काठमाडौंको हनुमानढोका दरबारको प्रांगणको उत्तरपश्चिमी भागमा काल भैरवको ठूलो प्रस्तर मूर्ति छ । कालो प्रस्तरबाट बनेको यो मूर्ति अति ठूलो र डरलाग्दो छ । यो मूर्ति १२ फिट अग्लो छ । यो मूर्ति प्राचीन कालतिर बनाइएको मानिन्छ तर यस स्थानमा यसको स्थापना भने कान्तिपुरे राजा प्रताप मल्लले गराएका हुन् । कतिपय श्रद्धालुहरू काल भैरवलाई काली मानेर पनि पूजाआजा गर्ने गर्दछन् ।

शवमाथि उभिएको तथा नरमुण्डमाला लगाएको काल भैरवको मूर्तिलाई बेग्लै मन्दिर नबनाएर त्यत्तिकै खुला आकाशमुनि एउटा पर्खालमा टँसाएर राखिएको छ । मध्यकालतिर काल भैरव मूर्ति अगाडि अपराधीलाई दण्ड–सजाय दिने चलन थियो । यसको अगाडि उभ्याएर अपराधीलाई अपराध स्वीकार गर्न लगाइन्थ्यो । साथै कतिपय अपराधीहरु त यहाँ आइपुग्नासाथ डरले आफैं मर्दथे भनिन्छ ।

यस्तो डरलाग्दो मूर्ति आफु भने हाँसिरहेको छ । कालभैरवको मूर्ति हेर्नु भयो भने तपाईले पनि भैरवको मुख हाँसेको र हाँस्दा दाँत पनि देख्नु हुनेछ ।

किन हाँसे त काल भैरव ?

कालभैरवको मूर्ति हास्नुको कारणका बारेमा रमाइलो किंवदन्ती छ ।

पहिले पहिले कुनै कसुरमा दसी प्रमाण नभेटिएमा कालभैरवको पाउ छुवाएर किरिया खुवाउने चलन थियो । यसरी किरिया खाँदा यदि झुट्टा बोल्यो भने तत्काल त्यहीं रगत छादेर मर्ने गर्थ्यो ।

यौटा हाकिम बडो घुस्याहा थियो तर उसले गरेको बदमासीको प्रमाण कसैले नपाउने गरी गर्दथ्यो । उसका विरुद्ध उजुर पर्‍यो । उजुरी गर्ने अति नै विश्वासिला मानिस थिए तर हाकिमका विरुद्धमा भने कसै गर्दा पनि प्रमाण भेटिएन । प्रमाण नभेटिएकाले उसलाई कालभैरवको पाउ छुवाएर किरिया खुवाइने फैसला भयो । किरिया खुवाउँने दिन भनेर भोलीपल्टलाई नै तोकियो ।

फैसला पछि घर आएको ऊ नुन खाएको कुखुराजस्तै झोक्राएर बसिरह्यो । उसकी आमाले यो देखेर उसलाई सोधिन् । उसले पनि सबै सत्य कुरो आमालाई बताइदियो ।

आमाचाहिंले “ए! यत्ति कुरामा किन पीर लिनु” भनेर उसलाई योबाट बच्ने सजिलो तरिका भएको कुरा बताइन् । त्यसका लागि उसलाई नाङ्गै भएर आफ्नो काखमा बसेर दूध चुस्न लगाइन् र भोलिपल्ट भन्नु पर्ने सबै कुरा सिकाइन् ।

भोलिपल्ट सबै भैरवस्थानमा जम्मा भए र ऊ पनि गयो । जब उसलाई किरिया खान भनियो अनि उसले कालभैरवको पाउ समातेर “मैले अजान छँदा, नाङ्गै आमाको काखमा बसेर दूध खानुअघि त के के गरें भन्न सक्दिन तर त्यसपछि मैले आजको दिनसम्म घुस खाने वा कुनै नगर्नु हुने काम गरेको छैन । भए यहीं रगत छादेर मेरो मृत्यु होस् ।”

उसले यति चलाखीपुर्ण किरिया खाएको सुनेपछि त्रिकालदर्शी कालभैरवको मूर्ति पनि हाँस्यो । र, आजसम्म हाँसेकै छ रे ।