डिप्रेसन (Depression) भनेको खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ । डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ । यो सम्भावना महिलाहरूमा बढी हुन्छ । डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ । खासगरी डिप्रेसनका रोगीहरू मुटुको रोगले मर्ने सम्भावना रहन्छ । त्यसैले समयमै नजिकको मानसिक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु राम्रो हुन्छ । मानसिक रोग विशेषज्ञले डिप्रसनको उपचार औषधि र मनोवैज्ञानिक उपायले गर्दछन ।

डिप्रेसनका कारणहरू:
> वंशाणुगत
> जीवनका तनावपूर्ण घटनाहरू जस्तै प्रीयजनको मृत्यु, वियोग आदि ।
> केही औषधीहरू खास गरी रक्तचापका बिरामीलाई दिइने औषधी र स्टेरोइड औषधीहरूले डिप्रेसन गराउनसक्छ ।
> लामो समयदेखि मधुमेह, मृगौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ । त्यस्तै थाइरोइड ग्रन्थीको गडबडीले पनि डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।

डिप्रेसनका लक्षणहरू:
डिप्रेसनको परिबेश त्यतिबेला हुन्छ, जब हामी जीवनका हरेक आयामहरुलाई नकारात्मक दृष्टिकोणले सोच्न थाल्छौं । जब यो चरम अवस्थामा पुग्छ, मानिसलाई आफ्नो जीन्दगी बेकार लाग्न थाल्छ र बिस्तारै विस्तारै मानिस डिप्रेसनको स्थितिमा पुग्छ ।
> मन उदास वा दिक्क भइरहने, कुनैपनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने ।
> खुसीहुनुपर्ने कुरामा पनि खुसीहुन नसक्ने हिनताबोध हुने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने ।
> निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौनइच्छामा कमी हुने, खाना खान मन नलाग्ने ।
> भविश्यप्रति नैराश्यता छाउने, बाँच्नु बेकार छ भनेर मर्ने इच्छा पलाउने तथा आत्महत्याको विचार आउने ।
> टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरूको मासिकस्राव अनियमित हुने जस्ता लक्षण देखा पर्छन ।
> केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन ।
> धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।
यो रोगका लक्षणहरू दुइ भागमा विभाजित गरिएको छ
मनोवैज्ञानिक लक्षण
१. निरन्तर चिन्ता लिनु
२. स्वास्थ्यको विषयमा चिन्तित रहनु
३. नकारात्मक विचार मनमा आउनु
४. भ्रामक विचार मनमा आउनु
५. काममा मन नलाग्नु
६. स्वभाव चिडचिडा हुनु
७. सानोतिनो कुरामा रिस उठ्नु
८. मनस्थितिमा परिवर्तन
९. पागल जस्तो व्यवहार गर्न
१०. एक्लै बस्न मन पराउनु
११. नराम्रो सपना देख्नु
१२. कहिल्यै खुशी हुन नसक्नु
१३. कम बोल्नु
१४. डर लाग्नु
शारीरिक लक्षण
१. टाउको दुख्नु
२. मुटु काँप्नु
३. खाना निल्नमा समस्या
४. उल्टी आउनु
५. बारम्बार बाथरुम जानु
६. शरीर पहेँलो हुनु
७. श्वास प्रश्वास छोटो हुनु
८. रिंगटा लाग्नु
९. मांसपेशीमा दुखाई
१०. मुटुको धड्कन बढ्नु
११. शरीर काँप्नु
१२. पसीना आउनु
१३. ब्लड प्रेसर घटबढ हुनु
१४ थकावट हुनु

डिप्रेसनका बिरामीहरूले ध्यान दिनुपर्ने कुराहरू:
> चिकित्सकले लेखे बमोजिमको औषधि खानुपर्छ । आफूले नै औषधिको मात्रा घटबढ गर्ने वा औषधि छाड्ने गर्नु हुदैन ।
> जाँड, रक्सी तथा अन्य लागुपदार्थको सकेसम्म सेवन गर्नु हुदैन ।
> सन्तुलित एवं पौष्टिक भोजन खाने गर्नुपर्छ ।
> आफ्नो समस्या एवं चिन्ताहरूलाई साथीभाइ एवं परिवारसँग व्यक्त गर्दा आफूलाई राम्रो महशुस हुन्छ ।
> औषधि सेवन गर्दा गर्दै पहिलेको भन्दा फरक लक्षण देखापरेमा वा डाबर आएमा वा जिउ चिलाएमा तथा गर्भवती भएमा तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ ।
> कसरत गरेमा राम्रो महशुस हुन्छ ।
> सकेसम्म आफनो दैनिक काम जारी राख्नु पर्छ तर आफैंलाई तनाब हुनेगरी काम गर्नु हुदैन ।
> डिप्रसन भएको अवस्थामा जीवनका महत्वपूर्ण निर्णयहरू गर्नुहुदैन ।
> औषधि सेवन गर्दा गर्दै कुनै शारीरिक रोग लागेमा, जचाउनु परेमा आफूले खाइरहेको औषधिको बिवरण सम्बन्धित चिकित्सकलाई बताउनु पर्छ ।

परिवार र साथीभाइको भूमिका:
> आफनो परिवार र मित्रमा डिप्रेसनको लक्षण देखिएमा उसलाई उपचार गर्नका लागि प्रोत्साहित गर्नुपर्छ । यो धेरै जनालाई हुने समस्या हो र उपचारले राम्रो हुन्छ र उपचारको लागि चिकित्सकको मद्दत लिनु कमजोरीको लक्षण होइन भन्नेकुरा राम्ररी सम्झाउनु पर्छ ।
> डिप्रेसन भएका मानिसहरूसँग समय बिताउनुहोस, उनीहरूसँग गफ गर्नुहोस र उनीहरूलाई हौसला प्रदान गर्नुहोस ।
> उनीहरूले राम्ररी भोजन गरे–नगरेको ख्याल र्नुगर्नुहोस र उनीहरूलाई जाँड, रक्सी खानबाट निरुत्साहित गर्नुहोस ।
> उनीहरूले आत्महत्याको कुरा गरेमा त्यस कुरालाई गम्भिरताकासाथ लिनुहोस । यो कुरा चिकित्सकलाई बताउनुहोस तथा बिरामीलाई कडा निगरानीमा राख्नुहोस ।
> बिरामीलाई बिष, डोरी र हातहतियारको पहुँचबाट पर राख्नुहोस ।
> चिकित्सकले लेखेबमाजिमको औषधि बिरामीले खाएको छ की छैन भनेर हेर्नुहोस । यदि खाएको रहेनछ भने उसलाई आफनो निगरानीमा खुवाउनुहोस ।

डिप्रेसनको उपचार 
डिप्रेसन भएको बेला मानिसलाई लाग्छ कि उसको जिन्दगी अब खत्तम भयो । यस्तो नकारात्मक सोचबाट बाहिर निस्किने उपायहरु के छन् त, यसको चर्चा गरौं ।
१. विषयबाट ध्यान हटाउने
यो योजना वा रणनीतिमा व्यक्ति आफूलाई डिप्रेसनमा पार्ने स्थिति वा समस्याबाट आफ्नो ध्यान हटाउँछ, र अरु काममा आफूलाई व्यस्त राख्ने प्रयास गर्छ । त्यो समस्याको बारेमा सोच्न पनि छाडिदिन्छ जसले गर्दा व्यक्तिलाई शान्ति मिल्छ ।
२. डिप्रेसनको कारण थाहा पाउने
यदि तपाईं डिप्रेसनको समाधान निकाल्न चाहने हो भने सबैभन्दा पहिले डिप्रेसनको कारण पत्ता लगाउने प्रयास गरौं । त्यसपछि यसलाई कतै लेख्न सकिन्छ । त्यसपछि सोचौं कि यो समस्याको के समाधान हुन सक्छ । यदि सम्भव छ भने चाँडोभन्दा चाँडो समस्याको हल खोज्ने प्रयास गरौं ।
३. भविष्यको चिन्ता नलिने
‘भोलि के होला ?’ भन्ने सोचले चिन्तालाई बढावा दिन्छ । त्यसैले सँधै आजको लागि बाँचौं किनकी वर्तमान नै वास्तविकता हो, र वर्तमानमा राम्रो गर्ने कोशिष गरौं । यसो गर्दा भविष्य आफसेआफ ठीक हुन्छ । हाम्रो हरेक दिन र हरेक पलले हामीलाई केही न केही नयाँ कुरा सिकाउँछ र समस्यासँग लड्न सिकाउँछ ।
४. कराउने, चिच्याउने
केही व्यक्तिहरु अत्यधिक तनावको समयमा जोड जोडले कराउने र चिच्याउने गर्छन् । यो तनावपूर्ण वा कष्टदायी स्थितिबाट मुक्ति पाउने सबैभन्दा राम्रो तरिका हो । मनोविज्ञानले पनि तनावपूर्ण स्थितिमा चिच्याउनुलाई राम्रो मान्छ ।
५. गीत सुन्ने
गीत सुनेर पनि तनाव वा दवावबाट क्षणिकरुपमा मुक्ति पाउन सकिन्छ । गीत सुन्दा व्यक्तिले आफूलाई तरोताजा महसुस गर्छ ।
६. भावनाहरु सेयर गर्नु
तनाव कम गर्ने एउटा तरिका भनेको आफ्नो मनका कुरा अरुसँग सेयर गर्नु पनि हो । आफ्ना नजिकका साथीभाई, आफन्तसँग व्यथा पोख्दा मन हलुंगो हुन्छ ।
७. नशाबाट जोगिने
तनावमुक्त हुने नाममा धेरै व्यक्तिहरु रक्सी चुरोटको सहारा लिन पुग्छ । तर, यसले उनीहरुलाई उल्टो हानी गर्छ । डिप्रेसनमा भएका व्यक्तिहरुले नशालु चिजहरुबाट सँधै टाढै बस्नुपर्छ ।
८. प्राणायाम, व्यायाम गर्ने
यदि तपाई टेन्सन र डिप्रेसनबाट मुक्त हुन चाहने हो भने दैनिक प्राणायाम र व्यायाम गरौं । यस योगबाट टेन्सन, स्ट्रेस वा डिप्रेसन कम हुन्छ र बुद्धि तेज हुन्छ ।
९. हास्ने, रमाउने तरिका सिक्ने
हास्नु पनि तनाव कम गर्ने एउटा महत्वपूर्ण अष्त्र हो । हाँस्नाले हामीभित्र एन्डाफिर्न हार्मोन्सको मात्रा बढ्छ र यसले हामी रिल्याक्स महसुस गर्छौं ।
१०. एक्लै नबस्ने
एक्लोपना डिप्रेसनको एउटा प्रमुख कारण हो । यदि तपाईंको परिवारमा कोही डिप्रेसनबाट पीडित छ भने जति सकिन्छ उसँग समय बिताउनुस । अत्यधिक डिप्रेसनको अवस्थामा मानिसहरुमा आत्महत्याको विचार आउने गर्छ । त्यसैले उसलाई सकभर एक्लै छोड्नु हुँदैन ।