कंगोमा सन् १९७६ मा पहिलोपटक इबोला नदीको छेउमा यो रोग देखापरेको कारण यो रोगबाट हुने संक्रमणलाई इबोला भाइरस नामकरण गरिएको हो।

त्यो बेला यो रोगका कारण कंगोमा २ सय व्यक्तिको मृत्यु भएको थियो । अहिले विभिन्न अफ्रिकी मुलुकमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। यो रोगको सुरुआत फलफूल खाने चमेरोबाट मानिसमा सरेको अनुमान गरिएको छ।

यो चमेरोले खाएको फलफूल मानिस वा जनावरले खाँदा भाइरस सरको अनुमान गरिएको थियो । यो रोग लागेपछि मानिसको शरीरका विभिन्न भागमा नसा फुटेर रगत बगेर मानिसको निधन हुन्छ। यो दृश्य निकै वीभत्स हुने गर्छ। सरुवा रोगको रूपमा रहेको इबोला भाइरस अहिले अफ्रिकी मुलुकभन्दा बाहिर पनि सरेको छ।

इबोला भाइरस भएको देशमा नेपाली पनि गएका कारण उनीहरू स्वदेश फर्किँदा नेपाल भित्रिन सक्नेमा सरकार चनाखो भइरहेको छ। हामी रोगीको सम्पर्कमा जानु हुँदैन, उनीहरूसँगै सुत्नु हँुदैन, उनीहरूको जुठो खाने र एउटै भाँडाकँुडा प्रयोग गर्नु हुँदैन ।

# ईबोलाको लक्षण

ईबोलाको लक्षण अकास्मात रुघा लागेको जसरी शुरु हुन्छ । शरीर थाक्ने, ज्वरो आउने, टाउको दुख्ने, माशंपेशी, हड्डीको जोर्नी र पेट दुख्ने जस्ता लक्षण देखिन थाल्छ । धेरैलाई बान्ता हुने, डाइरिया र खाना नरुच्ने पनि हुनसक्छ । कोहीलाई भने घाँटी सुख्खा हुने, छाती दुख्ने, बाडुली लाग्ने, स्वास प्रश्वासमा गाह्रो हुने र खाना निल्न गाह्रो पनि हुने गर्छ ।

औसत रुपमा रोगबाट संक्रमित भएपछि पहिलो लक्षण देखापर्न ८ देखि १० दिन लाग्दछ तर यो २ देखि २१ दिनसम्म पनि लाग्ने गरेको पाइएको छ । कसैको छालामा घाउ पनि देखापर्न सक्छ जसलाई म्याकुलोप्यापुलर ¥यास पनि भनिन्छ । शरीरबाट रक्तश्राव हुने चरणमा पुग्नुभन्दा पहिले ईबोला भाइरस रोगको लक्षण मलेरिया, डेंगु र अन्य ज्वरोको लक्षणसँग मिल्छ ।

४० देखि ५० प्रतिशत रोगीहरुमा नाक, यौन अंग, मलद्वार, गिजा आदिबाट रक्तश्राव भएको पाइएको छ । यो चरण पहिलो पटक लक्षण देखिएको ५ देखि ७ दिन भित्र देखिने गरिएको छ । आन्तरिक रक्तश्रावको लक्षणको रुपमा आँखा रातो हुने र बान्तामा रगत देखिने हुनसक्छ ।

त्यस्तै दिसामा पनि रगत देखिनसक्छ । रक्तश्रावको लक्षण देखिनु भनेको यो रोगको अन्तिम चरण मानिन्छ जसबाट मानिसको मृत्यु पनि हुनसक्छ । प्रायः ७ देखि १६ दिन भित्र शरीरका विभिन्न अंगले काम गर्न छाड्छ, जसबाट मानिसको मृत्यु हुने गरेको छ ।

# कसरी सर्छ यो रोग ?

ईबोला भाइरस रोग लागेको मानिसको रगत, पसिना र शरीरको अन्य तरल पदार्थको सम्पर्कमा आउँदा यो रोग सर्दछ । यो जनवारबाट सर्ने गरेको पनि पाइएको छ । अफ्रिकामा ईबोला भाइरस रोगबाट ग्रसित चिम्पान्जी, गोरिल्ला, फल खाने चमेरो, बाँदर आदिबाट यो रोग सरेको पाइएको छ ।

मानिस–मानिसबीचको सम्पर्कले यो रोग फैलिरहेको छ । विशेष गरेर ईबोला भाइरस रोग लागेर मरेका व्यक्तिको अन्तिम संस्कारको बेला रोगीको शरीरको सम्पर्कमा आउने व्यक्तिलाई यो रोग सर्ने गरेको पाइएको छ ।

यही कारणले गर्दा अहिले ईबोलाबाट प्रभावित अफ्रिकाका केही देशहरुमा रोग सर्ने डरले ईबोला भारइस रोगका कारण मृत्यु भएकाहरुको लासलाई दाहसंस्कार गर्न समेत मानिसहरु डराइरहेका छन् । उनीहरुको लास बाटोमा यत्रतत्र छरिएका छन् ।

यो रोग लागेर ठीक भएका पुरुषहरुको वीर्यबाट पनि यो रोग सर्न सक्छ । रोग लागेर ठीक भए पनि ७ दिनसम्म यौनसम्पर्क नगर्न डाक्टरहरुले बताएका छन् । उपचार तथा रोकथाम डाक्टरहरु अझै पनि ईबोला भाइरस रोगका बारेमा रनभुल्ल छन् ।

यसको उपचार, औषधी वा भ्याक्सिन केही पनि छैन । हालै मात्र विश्व स्वास्थ्य संगठनको बैठकले जेडम्याप नामक प्रयोगात्मक औषधी प्रयोगमा ल्याउने निर्णय गरेको छ । यद्यपि यो औषधी कति प्रभावकारी हुने हो भन्ने हेर्न बाँकी नै छ । यस रोग लागेका मानिसलाई पनि डाक्टरहरुले विशेष हेरचार गर्नुपर्ने हुन्छ जसलाई ब्यारियर नर्सिङ पनि भनिन्छ ।

यसमा विशेष प्रकारको कपडा जस्तै मास्क, ग्लोब र गाउन र चस्मा लगाउनुपर्छ । ईबोलाका रोगीहरुलाई अन्य मानिसहरुबाट टाडा र विशेष क्षेत्रमा राखिनुपर्छ । छोएरै यो रोग सर्ने हुँदा त्यस्ता रोगीसँग सम्पर्क नगर्नु नै राम्रो हुने डाक्टरहरु बताउँछन् ।

 # उपचार 

विश्व स्वास्थ्य संगठनको सुझाव छ – इबोला संक्रमण भएका विरामी र तिनको शरिरबाट निस्कने तरल पदार्थको सम्पर्कमा नआउने। सार्वजनिक स्थानमा रहेका संक्रमण भएको हुन सक्ने साझा रुमाल जस्ता बस्तुहरु नछुने।

विरामीको हेरचाह गर्नेहरुले पंजा र मास्क जस्ता सुरक्षित कपडाको प्रयोग गर्नुपर्छ र नियमित रुपमा आफ्नो हात धुने गर्नु पर्छ।

विश्व स्वास्थ्य संगठनले चमेरो, बांदर र वनमान्छे जस्ता संक्रमित जंगली जनावरको मासु कांचै नखान पनि सुझाव दिएको छ।यो पछिल्लो महामारी शुरु भएको ठानिने गीनीको निश्चित क्षेत्रमा रुख चमेरोको मासु खास रुचाइने परिकार हो।

गत मार्च महिनामा लाइबेरियाका स्वास्थ्यमन्त्रीले संक्रमण फैलिन नदिन मानिसहरुलाई हात नमिलाउन, चुम्बन नगर्न र यौन सम्पर्क नगर्न समेत सुझाव दिएका थिए।

विश्व स्वास्थ्य संगठनका अनुसार इबोला संक्रमण भएर निको भएका पुरुषहरुको वीर्यबाट सात हप्ता पछि पनि उक्त भाइरस सर्न सक्ने देखिएको छ।

स्वास्थ्यकर्मीहरुले सामना गर्नु परिरहेको सबैभन्दा ठूलो चुनौति भनेको इबोला संक्रमणको विषयलाई लिएर विद्यमान डर र मिथ्या अनुमानहरु हुन्।

तर स्वास्थ्यकर्मीहरु स्वयं पनि विरामीहरुको उपचार गर्न डराइरहेका छन् र तिनीहरुले संक्रमित विरामीहरुको हेरचाह गर्नका लागि अझ बढी सुरक्षित लुगाकपडाहरुको माग गरिरहेका छन्।

इबोलाका कारण यो महामारी फैलिएको क्षेत्रमा दर्जनौं डाक्टर तथा नर्सहरुको ज्यान गैसकेको छ। मारिनेमा सिएरा लियोनका एकमात्र भाइरसविज्ञ र इबोला विशेषज्ञ शेख उमर खान पनि छन्।

यसकारणले पनि लामो समय देखि डाक्टर र अस्पतालहरुको अभाव भोगीरहेका संक्रमण प्रभावित पश्चिम अफ्रीकी देशहरुको स्वास्थ्य सेवामा थप दबाब परेको छ।