मानिसलाई खाना खाएपछि मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने हुनसक्छ, जसलाइ ‘हार्ट बर्न’ भनिन्छ । हार्ट बर्न भन्ने चलन भएपनि मुटु पोलेको होइन । यी लक्षणलाई मेडिकल शब्दाबलीमा जी.ई.आर.डी (ग्यास्ट्रो इसोफेजियल रिफ्लक्स डिजिज) भनिन्छ ।

अन्ननली र आमासयको बीचमा एउटा भल्भ हुन्छ । अन्न नलीबाट खाना जाने बेलामा केही खुकुलो हुने यो मासंपेशी अरु बेलामा साँघुरिएर बस्छ । यसको विशेषता भनेकै खाना एकतर्फी रुपमा पास गर्ने हो ।

तर कतिपयको अन्ननली र आमासयको बीचमा हुने भाग सामान्य अवस्थाभन्दा बढी खुकुलो भएकाले यस्तो समस्या हुन्छ । हर्निया भएका मानिसहरूको पनि आमासयको माथिल्लो भल्भ खुकुलो भएर अमिलो पानी आउने समस्या हुनसक्छ ।

कुनै विशेष कारणले आमासयको भल्भ केही समयका लागि खुकुलो भएर पनि अमिलो पानी या डकार आउने समस्या रहनसक्छ । गर्भवती अवस्था अर्को उदाहरण हो । उनीहरूको पेटको आकार बढेर आमासयमा दवाव पर्छ ।

त्यसले गर्दा भल्भ खुकुलो भएर अमिलो पानी आउने लक्षण बढ्छ । अर्को कारण गर्भवती अवस्थामा हुने हर्मोनको गडबड हो । त्यसले पनि अमिलो पानी आउने, वाकवाकी लाग्ने बनाइदिन्छ।कसैलाई पहिलो ३ महिना हुन्छ भने कसैको अवधि ९ महिनासम्म पनि जानसक्छ ।

यस्तो लक्षणले आत्तिनुपर्ने कुनै कारण त छैन । तर कतिपय महिलाहरूलाई भने कुनै खानेकुरा नखाने, पानी पनि नरहने भएकाले जलविनियोजन डिहाइड्रेसन भएर अस्पताल भर्ना गर्नेसम्म पनि हुनसक्छ । तर अधिकांशको पहिलो ३/४ महिनापछि कम हुँदै जान्छ । त्यस क्रममै कतिपयलाई यति धेरै अमिलो पानी आइदिन्छ कि कुनै औषधिले पनि छुदैन ।

अन्य कतिपय कारणले पनि अन्ननली र आमासयको जङसनमा असर परेर अमिलो पानी आउछ । मानिसको आमाशयमा अम्ल हुन्छ । त्यो अम्ल फर्केर अन्ननलीमा वा मुखमै पनि आउन सक्छ, जसलाई हामीले अमिलो महसुस गर्छौं ।

आमाशयमा अम्ल बस्न नै अनुकुल संरचना हुने भएकाले त्यहाँ अम्ल रहँदा हामीले असजिलो महसुस गर्दैनौं । तर अन्ननली, मुख आदि अंग त्यस्तो अंम्लसँग सम्पर्क नहुने भएकाले त्यससँग लड्ने संरचना हुँदैन र अम्ल ती अंगमा पर्नासाथ हामीले पोलेको महसुस गर्छौं । हामीले खाएको खाना अन्ननली, आमासय, सानो/ठूलो आन्द्रा हुँदै निस्कासन हुने निश्चित अवधि हुन्छ । हरेक अंगमा खाना केही समय भण्डारण हुन्छ ।

खानाको स्वरुप र प्रकृति हेरेर एउटा अंगबाट अर्कोमा जाने अवधि फरक पर्छ । झोल र पानी छिटो जान्छ भने ठोस पदार्थले केही समय लिन्छ । बोसो र चिल्लोयुक्त खाना खादा आमासयदेखि सानो आन्द्रामा जाने अवधि लम्बिन्छ ।

लामो अवधि आमासयमा रहने भएकाले बोसो र चिल्लोयुक्त खानाले अन्ननली र आमासयको जङ्सनलाई केही खुकुलो बनाइदिन्छ । फलस्वरुप हामीले अमिलो पानी आएको महसुस गछौं । गुलियो वा फलफूल खाँदा छिटो भोक लाग्छ ।

तर बोसो र चिल्लोयुक्त खाना खाएपनि अन्यको तुलनामा हामीलाई भोक पनि अलि ढिलो नै लाग्छ । आमासयबाट सानो आन्द्रामा खाना जान समय लाग्ने र पच्ने अवधि पनि लम्बिने भएकाले भोक ढिलो लाग्ने गरेको हो ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #घाँटी #छाती #छाती तथा घाँटी पोल्ने समस्या #मुखमा अमिलो पानी आउने #मुखमा अमिलो पानी आउने जस्ता समस्या