सामान्य बिरामी हुँदासमेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा खोकीलगायत कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छ । डाक्टरको सल्लाहबिना खाइएका औषधिले साइडइफेक्टसमेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसका लागि यी सावधानी अपनाऔँ :

– सधै डाक्टरले लेखेको औषधि मात्र प्रयोग गरौँ । त्यो सही मात्रा र समयमा खाने गरौँ

– कतिपय औषधि उस्तै उस्तै त हो नि भनेर खाने चलन छ त्यसो नगरौँ, जसले स्वास्थ्यमा नकारात्मक असर गराउँछ ।

– खोकी लाग्नु, टाउको दुख्नु आदि कैयौँ रोगका लक्षण हुने भएकाले रोग पत्ता लगाएर मात्र औषधि सेवन गर्ने गरौँ, अन्यथा स्वास्थ्यका लागि घातक हुन सक्छ ।

– पेनकिलरको अनावश्यक प्रयोग गर्नु हुँदैन । यसका कारण रक्तश्राव, अल्सर, पेट सुन्निने जस्ता समस्या हुन सक्छ

– निश्चित रोगका लागि लिएको औषधि घटी बढी भएमा नकारात्मक असर गर्न सक्छ । त्यसैले आवश्यक मात्रामा मात्र औषधि लिऔँ ।

साथै- ८० प्रतिशत डाक्टरको ‘प्रेस्क्रिप्सन’ नबुझ्ने :

अक्षर नबुझ्दा औषधि एउटा, दिइन्छ अर्को-

काठमाडौँ । ठाकुर पोखरेल हाल वीर अस्पतालमा फार्मेसी सञ्चालन गर्दै आइरहेका छन् । उनको फार्मेसीमा औषधि लिने आउने बिरामीमध्ये १० देखि १५ जनाको प्रेस्क्रिप्सन नबुझ्ने भेटिन्छ । त्यस्तो स्थिति आउँदा उनी फेरि आफूलाई जाँच गरेको डाक्टरलाई सोधेर आउनु भनेर बिरामीलाई फिर्ता पठाउँछन् ।

वीर अस्पतालमा आएका सबै बिरामीले वीरमानै औषधि किन्छन् भन्ने पनि छैन । बाहिरबाट आएका बिरामीले पर्याप्त पैसा बोकेर आएको हुँदैन । स्वास्थ्य परिक्षण वीर अस्पतालमा गर्ने र औषधि चाहिँ आफ्नै ठाउँमा गएर किन्ने पनि छन् ।

त्यस्ता बिरामीहरुको लागि भने चिकित्सकको प्रेस्क्रिप्सन नबुझदा फर्केर वीर अस्पताल आउनुपर्ने जस्ता समस्याहरु देखिने गरेको पोखरेल बताउँछन् ।

प्रेस्क्रिप्सन नबुझ्दा जिल्लाबाट नै डाक्टर सोध्न आउने बिरामीहरु पनि भएको पोखरेल बताउँछन् ।

एउटै ब्राण्डको औषधि एक दुई अक्षरले पनि फरक पर्ने हुँदा प्रेस्क्रिप्सन बुझ्ने गरी लेख्नुपर्ने नियमलाई चिकित्सकले पालना गर्नुपर्ने पोखरेलको भनाइ छ । उनको भनाइमा कोही चिकित्सकले प्रष्ट क्यापिटल अक्षरमा प्रेस्क्रिप्सन लेख्ने भए पनि धेरैको प्रेस्क्रिप्सन बुझनको गाह्रो हुने गरेको छ ।

यसरी प्रेस्क्रिप्सन नबुझदा बिरामीलाई चिकित्सकले लेखेको भन्दा अर्काे औषधि जाने र त्यसले रोग निको हुनुको साटो उल्टो समस्या बढाउने देखिन्छन् । पोखरेल भन्छन् ‘प्रेस्क्रिप्सन बुझिदैन फेरि सोधर आउनु भनेर पठाउँछाैँ ।

त्यही सोध्नको लागि ओपिडीमा लाइन बस्नुपर्ने, चिकित्सक खाजा खाना गइसकेको हुने, जिल्लामै औषधि किन्ने गरी फर्केर गइसकेका बिरामीले प्रेस्क्रिप्सन नबुझिँदा सोध्नलाई फेरि खर्च गरेर आउनु पर्ने जस्ता समस्याहरु बिरामीलाई परेको छ ।’

युवराज भुसाल अर्का फार्मेसी सञ्चालक हुन् । उनले धुम्बराहीमा मनोबल फार्मेसी सञ्चालन गरेको एक दशक भयो । तर बिरामीले लिएर आएको पूर्जामा अहिलेसम्म डाक्टरले लेखेको ८० प्रतिशत भन्दा बढी अक्षर (प्रेस्क्रिप्सन) उनले बुझ्न सकेका छैनन् ।

डाक्टरले प्रेस्क्रिप्सन दिँदा स्पष्ट रुपमा सुरुको अक्षर क्यापिटल लेटरमा लेख्नुपर्ने हो । तर फार्मेसी सञ्चालनको यो लामो यात्रासम्म हेरेका देखेका अधिकांश प्रेस्क्रिप्सन नबुझिने खालका उनले भेटेका छन् ।

उनको फार्मेसीमा औषधि लिन आएका बिरामीहरुको प्रेस्क्रिप्सन नबुझ्दा सम्बन्धित अस्पतालमा फोन गर्ने र बिरामीको नाम लिएर डाक्टरसँग लेखिएको प्रेस्क्रिप्सनको बारेमा बुझ्ने गर्छन् । एउटा मात्रै अक्षर नबुझदा गलत औषधि पर्ने भएको हुँदा सुनिश्चित गरेर मात्रै आफूले बिरामीलाई औषधि दिने गरेको भुसाल बताउँछन् ।

किन लेखिन्छ नबुझिने प्रेस्क्रिप्सन ?

मनमोहन कार्डियोथोरासिक भास्कूलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ प्राध्यापक डाक्टर अरुण सायमीले आफूले प्रेस्क्रिप्सन लेख्दा बिरामीले बुझने गरी नेपाली अक्षरमा लेख्ने गरेको बताए । औषधि कहिले खाने, कति खाने भन्ने बारेमा स्पष्ट लेख्ने र बिरामी र बिरामीको आफन्तलाई राम्रोसँग सम्झाउने गरेको उनले बताए ।

तर प्रेस्क्रिप्सन नबुझ्ने हुनुमा चिकित्सकले छोटो समयमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता पनि एउटा कारण रहेको उनी बताउँछन् । स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयमा चिकित्सकले प्रेस्क्रिप्सन स्पष्ट अक्षरमा लेख्नुपर्ने र औषधिको बारेमा बिरामीलाई बुझाउनु पर्ने उनी बताउँछन् ।

युवराज भुसाल आफूले प्रेस्क्रिप्सन नबुझेको खण्डमा सम्बन्धित अस्पतालमा बुझ्ने या बिरामीलाई फेरि सोध्नको लागि पठाउने गर्छन् । तर यो नै समस्याको समाधान होइन । निजी अस्पतालमा आधा घण्टा एक घण्टाको लागि आउने या हप्तामा एकदिन मात्रै आउने डाक्टरहरु पनि हुन्छन् । त्यस्तो स्थितिमा समयमा औषधि खानुपर्ने बिरामीले प्रेस्क्रिप्सन नबुझदा लामो समयसम्म कुर्नुपर्ने अवस्था पनि आउने गरेको भुसाल बताउँछन् ।

यस्तै, डाक्टर दीपेन्द्र पाण्डे हाल राष्ट्रिय ट्रमा सेन्टरको हार्डजोर्नी विभागमा कार्यरत छन् । बिरामीको अत्यधिक चाप, बिरामीलाई दिने समय निकै कम हुने हुँदा हतारमा प्रेस्क्रिप्सन लेख्नुपर्दा त्यसरी नबुझिने हुने गरेको उनी बताउँछन् ।

सरकारी चिकित्सक संघको केन्द्रीय अध्यक्ष समेत रहेका डा. पाण्डेको अनुभवमा ‘छोटो समयमा धेरै बिरामी हेर्नुपर्ने र दिनमा कम्तीमा पनि ६ घण्टासम्म निरन्तर लेखिरहनु पर्दा प्रेस्क्रिप्सन नबुझिने हुन जान्छ ।’

उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले दिनमा एक चिकित्सकले २० देखि २५ जना बिरामी हेर्नुपर्ने, एउटा बिरामीलाई १५ देखि २० मिनेट समय दिनुपर्ने र एक जना चिकित्सकको भागमा १ हजार ५ सय नागरिक हुनुपर्ने नीति ल्याएको छ । तर नेपालका एक जना चिकित्सकले ८० देखि १ सय जना बिरामी हेर्नुपर्ने स्थितिबीच एकजना बिरामीलाई ५ मिनेट पनि समय दिन नसक्ने अवस्था छ ।’

चिकित्सकको प्रेस्क्रिप्सन नबुझिने हुनुमा संघका अध्यक्ष डा. पाण्डे भन्छन्, ‘नेपालभर सरकारी चिकित्सकको दरबन्दी १ हजार ८ सय हो । तर, हाल १ हजार ४ सय मात्रै चिकित्सक कार्यरत छन् । यो भनेको तोकिएको दरबन्दीभन्दा पनि ४ सयजना कम हो । यसको सोझो अर्थ कार्यरत चिकित्सकमाथि कार्यबोझ बढी हुन जान्छ । जसले गर्दा चिकित्सकले हतार हतारमा प्रेस्क्रिप्सन लेख्नुपर्ने स्थितिले पनि त्यो समस्या देखिएको हो ।’

१ करोड जनसंख्या भएको समयमा बनाएको चिकित्सकको दरबन्दी एकातिर छ भने अर्कोतिर तोकिएको दरबन्दी भन्दा ४ सय चिकित्सक कम हुँदा बिरामीको अत्यधिक चापका बीच लेखिने प्रेस्क्रिप्सनमा स्वभाविक रुपमा समस्या देखिएको डा. पाण्डेको ठम्याइ छ ।

एक जना चिकित्सकको भागमा १५ सय बिरामी हुनुपर्ने विश्व स्वास्थ्य संगठनको नीति अनुसार जाने हो भने नेपालमा ३८ हजार चिकित्सक हुनुपर्छ । तर सरकारी चिकित्सक संघले जनाएअनुसार अहिले २३ हजार चिकित्सक मात्र रहेका छन् ।

घटना नघट्न स्पष्ट प्रेस्क्रिप्सन

एउटै औषधि बारबार लेखिरहँदा बुझिहाल्छ नि भन्ने सोचले पनि प्रेस्क्रिप्सनमा सुरुको अक्षर बुझिने अन्य नबुझ्ने अक्षर लेखेको होला भन्ने अनुमान वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डाक्टर श्री कृष्ण गिरी गर्छन् । तर औषधि र मानव स्वास्थ्यमा एकदमै महत्वपूर्ण हुने भएको हुँदा चिकित्सकहरुले बुझ्ने अक्षरमा प्रेस्क्रिप्सन लेख्न जरुरी हुने कुरा उनी बताउँछन् । हतारमा र लामो समय देखि एउटै औषधि लेखिरहँदा क्लिनिकमा बुझिन्छ भन्ने विश्वास पनि लेखिएको हुन सक्छ भने कतिपयले चाहिँ कमिशनको लागि पनि नबुझ्ने अक्षरमा लेख्ने गरेको गुनासो आइरहेको वरिष्ठ डा.गिरीको भनाइ छ । तर यस्तो गर्नु सरासर गलत भएको उनी बताउँछन् ।

डाक्टरको ‘हेलचेक्र्याइँ’: बिरामीले दुःख पाइरहेका छन्

युवराज भुसाल आफूले प्रेस्क्रिप्सन नबुझेको खण्डमा सम्बन्धित अस्पतालमा बुझ्ने या बिरामीलाई फेरि सोध्नको लागि पठाउने गर्छन् । तर यो नै समस्याको समाधान होइन । निजी अस्पतालमा आधा घण्टा एक घण्टाको लागि आउने या हप्तामा एकदिन मात्रै आउने डाक्टरहरु पनि हुन्छन् । त्यस्तो स्थितिमा समयमा औषधि खानुपर्ने बिरामीले प्रेस्क्रिप्सन नबुझदा लामो समयसम्म कुर्नुपर्ने अवस्था पनि आउने गरेको भुसाल बताउँछन् ।

नबुझिने अक्षरमा लेखिने प्रेस्क्रिप्सनले ठाडै पार्ने असर भनेको विरामीको स्वास्थ्यमा नै हो । खासगरी, नबुझिने अक्षरमा लेखिएको प्रेस्क्रिप्सनले गर्दा एउटा रोगको औषधी खानुपर्नेमा उस्तै उस्तै सुनिने र देखिने तर अर्कै रोगको उपचारमा प्रयोग हुने औषधि खानपुग्ने सम्भावना निक्कै बढेर जान्छ ।

फार्मसिस्ट भुसाल भन्छन्, ‘काठमाडौँको डाक्टर एक दिनको लागि उपत्यका बाहिर उपचारको लागि जाने पनि छन् । बाहिरको बिरामीले प्रेस्क्रिप्सन नबुझदा फेरि कति दिनसम्म डाक्टरलाई कुर्नुपर्ने समस्या हुन्छ ।’

डाक्टर जस्तो पेशाको मान्छेको अक्षर नराम्रो हुन्छ भन्नु गलत हो, यस्ता कुरा नागरिकलाई विश्वास गर्न गाह्रो हुन्छ । यो डाक्टरहरुको हेलचेक्र्याइँ हो, भुसाल भन्छन् ।

नेपाल फार्मेसी संघको महासचिव समेत रहेका भुसालले बिरामीले दुख नपाओस् भनेर आफूहरुले धेरै प्रयास गरे पनि दुःख पाइरहेको बताउँछन् । नीति नियममा रहेर प्रेस्क्रिप्सन दिने कतिपय चिकित्सकहरु भए पनि कतिपयले भने बेवास्ता गरेकै कारणले गर्दा यस्तो समस्या भएको देखिन्छ । डाक्टर अध्ययन गरेकै व्यक्तिहरुले लेख्न नजानेकै त होइन होला, बेवास्ताकै कारणले यस्ता समस्याहरु भएको उनी बताउँछन् ।

मानिसको जीवनसँग जोडिएको डाक्टरको प्रेस्क्रिप्सन स्पष्ट अक्षरमा लेख्नुपर्ने कुरा गरे पनि नलेख्नेलाई के कार्वाही हुन्छ भन्ने सरकारको नीति नभएको हुँदा चिकित्सकहरुले बेवास्ता गर्ने गरेको फार्मेसी सञ्चालकहरुको भनाइ छ ।

अक्षर नबुझ्दा औषधि एउटा, दिइन्छ अर्को

सुरुको अक्षर बुझ्ने अन्य अक्षर नबुझ्दा क्लिनिकले लेखिएको औषधि भन्दा अलग एउटै नाम गरेको फरक औषधि यही हो भन्दै दिने समस्याहरु पनि आउने गरेका छन् । ‘एउटै नामको जस्तो बुझिने अर्काे औषधि दिनु भनेको नितान्त गलत र विरामीको स्वास्थ्यमाथि खेलवाड हुने काम भएको,’ डा. गिरी बताउँछन् ।

अन्य देशमा गलत प्रेस्क्रिप्सनको कारणले बिरामीको निधननै हुने जस्ता समस्याहरु आइरहेका छन् । तर नेपालको सन्दर्भमा यस्तो घट्नाका बारेमा खासै अध्ययन भएको पाइँदैन । तर ‘त्यस्तो अवस्था आइलाग्न नदिनको लागि चिकित्सकले बुझ्ने अक्षरमा प्रेस्क्रिप्सन लेख्ने र एउटै नामको औषधि हो भन्दै अर्काे औषधि दिने काम रोक्न जरुरी रहेको’ डा. गिरीको भनाइ छ ।

‘यो औषधि पनि उही हो भनेर उस्तै नाम भएको औषधि फरक पनि हुन सक्छ त्यसैले प्रेस्क्रिप्सन नबुझदा अनुमानको भरमा एउटै औषधि हो भनेर दिने झन धेरै छन् । यस्तो काम रोक्न अत्यन्त जरुरी छ’, डा. गिरी थप्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह गरिसकेका वरिष्ठ डाक्टर गिरी भन्छन्, ‘प्रेस्क्रिप्सन नबुझ्ने अनि प्रेस्क्रिप्सनमा लेखिएको औषधि क्लिनिकमा छैन भने पनि अन्य औषधिले पनि काम गर्छ भनेर जथाभावी औषधि दिने कामलाई तत्काल रोक्न जरुरी देख्छु ।’

यो समस्यालाई नियन्त्रण गर्नको लागि औषधि व्यवस्था विभाग, फार्मेसी काउन्सिल, नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तरगत या निजी फार्मेसीहरुमा अनुभवी फार्मसिस्ट हुनुपर्ने उनको धारणा छ ।

मर्न सक्छन् बिरामी

नबुझिने अक्षरमा लेखिने प्रेस्क्रिप्सनले ठाडै पार्ने असर भनेको विरामीको स्वास्थ्यमा नै हो । खासगरी, नबुझिने अक्षरमा लेखिएको प्रेस्क्रिप्सनले गर्दा एउटा रोगको औषधी खानुपर्नेमा उस्तै उस्तै सुनिने र देखिने तर अर्कै रोगको उपचारमा प्रयोग हुने औषधि खानपुग्ने सम्भावना निक्कै बढेर जान्छ ।

यस्तो घटना नेपालमा कतिको हुने गरेको छ भन्नेबारेमा आजसम्म औपचारिक अध्ययन अनुसन्धान भएको पाइँदैन । तर छिमेकी देश भारत, बंगलादेश लगायत विश्वका अन्य देशहरुमा यस्ता घटनाहरु हुने गरेको समाचार बारम्बार आउने गरेका छन् ।

काउन्सिल भन्छ – केही सुधार भएको छ

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर दिलीप शर्माले भने ‘प्रेस्क्रिप्सनमा लेखिने अक्षरमा केही सुधार आएको’ बताए ।

रातोपाटीसँग कुरा गर्दै डा. शर्मा भन्छन्, ‘चिकित्सकको आचारसंहितामा नागरिकको हितको कुरा पनि राख्न एकदमै आवश्यक भएको हुँदा बुझ्ने अक्षरमा प्रेस्क्रिप्सन गर्नुपर्ने कुरालाई काउन्सिलले उल्लेख गरेको हो । अक्षर नबुझ्दा गलत औषधि सेवनले बिरामीलाई समस्या भएको खण्डमा डाक्टर ३ महिना निलम्बनमा पर्ने छन् ।’

‘अस्पष्ट प्रेस्क्रिप्सनका कारण बिरामीको स्वास्थ्यमा समस्या पर्यो भने कारवाहीको लागि काउन्सिलमा निवेदन दिन सकिने तर अहिले सम्म त्यस्तो निवेदन काउन्सिलमा नआएको’ रजिस्ट्रार डा. शर्माले बताए ।

यो एक वर्षको अवधिमा कति डाक्टरमा प्रेस्क्रिप्सनमा सुधार आयो भन्ने कुनै पनि अनुसन्धान नगरिए पनि केही मात्रामा सुधार आएको काउन्सिलको अनुमान छ ।

स्मरण रहोस्, काउन्सिलले प्रेस्क्रिप्सनको बारेमा चिकित्सकको आचारसंहितामा स्पष्टसँग लेख्नुपर्ने प्रावधान राखेको एक वर्ष भयो । नेपाल मेडिकल काउन्सिलको कोड अफ इथिक्स– २०१७ को पृष्ठ १७ मा औषधि सिफारिश गर्दा ९ध्जष्भि उचभकअचष्दष्लन mभमष्अष्लभ० भन्ने शीर्षकमा सम्बन्धी व्यवस्था गरिएको छ । सो व्यवस्थामा प्रष्टसँग लेखिएको छ– यो अत्यन्तै महत्वपूर्ण छ कि यस किसिमको प्रेस्क्रिप्सन क्यापिटल अक्षरमा वा छापिएको वा पूर्णतः पढ्न सकिने गरी लेखिएको हुनुपर्छ ।

छिमेकी देश भारतमा पनि त्यहाँको मेडिकल काउन्सिलले प्रेस्क्रिप्सन लेख्दा सफा पढ्न सकिने अनि क्यापिटल लेटर लेख्नुपर्ने आचारसंहिता जारी गरेको छ । त्यसबाहेक, प्रेस्क्रिप्सनमा रोगको पूर्ण र विस्तृत विवरण पनि लेख्नुपर्ने व्यवस्था गरिएको छ ताकि उपचारमा गल्ती हुने स्थिति नरहोस् ।

अस्पष्ट प्रेस्क्रिप्सनले गर्दा गलत औषधि सेवन गरेर उजुरी परे डाक्टर कानुनी दायरामा पर्ने छन् । बिरामीको पुर्जामा चिकित्सकले लेख्दा औषधिको सिफारिस (प्रेस्क्रिप्सन) नबुझेको गुनासो बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले बुझिने अक्षर र भाषामा प्रेस्क्रिप्सन लेख्न आग्रह गरेको थियो ।

कतिपय चिकित्सकले औषधि प्रेस्क्रिप्सन गर्दा त्यही फार्मेसीले मात्र बुझ्ने गरी कोड भाषामा लेख्ने आरोप पनि लाग्दै आएको छ । चिकित्सकसँग काउन्सिलले बुझ्दा भने बिरामीको लोडको कारणले नबुझ्ने अक्षरमा लेख्नु परेको जनाएका छन् । उता औषधि ऐन, २०३५ मा भने प्रेस्क्रिप्सन गर्दा स्पष्ट रुपमा लेख्नुपर्ने बारेमा पनि उल्लेख गरिएको छैन ।

विश्वव्यापी समस्या

त्यसो त नबुझिने लेखाइ नेपालको मात्रै हैन, यो विश्वव्यापी समस्याको रुपमा नै रहँदै आएको छ । गत सालको कुरा मात्रै हो, बंगलादेशको अदालतले प्रेस्क्रिप्सन लेख्दा बुझने अक्षरमा लेख्नुपर्ने वा छापेर दिनुपर्ने आदेश नै जारी गरेको थियो ।

नबुझिने प्रेस्क्रिप्सन लेखिनु भनेको पन्छाउन सकिने स्वास्थ्यसेवासँग सम्बन्धित हेलचेक्र्याइँभित्र पर्दछ । त्यसो त अमेरिका जस्तो विकसित देशमा पनि वर्षेनी ४० हजारमानिस पन्छाउन सकिने सविभिन्न खालका स्वास्थ्य समस्याहरुका कारण मर्ने गरेको र तीमध्ये ७ हजारभन्दा बढी मानिसहरुको मृत्यु त डाक्टरको अक्षर नबुझिने हुनुकै कारण भएको भनी सन् २००६ मा अमेरिकी इन्स्टिच्यूट अफ मेडिसिनले रिपोर्ट निकालेको थियो ।

त्यसअनुसार, अस्पष्ट लेखाइ, थोप्ला गलत ठाउँमा लेखिनु, छोटकरीमा लेखिने औषधिको मात्रा जनाउने अक्षर अस्पष्ट हुनु जस्ता कारणले विरामीको ज्यान जोखिममा पर्ने गरेको छ । त्यसै गरी, सेन्टर फर एड्भान्समेन्ट अफ हेल्थले सन् २००७ मा गरेको अध्ययनमा उस्तै उस्तै औषधि बुझिने गरी अस्पष्ट गरी प्रेस्क्रिप्सन लेखिने गरेको पाइएको थियो ।

के हुन सक्छ समाधान ?

यस समस्याको एउटै भरपर्दो समाधान भनेको प्रिन्टेड प्रेस्क्रिप्सन नै हो । विश्वव्यापी रुपमै र नेपालमै पनि कतिपय अस्पताल, क्लिनिकहरुमा प्रिन्टेड प्रेस्क्रिप्सन दिने चलन शुरु भएको पाइन्छ । त्यसो त नेपाल जस्तो देशमा प्रिन्टेड प्रेस्क्रिप्सन लागू गर्न खर्चिलो र सीपको हिसाबले केही असजिलो र तत्कालै लागू गरिहाल्न सकिने विकल्प नहुन सक्छ ।

यस्तो अवस्थामा समस्याको तत्कालीन र ठोस समाधान भनेको फेरि पनि विरामी र चिकित्सकको अनुपात बृद्धि गर्ने अनि चिकित्सकहरुले पनि प्रेस्क्रिप्सन लेख्दा आचारसंहिताको पालना गर्दै शुद्ध, प्रष्टसँग बुझिने अक्षरमा रोगको विवरणसहित लेख्नु नै हो । यस दिशामा सरकार तथा सम्बन्धित निकाय गम्भीर हुनु जरुरी छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #औषधि #औषधिकाे प्रयोग #नबुझिने प्रेस्क्रिप्सन #प्रेस्क्रिप्सन