आमाबुबाहरुले बच्चाहरुको दूधे दाँतलाई महत्वपूर्ण ठान्दैनन् । यसको सट्टामा अर्को दाँत आउने भएकोले त्यसलाई महत्व नदिइएको हो । तर दूधे दाँत पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ किनकि दूध दाँतले स्थायी दाँत ओगट्ने ठाउँ ओगट्छ, जसले पछि आउने दाँत बाङ्गो टिङ्गो हुन दिँदैन ।
यसले चपाउन मद्दत गर्छ । प्रष्ट बोल्न मद्दत गर्छ । ठूलो मान्छेको दाँतमा जस्तै बच्चाहरुको दाँतमा पनि मुखको किटाणुको एसिड उत्पादन गरेर दाँतको खनिज पदार्थ नष्ट गर्छ । जसले गर्दा दाँतमा प्वाल पर्छ । हामी त्यसलाई दाँतमा किरा लागेको भन्छौं ।

# दातमा किरा लाग्ने कारणहरु 

१. लामो समयसम्म स्तनपान वा बोटलबाट दूध खुवाउनाले ।
२.सुत्न अगाडि स्तनपान वा बोटलको दूध खुवाउनाले ।

# कस्ता खाने कुराले दाँतमा किरा लाग्छ ?
१. गुलियो तथा कार्बोहाइड्रेृटयुक्त खानेकुरा ।
२. च्याप च्याप र टाँसिने खानेकुरा
३. पाकेटबन्दी तयारी खाना ।

# दाँतमा किरा लाग्नाले बच्चालाई कसरी असर गर्छ ?
१. दाँत दुख्नाले लेख्न पढ्न ध्यान जाँदैन ।
२. दाँत दुख्नाले स्कुल जाँदैन ।
३. राम्रोसँग खाना चपाउन सक्दैन ।
४. दाँतमा किरा लाग्नाले हाँस्दा नराम्रो देखिने हुनाले बच्चाको आत्मविश्वास घट्छ ।

# बच्चाहरुको दाँतमा किरा लाग्नबाट कसरी बचाउने ?
१. दाँत निस्कनु अगाडि नै गिजालाई सफा भिजेको कपासले सफा गरिराख्नु पर्दछ ।

२. पहिलो दाँत निस्केदेखि नै दाँत माझी दिनुपर्दछ । यो क्रम बच्चाले राम्रोसँग थुक्न नजानेसम्म र फ्लोराइडयुक्त मञ्जन चलाउन नहोउञ्जेलसम्म जारी राख्नुपर्दछ ।

३. चक्लेट, टफी जस्ता गुलिया र च्याप च्याप खानेकुरा तथा दाँतमा टाँसिने खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, चिप्सहरु खान दिनुहुँदैन ।

४. पेय पदार्थ, जुसहरु कम खान दिने ।
दाँतमा किरा लाग्न नदिन दिनमा दुइपटक दाँत माझ्नुपर्छ । बच्चाहरुले राम्रोसँग दाँत माझ्न सक्दैनन् । त्यसकारण कम्तीमा एकपटक आमबाबुले राम्रोसँग दाँत माझी दिनुपर्छ । वर्षमा दुइपटक दन्त चिकित्सककोमा गएर दाँत जँचाउनुपर्छ ।