के हो त यार्सागुम्बा

यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ ।

त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ ।

यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ ।

माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् । यो बिशेष गरेर उत्तरी क्षेत्रमा बर्षभरि पाउन सकिन्छ ।

उपयोगिता

विश्वमा १००, चीनमा २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्सागुम्बा पाइन्छन् । यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ । पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ ।

खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनिया औषधी विधि अनुसार सेवन गरिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ ।

स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ । हाल यार्सागुम्बालाई चामल, चिया आदिमा मिसाएर बजारमा बिक्री वितरण भइरहेको छ ।

नेपालको हिमाली भेगमा पाइने यार्सागुम्वा प्रकृतिको अनुपम उपहार हो। यार्सागुम्वा सन् २००१ सम्म व्यपारिक प्रयोजनमा थिएन र मुल्यपनि थिएन। २८ लाख सम्म पर्छ यसको गुणस्तर कम हुदा मुल्य पनि कम हुन्छ । अहिले १ न को यार्सा प्रतिलिको २८ लाख नेपाली रुपैया पर्छ । अत्यन्त महङ्गो मूल्य बिक्री हुने यार्सागुम्बालाई नेपालमा येल्लो लिभिङ गोल्ड (अंग्रेजी:Yellow Living Gold) का रुपमा समेत पहिचान दिन थालिएको छ।

नेपालमैं पाइने २ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो ।

संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ । हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । तर यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ ।

यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ । कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् ।

कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ । बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ ।

हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटेहरू भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउछन् । उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३/३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन् ।

त्यसरी नै आधा लिटर रातो गाईको दूध, लिगातुर झार अलिकति, ५ तोला यार्सागुम्बा, ५ तोला यार्सागुम्बा, आधा लिटर कालो गाईको दूध १ तोला काँडे धुप्पी चौथाइ तोला भालुको पित्त, अलिकति पाहाको मासु र अलिकति हिमाली भेकमा पाइने सर्पको मासु जम्मा गरेर दूधबाहेक अरुलाई पिसेर दूधमा पकाएर साना साना मटरका दाना जत्रै गोली बनाएर एक महिनासम्म बिहान बाहिर हावामा ननिस्की ३ चक्की र बेलुका आगोलाई नछोइकन ३ चक्की खाएमा स्मरण शक्ति बढ्ने कुरा बताउछन् साथै उल्लेखित मात्रा भन्दा बढी खाएमा मान्छे पागल हुने कुरा उनीहरू बताउँछन् ।

अन्त्यमा बर्षायाम शुरु हुँदा नहुँदै पश्चिम उत्तरका मानिसहरू घर नै छोडेर यार्सागुम्बाको खोजीमा जान्छन् । कतिपय विद्यालय समेत बन्द हुन्छन् र विद्यार्थीहरू समेत उक्त कार्यमा सरिक हुन्छन् । यार्सागुम्बा टिप्न भने त्यति सजिलो भने छैन । घर बाहिरको बास र हिमपातका कारण ज्यान नै जोखिममा पर्ने हुन्छ ।