्दछ किनकि यी औषधिहरु सहजै र सहजै प्राप्त गर्न कठिन हुन्छ भने कतिपय अवस्थामा विरामीमा प्रयोग गर्न सकिन्न । यसको आप्mनो भ्याक्सिन नभएकोले सचेतना अपनाउनुपर्दछ ।

आवश्यकताविना र असुरक्षित रुपमा सुई प्रयोग गर्नु हुँदैन । हेपाटाइटिस सी जन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्दछ । लागूऔषध प्रयोग त्याग्नुपर्दछ । असुरक्षित यौन सम्पर्क राख्नु हुँदैन । असुरक्षित रगत तथा रगतजन्य पदार्थहरुको प्रयोग गर्नु हुँदैन । ट्याटु खोप्ने,एक्युपन्चर, नाक–कान छेंड्नेमा विशेष ध्यान पुयाउनुपर्दछ ।

विकिपेडिया बाट