विश्व स्वास्थ्य संगठनका अनुसार, संसारभर १९ करोडभन्दा धेरै मानिस आयोडिन कमीका कारण पीडित छन् ।
नेपालमा पनि धेरै थाइराइड पीडित छन् ।

बढ्दो व्यस्तता, भागदौडको तनावपूर्ण जिन्दगी अनि अस्वस्थ खानपानले पछिल्लो समय मानिसमा रोग बढिरहेको छ । जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण अहिले हरेक मान्छेमा केही न केही स्वास्थ्य समस्या भएकै हुन्छ । कसैलाई डायबिटिज, कसैलाई प्रेसर, कसैलाई मोटोपन त कसैलाई स्ट्रोक ।

जीवनशैलीका कारण इन्डोक्राइन डिसअर्डर बढिरहेको छ, यसले मधुमेह र थाइराइडको समस्या देखिन थालेको छ । थाइराइडको समस्या अहिले नेपाली समुदायमा देखिएको प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक हो । नेपालमा हुने मृत्युमध्ये ०.२ प्रतिशत इन्डोक्राइनमा हुने उतारचढावका कारण हुने चिकित्सक बताउँछन् । इन्डोक्राइन हुनुमा आयोडिनको कमी प्रमुख कारण मानिन्छ । नेपाल स्थायी रूपले नै आयोडिनको कमी हुने मुलुकमा पर्छ ।

थाइराइड के हो ?

थाइराइड शरीरको एक ग्रन्थी हो । हाम्रो शरीर करोडौँ कोष मिलेर बनेको हुन्छ । ती कोषको विकासमा थाइराइड हर्मन अत्यावश्यक हुन्छ । थाइराइड हर्मोनविना बाँच्न नै असम्भव हुन्छ ।

शरीरका कोष तथा तन्तुलाई विकास र परिपक्व बनाउने थाइराइड सबै मानिसमा हुन्छ । यसकारण थाइराइड हुनु समस्या होइन । तर, थाइराइडमा आउने उतारचढाव समस्या हुन सक्छ ।

शरीरमा आवश्यकभन्दा बढी थाइराइड हर्मोन बढी (हाइपर), कम (हाइपो) हुनु वा थाइराइड हर्मोनको असामान्य रुपमा उत्पादन हुनु समस्या हो ।

मानिसका लागि अत्यावश्यक थाइराइड हर्माेनको उत्पादन थाइराइड ग्रन्थीले नै गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको बीच भागमा हुन्छ ।
जब थाइराइड हर्मोन उत्पादनमा उतारचढाव आउन थाल्छ, तब समस्या देखिन थाल्छ । शरीरमा धेरै मात्रामा थाइराइड हर्मोन हुने अवस्थालाई हाइपरथाइरोइडिजम् भनिन्छ ।

त्यस्तै, कम मात्रामा हर्मोन उत्पादन हुनु हाइपोथाइरोइडिजम् हो । थाइराइडलाई नियन्त्रण गर्ने अर्को ग्रन्थी टाउकोमा हुन्छ, जसलाई ‘पिट्युटरी’ भनिन्छ । पिट्युटरीको नियन्त्रणमा रहेर थाइराइडले हर्मोन उत्पादन गर्छ । पिट्युटरीबाट आउने ‘थाइराइड स्टिमिलेटिङ हर्मोन’ (टिएसएच) का कारण थाइराइड ग्रन्थीले ‘टि–थ्री’ र ‘टि–फोर’ नामक हर्मोन उत्पादन गर्छ ।

शरीरलाई आवश्यक परेमा ‘टिएसएच’का साथै ‘टि–थ्री’ र ‘टि–फोर’ बढी मात्रामा उत्पादन हुन्छ । शरीरलाई आवश्यक नपरेमा थाइराइड ग्रन्थीले पिट्युटरीमा ‘नेगेटिभ फिडब्याक’ पठाएर टिएसएच कम उत्पादन गर्ने गराउँछ । जसअनुसार पिट्युटरीले ‘टिएसएच’ कम उत्पादन गर्छ र त्यसकै कारण थाइराइड ग्रन्थीले पनि ‘टि–थ्री’ र ‘टि–फोर’ कम उत्पादन गर्छ ।

थाइराइड समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ तर यो पुरुषको तुलनामा महिलामा धेरै हुन्छ । पुरुषको तुलनामा महिलालाई ‘हाइपरथाइरोडिथजम्’ वा ‘हाइपोथाइरोडिजम्’ हुने सम्भावना १० गुणा बढी हुन्छ । महिलासँगै बालबालिकामा पनि यो समस्या देखिन्छ । महिला गर्भवती छन् र थाइराइडको समस्या छ भने हर्मोनलाई तत्काल सच्याउनु जरुरी हुन्छ । गर्भावस्थामा थाइराइडको समस्या भए गर्भमा रहेको बच्चा र आमा दुवैको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।

थाइराइड समस्याले गर्भावस्था र सुत्केरी भएपछि पनि बच्चाको जीवनमा असर गर्छ । गर्भावस्था भनेको विशेष अवस्था हो । बच्चाको मस्तिष्कको विकास गर्भमा रहेको पहिलो तीन महिनामा बढी हुन्छ । त्यतिबेला जति आमाले पौष्टिक आहार पाउँछिन्, त्यति नै बच्चा फूर्तिलो र तेजिलो हुन्छ । थाइराइड समस्यामा हर्मोनलाई सन्तुलनमा ल्याएर उपचार गर्न सकिन्छ । हाइपरथाइराइडिजम्ले अन्य स्वास्थ्य समस्यालाई बढाउन सक्छ, जसकारण उपचारमा समस्या आउन सक्छ ।

थाइराइडका लक्षणहरू 

खाना कम रुच्ने,

शरीर मोटाउँदै जाने

बच्चाको शरीर मोटाउँदै गए पनि उमेर अनुसार उचाइ र दिमाग भने

विकास नहुने

गर्भ तुहिने, गर्भ नबस्ने

कपाल झर्ने, तथा शरीर आलस्य हुने

महिनावारी अनियमित हुने

छाला तथा अनुहार फुस्रो देखिने

हाइपरथाइरोइ (डिज्म हार्मोनको उत्पादन बढी)

१. एक्कासि धेरै मात्रामा तौल घट्नु।

२. मुटुको धड्कन तीव्र तथा अनियमित हुनु।

३. हतास तथा चिट्चिटाहट हुनु।

४. हातहरू काम्नु।

५. धेरै पसिना आउनु।

६. कपालले हाँगा हाल्नु, झुरनिु, झर्नु।

७. मैनावारी नहुनु वा अल्प मात्रामा हुनु।

८. पटक-पटक दिसा लाग्नु।

९. सामान्य र चिसो तापक्रममा पनि बढी गर्मी हुनु।

१०. निन्द्रा नलाग्नु।

११. सास फेर्न गाह्रो हुनु।

१२. आँखाहरू ठूला देखिनु।

१३. जोर्नीहरू दुख्नु।

1४. कमजोर अनुभव हुनु।

१५. घाँटीमा गलगाँडजस्तै बढ्नु।

१६. बच्चाहरूमा अध्ययन क्षमतामा ह्रास, बानी व्यवहारमा समस्या देखिनु।

१७. मुटुको रोग भएका प्रौढलाई छाती धेरै दुख्नु, सास फेर्न गाह्रो हुनु।

१८. मांसपेशी विशेष गरी काँध र जाँघ कमजोर हुनु।

हाइपोथाइरोइडिज्म (हार्मोनको उत्पादन कम)

१. कपाल र छाला सुक्खा हुनु ।

२. नङहरू टुट्नु/झुरो हुनु।

३. छाला पहेँलो देखिनु।

४. अरुचि भए पनि तौल बढ्नु।

५. सुस्त हुनु।

६. छाला चिसो हुनु।

७. चिसो सहन नसक्नु।

८. थकित र कमजोर हुनु।

९. स्मरण समस्या, डिप्रेसन तथा एकाग्रतामा कमी हुनु।

१०. कब्जियत हुनु।

११. महिनावारी अनियमित तथा धेरै हुनु।

१२. त्यसबाहेक घाँटीमा गलगाँडजस्तो बढ्नु, हातखुट्टा, पैताला, मुख तथा आँखामुनि सुन्निनु, स्वर धोद्रो तथा भास्िसएको हुनु, मांसपेशीमा पीडा हुनु, बाउँडिनु, कोलेस्ट्रोल बढ्नु।

१३. बच्चाहरूमा अरुचि, वृद्धिमा ह्रास, जन्डिस, कमजोरी तथा स्मरणशक्तिमा ह्रास हुनु। कुनै कुनै बच्चामा अस्वाभाविक तौल बढ्नु तथा यौवनावस्था ढिलो आउने पनि हुन्छ।

कारण

टक्सिक एडेनोमास

थाइराइड ग्रन्थीमा गाँठा बन्छन् र थाइराइड हर्मोनलाई प्रभाव पार्न सक्छ । यसले शरीरको केमिकल सन्तुलनलाई बिगार्न थाल्छ । केही भागमा यस्ता धेरै गाँठा हुन्छन् ।

सबएक्युट थाइरोइडाइटिस

थाइराइडमा हुने जलनले ग्रन्थीबाट धेरै हर्मोन चुहावट हुन थाल्छ, जसले अस्थायी रूपमा हाइपरथाइरोइडिजम् सिर्जना गर्न सक्छ । सामान्यतः यो केही हप्तामा समाप्त हुन सक्छ तर कहिलेकाहीँ महिनौँसम्म पनि भइरहन सक्छ ।

थाइराइड ग्रन्थी हटाउने

थाइराइड ग्रन्थी शल्यक्रिया गरेर हटाइएको वा केमिकल प्रयोग गरेर नष्ट गरिएको हुन सक्छ ।

आयोडाइडमा अत्यधिक असर पर्नु

रुघाखोकी र साइनसका औषधि, मुटुको औषधि लगायतले हाम्रो शरीरमा हुने आयोडिनमा अत्यधिक मात्रामा असर पारेको हुन सक्छ । विगतमा पनि थाइराइडको समस्या भएमा हाइपोथाइरोइडिज्मको जोखिम बढ्छ ।

के खाने ?

सागपात, तरकारी, फलफूल, बेरीहरू, अंगुर, केरा, ब्राउन राइस

आयोडिनयुक्त नुनको सेवन गर्ने

अण्डा, ओखर, बदाम खाने

नौनी, ओट्स, तिल, एपोकाडो

माछा, माछाको तेल, आलसको तेल, ओलिभको तेल

के नखाने ?

चिनीलगायत गुलियो पदार्थ कम खाने

भटमास, तोरीको साग, गेडा तोरी, तोरीको तेल,

फास्ट फुड, जंक फुड,

क्लोरिन हालिएको पानी, वियर, रक्सी, कफी नखाने,

क्रिम, बोसोयुक्त मासु, रातो मासु

केक, तारे भुटेको खाना, चुरोट, पान, सुपारी, पान मसला, कोल्ड ड्रिङ्स

घरेलु उपचार कसरी गर्ने ?

दैनिक सूर्य स्नान, योग ध्यान, तथा अन्य व्यायाम गर्ने

तनाव व्यवस्थापन समयमा नै गर्ने,

मनलाई पवित्र बनाउने

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

कसरी पहिचान गर्ने डिप्रेसन ? यसको कारण र लक्षणहरू के–के हुन् !

डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ ।

डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ ।

कुल जनसङ्ख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ । यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ । डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ ।

खासगरी डिप्रेसनका रोगीहरू मुटुको रोगले मर्ने सम्भावना रहन्छ । त्यसैले समयमै नजिकको मानसिक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु राम्रो हुन्छ । मानसिक रोग विशेषज्ञले डिप्रसनको उपचार औषधि र मनोवैज्ञानिक उपायले गर्दछन ।

के हो डिप्रेसन ?

डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने हुन्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ ।

सुरुसुरुमा पीडित व्यक्तिमा त्यति धेरै नकारात्मक विचारहरू नआउलान् । तर चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् ।

क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मार्ने चाहना उत्पन्न हनु थाल्छ र चरमसीमा आत्महत्यासम्म पुग्न सक्छ ।

डिप्रेसनका कारणहरू

१. वंशाणुगत

२.जीवनका तनावपूर्ण घटनाहरू जस्तै प्रीयजनको मृत्यु, वियोग आदि ।

३. केही औषधीहरू खास गरी रक्तचापका बिरामीलाई दिइने औषधी र स्टेरोइड औषधीहरूले डिप्रेसन गराउनसक्छ ।

४. लामो समयदेखि मधुमेह, मृगौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ । त्यस्तै थाइरोइड ग्रन्थीको गडबडीले पनि डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।

डिप्रेसनका लक्षणहरू

१. मन उदास वा दिक्क भइरहने, कुनैपनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने ।

२. खुसीहुनुपर्ने कुरामा पनि खुसीहुन नसक्ने हिनताबोध हुने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने ।

३. निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौनइच्छामा कमी हुने, खाना खान मन नलाग्ने ।

४. भविश्यप्रति नैराश्यता छाउने, बाँच्नु बेकार छ भनेर मर्ने इच्छा पलाउने तथा आत्महत्याको विचार आउने ।

६. टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरूको मासिकस्राव अनियमित हुने जस्ता लक्षण देखा पर्छन ।

७. केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन ।

८. धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।

डिप्रेसनका मनोवैज्ञानिक लक्षण

१. निरन्तर चिन्ता लिनु

२. स्वास्थ्यको विषयमा चिन्तित रहनु

३. नकारात्मक विचार मनमा आउनु

४. भ्रामक विचार मनमा आउनु

५. काममा मन नलाग्नु

६. स्वभाव चिडचिडा हुनु

७. सानोतिनो कुरामा रिस उठ्नु

८. मनस्थितिमा परिवर्तन

९. पागल जस्तो व्यवहार गर्नु

१०. एक्लै बस्न मन पराउनु

११. नराम्रो सपना देख्नु

१२. कहिल्यै खुशी हुन नसक्नु

१३. कम बोल्नु

१४. डर लाग्नु

डिप्रेसनका शारीरिक लक्षण

१. टाउको दुख्नु

२. मुटु काँप्नु

३. खाना निल्नमा समस्या

४. उल्टी आउनु

५. बारम्बार बाथरुम जानु

६. शरीर पहेँलो हुनु

७. श्वास प्रश्वास छोटो हुनु

८. रिंगटा लाग्नु

९. मांसपेशीमा दुखाई

१०. मुटुको धड्कन बढ्नु

११. शरीर काँप्नु

१२. पसीना आउनु

१३. ब्लड प्रेसर घटबढ हुनु

१४ थकावट हुनु

डिप्रेसनको पहिचान गर्ने तरिकाहरू

सामान्य डिप्रेसन रागको पहिचान लक्षणहरूका आधारमा गरिन्छ । तर केही अवस्थाहरूमा थप जाँचहरूको पनि आवस्यकता पर्छ । जस्तै थाइरोइड ग्रन्थीको जाँच, टाउकोको सिटीस्क्यान र अन्य जाँच पनि गर्न सकिन्छ ।

डिप्रेसनका बिरामीहरूले ध्यान दिनुपर्ने कुराहरू

१. चिकित्सकले लेखे बमोजिमको औषधि खानुपर्छ । आफूले नै औषधिको मात्रा घटबढ गर्ने वा औषधि छाड्ने गर्नु हुदैन ।

२. जाँड, रक्सी तथा अन्य लागुपदार्थको सकेसम्म सेवन गर्नु हुदैन ।

३. सन्तुलित एवं पौष्टिक भोजन खाने गर्नुपर्छ ।

४. आफ्नो समस्या एवं चिन्ताहरूलाई साथीभाइ एवं परिवारसँग व्यक्त गर्दा आफूलाई राम्रो महशुस हुन्छ ।

५. औषधि सेवन गर्दा गर्दै पहिलेको भन्दा फरक लक्षण देखापरेमा वा डाबर आएमा वा जिउ चिलाएमा तथा गर्भवती भएमा तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ ।

६. कसरत गरेमा राम्रो महशुस हुन्छ ।

७. सकेसम्म आफनो दैनिक काम जारी राख्नु पर्छ तर आफैंलाई तनाब हुनेगरी काम गर्नु हुदैन ।

८. डिप्रसन भएको अवस्थामा जीवनका महत्वपूर्ण निर्णयहरू गर्नुहुदैन ।

९. औषधि सेवन गर्दा गर्दै कुनै शारीरिक रोग लागेमा, जचाउनु परेमा आफूले खाइरहेको औषधिको बिवरण सम्बन्धित चिकित्सकलाई बताउनु पर्छ ।

परिवार र साथीभाइको भूमिका

१.आफनो परिवार र मित्रमा डिप्रेसनको लक्षण देखिएमा उसलाई उपचार गर्नका लागि प्रोत्साहित गर्नुपर्छ । यो धेरै जनालाई हुनेसमस्या हो र उपचारले राम्रो हुन्छ र उपचारको लागि चिकित्सकको मद्दत लिनु कमजोरीको लक्षण होइन भन्नेकुरा राम्ररी सम्झाउनु पर्छ ।

२. डिप्रेसन भएका मानिसहरूसँग समय बिताउनुहोस, उनीहरूसँग गफ गर्नुहोस् र उनीहरूलाई हौसला प्रदान गर्नुहोस ।

३. उनीहरूले राम्ररी भोजन गरे–नगरेको ख्याल गर्नुहोस् र उनीहरूलाई जाँड, रक्सी खानबाट निरुत्साहित गर्नुहोस् ।

४. उनीहरूले आत्महत्याको कुरा गरेमा त्यस कुरालाई गम्भिरताकासाथ लिनुहोस । यो कुरा चिकित्सकलाई बताउनुहोस तथा बिरामीलाई कडा निगरानीमा राख्नुहोस् ।

५. बिरामीलाई बिष, डोरी र हातहतियारको पहुँचबाट पर राख्नुहोस् ।

६ चिकित्सकले लेखेबमाजिमको औषधि बिरामीले खाएको छ की छैन भनेर हेर्नुहोस् । यदि खाएको रहेनछ भने उसलाई आफनो निगरानीमा खुवाउनुहोस् ।

डिप्रेसन नहोस् भन्न च्याउ

हालैको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्छ । बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको यो अनुसन्धान ‘साइन्टिफिक रिपोर्ट’मा प्रकाशित छ ।

सिलोकाइबिन च्याउ डिप्रेसनले प्रभावित व्यक्तिको मस्तिष्कको मुख्य तन्त्रको कार्य प्रणालीलाई पुन: सक्रिय तुल्याउन सक्षम हुने उक्त अनुसन्धानमा उल्लेख छ । अध्ययनअन्तर्गत डिप्रेसनग्रस्त केही बिरामीको उपचार सिलोकाइबिन (एउटा मनोसक्रिय पदार्थ, जुन च्याउमा पाइन्छ) बाट गरे ।

अनुसन्धानमा ती बिरामी सामेल थिए जसको रोग पारम्पारिक उपचारका माध्यमले निको पार्न सम्भवभएको थिएन । अनुसन्धानअनुसार, उपचार गरिएको केही साता पछि सिलोकाइबिन लिने रोगीमा रोगको लक्षणमा कमी देखिन थाल्यो ।

चिनीले यसरि बढाउछ डिप्रेसनको खतरा

धेरै चिनी मिसाइएको पेय पदार्थ, केक र मिठाई खाने मानिस बढी डिप्रेसनको शिकार भन्ने, एक नयाँ अध्ययनअनुसार गरिएको छ । चिनीको अधिक प्रयोग र डिप्रेसनबीच बलियो सम्बन्ध भएको पाए । अध्ययनमा समावेश सबैभन्दा बढी चिनी सेवन गर्ने अर्थात् एक दिनमा ६७ ग्रामभन्दा बढी चिनी उपभोग गर्ने मानिसमा सामान्य मानसिक समस्या हुने सम्भावना दैनिक ३९.५ ग्राम उपभोग गर्नेको भन्दा २३ प्रतिशत बढी छ ।

युनिभर्सिटी कलेज अफ लन्डनका अनुसन्धानकर्ताले सन् १९८० को दशकमा भएको ह्वाइट हल सेकेन्ड स्टडीका लागि छानिएका पाँच हजार पुरुष र दुई हजार महिलाको खानामा प्रयोग गरिएको चिनी र उनीहरूको मानसिक स्वास्थ्य समस्यालाई दाँजेर हेरेका थिए ।

उनीहरूले चिनीको अधिक प्रयोग र डिप्रेसनबीच बलियो सम्बन्ध भएको पाए । अध्ययनमा समावेश सबैभन्दा बढी चिनी सेवन गर्ने अर्थात् एक दिनमा ६७ ग्रामभन्दा बढी चिनी उपभोग गर्ने मानिसमा सामान्य मानसिक समस्या हुने सम्भावना दैनिक ३९.५ ग्राम उपभोग गर्नेको भन्दा २३ प्रतिशत बढी छ । डिप्रेसनका कारण मानिसले धेरै चिनीयुक्त खानेकुरा सेवन गर्छन् कि भनेर अनुसन्धानकर्ताले अनुमान गरेका थिए, तर त्यस्तो नभएको पत्ता लाग्यो ।

युसिएल इन्स्टिच्युट अफ इपिडिमियोलजी एन्ड हेल्थका लेखक आनिका नुपेलले भनिन्,‘हाम्रो स्वास्थ्यमा अधिक चिनीयुक्त खानपानको धेरै प्रभाव पर्छ । तर, हाम्रो अध्ययनले यो देखायो कि विशेषगरी पुरुषमा चिनी र मुड डिसअर्डरका बीच पनि सम्बन्ध रहेछ । मुड डिसअर्डरका अनेकौँ कारण छन् तर अधिक चिनीयुक्त खाद्य र पेय पदार्थ यस्तो सिन्का हो, जसले ऊँटको ढाड भाँच्न सक्छ ।

अध्ययनले चिनीको सेवन र महिलाको नयाँ मुर्ड डिसअर्डरबारे भने केही सम्बन्ध पाएन र यसको कारणबारे पनि कुनै स्पष्टता छैन । लामो जनसंख्यामा चिनी–डिप्रेसन असरबारे धेरै अनुसन्धान जरुरी छ ।

चिनी सेवन र मानसिक स्वास्थ्यलाई प्रश्नावलीमार्फत मापन गरिएको थियो । खानपानसम्बन्धी अनुसन्धानको एउटा समस्या भनेको आफूले खाने खानेकुराबारे मानिसले पूर्ण सत्य नभन्न सक्छन् । तर ‘मानिसले आफूले के खान्छु भन्ने कुरा बढाइचढाई गरेर भन्ने सम्भावना कम छ ।

पुरुषको नतिजा एकदम बलियो थियो, तर महिलामा त्यति बलियो थिएन । एउटा कारण यो हुनसक्छ कि महिलाहरू अध्ययनमा कम प्रतिनिधित्व गर्थे । तर नेसनल डाइटरी सर्भेले पनि पुरुषहरू महिलाभन्दा बढी चिनी सेवन गर्छन् भन्ने कुरा बताउँछ ।

नुपेल भन्छिन्,‘चिनीले हाम्रो स्वास्थ्यमा पुर्‍याएको भौतिक क्षतिको प्रमाण वृद्धि हुँदै छ । हाम्रो अध्ययनले युकेको सुगर लेभीजस्ता नीतिगत कार्यको औचित्यलाई बढावा दिन्छ । तर, धेरै युरोपेली देशले यसको सम्बोधन गरेको छैन ।

साइन्टिस्ट रिपोर्ट जर्नलमा प्रकाशित यो अध्ययनपत्र चिनी र डिप्रेसनको सम्बन्ध देखाउने पहिले रिपोर्ट भने होइन । नुपेलका अनुसार पहिले कम्तीमा तीनवटा अनुसन्धान भइसकेका छन्, जसले उनीहरूको यो निष्कर्षलाई सपोर्ट गर्छ ।

किंग्स कलेज लन्डनका प्रोफेसर टम क्यान्डर्सले भने निम्न आर्थिक सामाजिक अवस्था, धूमपान जस्ता कारणले अध्ययनको नतिजालाई प्रभाव पारेको हुन सक्ने बताए । लेखक तथा प्रोफसर एरिक ब्रुनरले भने,‘हाम्रो अध्ययनले चिनीयुक्त खाना र पेय पदार्थबाट सकेसम्म टाढा रहनका लागि कारण प्रस्तुत गरेको छ । त्यसैले आगामी २०१८ को अप्रिलदेखि लागू हुने सफ्ट ड्रिंक्समा चिनी करसम्बन्धी व्यवस्था राम्रो निर्णय हो ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि