आजको युगमा पनि लाज तथा सर्ंर्कीणताका कारणले कतिपय विरामीहरूले पायल्स, फिस्टुला जस्ता रोगहरूलाई लुकाएर बसिरहेका छन् । करिब ६०-७०% नेपालीहरूलाई मलद्वार वरिपरि कुनै न कुनै समस्या हुने गरेको छ ।

कतिपय बिरामीहरूले आफ्नो रोगको बारेमा आफ्नो साथी तथा परिवारलाई समेत भन्दैनन् । आजको यो सूचना र सञ्चारको युगमा पनि सही सूचना तथा जानकारीको अभावमा धेरै बिरामीहरू बेलैमा आफ्नो रोगको उपचार गर्नबाट बञ्चित रहेका छन् ।

मलद्वार वरिपरि विभिन्न रोगहरू उत्पन्न हुन सक्छन् । तिनमा पाइल्स, फिस्टुला, फिसर, साइनस, पिलोनिडल साइनस आदि प्रमुख हुन् । यिनीहरूमध्ये पनि पाइल्स, फिस्टुला र फिसरका रोगहरू बढी पाइन्छन् ।

यी रोगहरूको बेलैमा र सही उपचार नगरेमा विरामीले कष्टपूर्ण जीवनयापन गर्नुपर्ने हुन्छ भने बेलैमा र सही उपचार गर्दा पूर्ण रूपमा निको हुन्छ । यी रोगबारे चर्चा र बहस पनि बढाउन जरुरी छ । तसर्थ यहाँ यी रोगबारे बेग्लाबेग्लै चर्चा गरिएको छ ।

पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन् । किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन् । अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थितले यो रोग बढ्दो छ ।

यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन् । हुन त धेरै मानिस यी सबैलाई पाइल्स भन्दै झुक्किरहेका पनि हुन्छन् । तर यी तीन रोगमा भिन्नता छ । आयुर्वेदमा पाइल्स वा हेमोरहोइडलाई अर्स, फिस्टुला–इन–एनोलाई भंगन्दर र फिसर–इन–एनोलाई परिकर्तिका भनिन्छ ।

विभिन्न कारणले यी रोग हुने भए तापनि कब्जियत अर्थात् दिसा कडा हुनु नै यसका मुख्य कारण हुन् । रोग बल्झिने र निको नहुने कारण पनि यही हो । आम मानिसमा यी रोगसम्बन्धी व्यापक भ्रम, डर र जानकारीको कमी देखिन्छ । मानिसहरुले मलद्वारमा केही पनि समस्या हुँदा पाइल्स, क्यान्सर भयो भन्दै अस्पताल धाउँदै गरेका भेटिन्छन् ।

मलद्वारभित्र र वरिपरि रक्तसिराहरु हुन्छन् । यी रक्तसिराहरु सुन्निने, मासु पलाएझैं ठूलो हुने समस्यालाई अर्स अर्थात् पाइल्स भनिन्छ । यो भित्री र बाहिरी गरी दुई प्रकारको हुन्छ । मलद्वारभित्र हुने अर्समा दिसा कडा हुँदा घाउ भई दुखाइरहित मलद्वारबाट रगत जाने हुन्छ ।

ठूलो हुदै जाँदा दिसा बस्दा त्यो मासु बाहिर आउने, सुरुसुरुमा आफैं भित्र जाने, पछिपछि औंलाले धकेल्नुपर्ने वा बाहिर नै बसीराख्ने पनि हुन्छ । बाहिरी अर्स पाइल्स भने मलद्वार वरिपरिका सिराहरु सुन्निएर हुने गर्दछ ।

भगन्दर अर्थात् फिस्टुला–इन–एनो भनेको दुई मुख भएको बाटो जस्तो हो, जसको भित्री मुख मलद्वार भित्र वा पक्वासयमा हुन्छ भने बाहिरी मुख मलद्वारको बाहिरी भागमा हुन्छ । पटकपटक संक्रमण भई बाहिरी मुखबाट पिप, रगत, दिसा आदि आउने हुन्छ ।

संक्रमण हुँदा अत्यन्त कष्टकर हुने र पिप निस्किसकेपछि केही दिन आराम हुने हुन्छ । तर पछि फेरि संक्रमण भई यो प्रक्रिया लगातार चलिरहने हुन्छ ।

परिकर्तिका अर्थात् फिसर–इन–एनो भनेको दिसा कडा भई निस्किँदा मलद्वारको छाला च्यातिनु हो । यसमा अत्यन्त पीडा हुनुका साथै जलन, चिलाउने, दिसामा धर्को जस्तो रगत देखिने हुन्छ। यस्तो धेरै लामो समयसम्म भइरहँदा त्यहाँ मासु पनि पलाउने हुन्छ, जसलाई सेंटिनल टैग भनिन्छ ।

पाइल्स

मलद्वार वरिपरिका रोगहरूमध्ये सबैभन्दा बढी मात्रमा पाइने रोग पाइल्स हो। यो मलद्वार भित्रबाट वा मलद्वार बाहिरबाट पनि उत्पत्ति भएको हुन सक्छ। यसलाई चलनचल्तीको भाषमा अर्श, हषा, बबाशिर पनि भनिन्छ ।

यो रोग मूलत खानपान र पाचन क्रियामा भर पर्दछ । रेशादार खानाको कम सेवन तथा प्रशोधित र मैदाबाट बनेका खानाको बढी सेवन तथा फास्ट फुड, जंक फुडको बढी सेवन, माछा, मासु, अण्डाको बढी सेवन, मसलेदार तथा गरम मसला युक्त खानेकुराको बढी सेवन गर्नेलाई यो रोग लाग्ने सम्भावना हुन्छ । यस्ता खानेकुराले कब्जियत गराउँछ र पाइल्स रोगको मुख्य कारण निरन्तर कब्जियत भइरहनु हो ।

जब कुनै व्यक्तिलाई कब्जियतका कारण दिसा गर्दा बल लगाउनुपर्ने अवस्था आउँछ, तब पाइल्स रोग देखा पर्ने सम्भावना बढी हुन्छ। धुम्रपान र मद्यपानका कारण पनि यो रोग लाग्न सक्छ। कुनै निश्चित समयमा नै दिसा गर्ने बानी नबसालेमा पनि मलद्वारमा घाउ भई यो रोग देखा पर्न सक्छ। कुनै पाइल्स वंशाणुगत पनि हुन सक्छ।

लक्षण

लक्षणका हिसाबले पाइल्सलाई निम्न ४ अवस्थमा विभाजन गर्न सकिन्छ।

१) पहिलो अवस्था 

दिसा भइसकेपछि मलद्वारबाट रगत बग्नु। रगत ताजा हुनु, रगतको धारा नै बहनु वा तप तप गरी बहनु तर दुखाइ नहुनु यो अवस्थाको लक्षण हो।

२) दोस्रो अवस्था 

यस अवस्थामा दिसा गर्दा रगत बग्ने समस्या हुँदैन। बरु दिसा गर्दा मलद्वार भित्रबाट मासुको पिण्ड मलद्वार बाहिर निस्कने र दिसा गरी सकेपछि पुनः आफै भित्र छिर्ने गर्दछ।

३) तेस्रो अवस्था 

यस अवस्थामा दिसा गर्दा मास पिण्ड मलद्वारबाट बाहिर निस्कन्छ तर आफै भित्र छिर्दैन। उक्त मांस पिण्डलाई बिरामीले आफ्नो हातले भित्र पसाउनु पर्ने हुन्छ ।

४) चौथो अवस्था 

यो पाइल्सको अन्तिम तथा जटिल अवस्था हो । यस अवस्थामा दिसा गर्दा बाहिर निस्किएको मांसल पिण्ड बाहिर नै रहिरहन्छ । बिरामीले आफ्नो मलद्वार हातले मलद्वार भित्र पसाउँदा पनि केही बेर पछि पुनः बाहिर निस्किएर रहन्छ ।

यी माथि उल्लिखित अवस्थाहरूमा वणिर्त लक्षणहरूका अलावा दिसा कब्जियत हुनु, मलद्वार वरिपरि चिलाउनु, ओसिलो स्राव बग्नु आदि लक्षणहरू पनि देखिन्छन् ।

पाइल्स एउटा सामान्य रोग भए तापनि यो अत्यन्त कष्टप्रद हुन्छ । यो चौथो अवस्थामा पुगिसकेपछि मलद्वारबाट निस्कएको मांस पिण्ड बन्द मलद्वारबाट च्यापिएर अन्यन्त पीडा हुने तथा उक्त मांस पिण्डलाई रक्तसंचार गर्ने रक्तनलीहरूमा अवरोध आई मांसपिण्ड विस्तारै सड्न थाल्दछ । यसरी सडिरहेको मांसपिण्डमा किटाणुहरूको संक्रमण हुन्छ । ती किटाणुहरू सम्पूर्ण शरीरमा फैलिन सक्छ र शरीरका विभिन्न अंगहरू संक्रमण फैलिन सक्छ ।

उपचार 

पाइल्स एउटा सामान्य रोग हो । यसको समयमा ने उपचार गर्दा सजिलै निको हुन्छ । पाइल्सको पहिलोदेखि तेस्रो अवस्थासम्म औषधीको सेवनबाट नै सन्चो हुन्छ भने चौथो अवस्था र कदाचित तेस्रो अवस्थामा औषधी सेवनबाट पनि सन्चो नभएमा सामान्य शल्यक्रियाबाट समूल उपचार गर्न सकिन्छ । यस रोगको उपचार गर्न विभिन्न चिकित्सा विधाहरू मध्ये आयुर्वेद र शल्य क्रिया गर्ने विभिन्न तरीकाहरू मध्ये क्षारसूत्र नै सबैभन्दा सफल छ ।

फिस्टुला

मलद्वार वरिपरिको सरसफाइको कमीका कारणले उत्पन्न हुने मलद्वार वरिपरिका रोगहरू मध्येको प्रमुख रोग फिस्टुला हो । यो फिस्टुला एक नली आकारको घाउ हो जसको बाहिरी मुख मलद्वार वरिपरिको छालामा र भित्री मुख मलाशय -मलद्वार भित्र मल संचय हुने ठूलो आन्द्रा) मा खुलेको हुन्छ । यो घाउ नली आकारको लामो र कसै कसैमा बाङ्गाे हुने हुनाले यसभित्र पटक पटक संक्रमण भइरहन्छ ।

मलद्वार वरिपरि दिसा गरिसकेपछि राम्रोसंग सरसफाई नगर्नाले यो रोग निस्कन्छ । सरसफाइको कमीले गर्दा मलद्वार वरिपरिका ग्रन्थीहरूमा संक्रमण हुने, मलद्वार वरिपरि पिलोहरू उत्पन्न भइरहने र फुटिरहने सिलसिला चलिरहँदा यस्तो नली आकारको फिस्टुलाको उत्पत्ति हुन्छ । अन्य केही रोगहरू जस्तै टि.बि., सिफिलिज जस्ता रोगहरूका कारण पनि फिस्टुलाको उत्पत्ति हुन्छ ।

लक्षण 

मलद्वार वरिपरि फिस्टुलाको बाहिरी मुखबाट समय समयमा पिप निस्करहने, दुख्ने, चिलाउने आदि फिस्टुलाका लक्षण हुन् । यो रोग, बढी पिडादायी नभए पनि रोगीको दैनिकीलाई असजिलो बनाउने खालको हुन्छ ।

उपचार 

फिस्टुलाको उचित उपचार शल्यक्रिया नै हो। फिस्टुलाको आधुनिक चिकित्सा विज्ञान अनुसारको शल्यक्रिया गर्दा धेरै पार्श्वप्रभावहरू र जटिलताहरू थपिने गरेका छन् भने आयुर्वेदिक विधिद्वारा गरिने क्षार सूत्र शल्य क्रिया अत्यन्त सफल तथा पार्श्वप्रभाव रहित छ ।

फिसर

मलद्वार वरिपरि हुने रोगहरूमा सबै भन्दा पिडादायक रोग फिसर हो । निरन्तर कब्जियत हुँदा दिसा गर्न बल लगाउने क्रममा मलद्वार तथा मलाशयको भित्री छाला -भित्रि भित्ताको पत्र) च्यातिएर बनेको घाउलाई फिसर भनिन्छ । फिसर पुरुषमा भन्दा महिलाहरूमा बढी हुने गर्दछ र यो प्रायः मलद्वारको पछिल्लो पट्टि भागमा हुने गर्दछ ।

फिसर रोगको मुख्य कारण कब्जियत नै हो । कब्जियतका कारण दिसा गर्न बल लगाउँदा मलद्वार तथा मलाशयको भित्रि भित्ता च्यातिन गई यो रोग उत्पन्न हुन्छ । कब्जियत गराउने खानपान जस्तै : माछा, मासु, अण्डाको बढी सेवन गर्दा, मैदाबाट बनेको खानेकुरा फास्ट फुड तथा जंक फुडको बढी सेवन गर्दा यो रोग लाग्छ । त्यसै गरी रेसादार खानेकुरा, हरियो सागपात, तरकारी फलफूल आदिको कम सेवन तर मसलेदार र गरम मसला बढी हालेको खानेकुराको बढी सेवन गर्नेलाई यो रोग लाग्ने सम्भावना अधिक हुन्छ ।

लक्षण 

दिसा गर्ने समयमा अन्यन्त पीडा हुनु, दिसा गरिसकेपछि पनि मलद्वार दुखिरहनु पोलिरहनु र दिसाको अन्तमा थोरै मात्रामा ताजा रगत देखा पर्नु यस रोगका लक्षण हुन् । त्यसै गरी अन्य समयमा पनि मलद्वार दुख्नु चिलाउनु, ओसिलो हुनु आदि अन्य लक्षण हुन् । फिसर पूरानो भएपछि फिसर भएको स्थानको माथी मलद्वार बाहिर मांस पिण्ड देखिन्छ । यी लक्षणका अलावा निरन्तर कब्जियत हुनु र दिसा गर्दा पिडा हुने हुनाले दिसा गर्न डराउनु आदि लक्षण देखा पर्छन् ।

उपचार 

फिसर रोग औषधी सेवनबाट नै सन्चो हुने रोग हो । यसलाई शल्यक्रियाबाट पनि उपचार गर्न सकिन्छ । तर शल्यक्रियाबाट भन्दा औषधी सेवनबाट नै उपचार गर्नु राम्रो हुन्छ । यो रोगको पनि आयुर्वेद पद्धतिबाट उपचार एकदम सफल तथा प्रभावकारी छ ।

अन्तमा, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी भएकोले लाज, संकीर्णताले रोग पालेर बस्नुभन्दा रोगको उपचार गराउनु बुद्धिमानी हुन्छ । यस्तो रोगको उपचार गछौर्ं भनी ठगी गर्ने पनि छन् । त्यसैले आफ्नो रोगको परीक्षण तथा उपचार आधिकारिक अस्पताल तथा विज्ञ चिकित्सकद्वारा गराउनु बुद्धिमानी हुन्छ ।

आफूलाई उपचार गर्ने चिकित्सकको परिचय र उसको दक्षताको बारेमा प्रत्येक बिरामीले थाहा पाउनुपर्छ । यसले विरामी स्वंयको चेतनाको स्तर बढ्नुको साथै प्रचार प्रसारको आडमा बिरामीको उपचारको नाममा ठगी गर्ने प्रवृत्तिको पनि अन्त्य हुन्छ ।

लेखक डा सर्वेश्वर सौरभ

नेपालको मौलिक चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेद चिकित्सामा यी रोगहरुको अत्यन्त प्रभावकारी, सरल, सस्तो, भरपर्दो र उपद्रवरहित उपचार उपलब्ध छ । पेट सफा राख्ने, दिसा नरम, खुलस्त र नियमित बनाउने जड़ीबुटीयुक्त औषधिहरु एकदम प्रभावकारी र दुष्प्रभाव (साइडइफेक्ट) रहित छन् ।

त्यस्तै स्नेहन, स्वेदन, लेप, विरेचन, वस्ति, घृत, लेप आदिको पनि प्रयोग गरिन्छ । आवश्यक परे शस्त्र कर्मअन्तर्गत क्षारसूत्र विधिको प्रयोग अर्स, भंगन्दर र परिकर्तिकाको सेंटिनल टैगमा गरिन्छ । रोगीलाई पूरै बेहोस गर्नु नपर्ने, घाउ कम हुने, कम दिन अस्पताल भर्ना भई बस्नुपर्ने, कम समयसम्म औषधि खानुपर्ने, फेरि बल्झिने वा रोग पुनः हुने अवस्था अत्यन्त न्यून हुने भएकाले आजकल यो विधि एकदम प्रचलित छ ।

यसमा कब्जियत बारे जानकारी लिन पनि अत्यन्तै जरूरी छ । किनभने कब्जियत जस्ताे राेगलाइ ध्यान नदिएर पाइल्स, फिस्टुला र फिसर राेगहरू हाम्राे शरीरमा भित्रिने गर्छ ।

कब्जियत (constipation) भनेको के हो?

दिसा समयमा नहुने वा हुँदा निकै बल गर्नु पर्ने अवस्थालाई कब्जियत (constipation) भनिन्छ । सामान्यतय हप्तामा कम्तिमा ३-४ पटकसम्म दिसा हुनुलाई राम्रो मानिन्छ । तर दिनहु दिसा हुनेलाई पनि कब्जियत हुन सक्छ । त्यसकारण Constipation को ब्याख्या व्यक्ति अनुसार फरक पर्न सक्छ ।

गलत खानपान, वोसोयुक्त खानेकुराको सेवन तथा पानीको कम सेवनका कारण कब्जियतको समस्या हुने गर्छ । कब्जियत भएमा पेट सफा हुँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पिडा हुने गर्दछ । धेरैले कब्जियतलाई सामान्य रुपम लिन्छन् तर समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या निम्त्याउने भएकाले समयमै सर्तक हुन जरुरी छ ।

कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउन सक्छ । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।

त्यसैले, हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ, जसमा भरपूर मात्रामा फाइबर पाइयोस्, विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो।

# कब्जियत हुँदाका लक्षण

१. दैनिक विहान दिसा खलाश हुने गरी नहुन, दिसा कडा हुनु, बारंबार दिसा हुनु ।

२. भोक नलाग्नु ।

३. पेट भारी हुनु, पेट फुल्नु ।

४. ग्यासको समस्या हुनु ।

५. दिशा खलास नहुनु, दिशा कडा र सुख्खा हुनु ।

६. आलस्य, चिडचिडापन हुनु, अनिद्रा हुनु ।

७. टाउको दुख्नु, वाकवाक लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु ।

# उचित विहार

विहारको गडबडीले पनि कब्जियत हुन्छ । विहार भन्नाले हामीले शरिर हल्लाएर गर्ने सबै गतिविधि हुन् । त्यसैले विहार जहिले पनि उचित हुनुपर्छ ।

१.उठ्दा, बस्दा, उभिँदा, हिँड्दा, जुनसुकै काम गर्दा जहिले पनि ढाड खुकुलो सिधा राख्नुपर्छ । जसले सबैतिर रगत संचालन सुचारु हुन सहयोग पुग्छ । विहार अनुचित गरेमा ढाड दुख्ने, नशा च्यापिने जस्ता समस्या आउनुकासाथै पाचन कृयामा गडबडी भई कब्जियत हुन्छ ।

२. खाना छिटो छिटो खाने बानीले पनि कब्जियत हुन्छ । खाना छिटोछिटो खानाले खाना ¥यालसंग मुछिन पाउँदैन र पाचन कृया ढिला हुन्छ । फलस्वरुप खाना भित्रै अड्किन्छ ।

३. त्यसैगरी एउटा खाना र अर्को खाना खाने समयको अन्तर करिब ४ देखि ५ घण्टा हुनुपर्छ । वीचमा घण्टा घण्टामा पानी मात्र लिनुपर्छ । वीचमा अर्को खाना खाएमा पहिलेको खाना पनि पच्न पाउँदैन र पछिको खाना पनि पच्न सक्दैन र कब्जियत हुन्छ ।

३.सुत्ने र उठ्ने समय नमिल्नाले पनि कब्जियत हुन्छ ।

–बेलुकी खाना खाने वित्तिकै सुत्नु हुँदैन । खाना खाएको करिब एक–डेढ घण्टापछि मात्र सुत्नु पर्छ । खाना खाने वित्तिकै सुत्नाले खाना पच्न ढिलो हुन्छ ।

–बिहान ढिला उठेमा पनि पचेर बाहिर निश्कासन हुन तयार भएको मल निस्कासन हुन पाउँदैन त्यसैले बेलुकी दस बजे र बिहान पाँच बजे उठ्नु उत्तम हुन्छ ।

४. दिशा बस्दा गर्ने गतिविधिले पनि कब्जियत हुन जान्छ । दिशा गर्दा बल बलले गर्नु हुँदैन । बल गर्दा मलद्धारमा घाउ हुने जस्ता समस्या हुन्छ।

# रोकथाम

१. प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।

२. चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ ।

३. काम र आरामको निश्चित तालिका बनाउनुपर्छ । आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ । निश्चित समयमा काम गर्ने, निश्चित समयमा खाने र निश्चित समयमा आराम गर्ने बानी बसाल्नुपर्दछ ।

४. दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।

५. धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन ।

६. धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।

७. भोकै उपवास या कोची कोची धेरै खाना खाने गर्नुहुदैंन ।

८. तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।

९. सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल, मैदा बदला चोकर सहितको मोटो, पीठो, चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।

१०. बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।

११. खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।

१२. मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।

घरेलु उपचार

१. सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।

२. इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी, दूध या अरु झोल कुरासँग पिउने ।

३. राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।

४. एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।

५. अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ । – अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।

६. गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।

७. १ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।

८. दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।

९. घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।

१०. सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।

११. सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।

१२. खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने । – तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।

१३. बिहानको समय ३–४ कि।मि हिंडडुल गर्ने ।

कब्जियत हटाउने यस्ता छन् उपाय

१. धेरै रेशायुक्त खानेकुरा खाने

आफ्नो भोजनमा सागसब्जी, फलफूल र होल ग्रेनजस्ता रेशायुक्त खानेकुरा समावेश गर्नुपर्छ । भोजनमा सागसब्जी र फलफूलको मात्रा बढी हुनुपर्छ । रेशा (फाइबर)ले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ । तर दुधजन्य पदार्थ, मासु र तयारी (चाउचाउ र यस्तै प्याकेटका) खानेकुरा कब्जियत नहटुन्जेल भरसक नखाने र खाए पनि थोरै मात्र खाने । किनभने यी खानेकुरा रेशायुक्त हुँदैनन्।

२. पानी धेरै पिउने

हाम्रो पाचन प्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी धेरै पिउने, पानीले पाचन प्रणालीलाई निष्काशन गर्नुपर्ने विकार वा फोहर बाहिर निकाल्न सघाउँछ भने कतिपय अनावश्यक र बढी खनिज तथा भिटामिन निष्काशनमा पनि सघाउँछ ।

बिहान शौचालय जानु केही बेरअघि एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गर्ने । यसले पनि पेट सफा गर्न सघाउँछ।

३. व्यायाम

शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त बनाउँछ र राम्रोसँग काम गर्न सघाउँछ । अर्थात ठोस भोजनलाई सहज रुपमा पाचन प्रणालीले पचाउँदै अगाडि पठाउँछ । त्यसैले सकेसम्म दैनिक रुपमा नै केही न केही व्यायाम गर्नाले कब्जियत घटाउन मद्दत पुग्छ।

४. नित्यकार्यका लागि बाथरुम जाने

कब्जियत छ भनेर शौचालय जान बन्द नगर्ने । जति बेला दिसा लागेजस्तो हुन्छ वा नलागे पनि सधैं शौच जाने समयमा शौचालय जाने । साथै पेट सफा हुन जति समय लागे पनि समय दिने ।
कहिलेकाहीँ यी नै उपायले पनि कब्जियत कम हुनसक्छ भने कतिपय अवस्थामा नहुन पनि सक्छ । त्यस्तो बेला कब्जियत हुने कारण पत्ता लगाउनु पर्ने हुनसक्छ ।

अरु कब्जियत कम गर्ने तरिकाहरु

१. राति चाँडै सुत्ने, बिहान ब्रम्ह मुहर्त (घाम झुल्किनु भन्दा ९६ मिनेटअगाडि देखि घाम झुल्किँदा सम्मको समय) भित्र उठिसक्ने। उठ्नेबित्तिकै १ लिटरजति मनतातो पानी पिउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पुर्यािउँछ।

२. दैनिक ३० मिनेटको व्यायामलाई जीवनशैलीको अभिन्न अंग बनाऔँ। अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता क्रियाकलापले शरीर तथा पाचन प्रणालीलाई मजबुत राख्न सहयोग पुर्यााउँछ।

३. भोजनको समय निश्चित गरी उही समयमा मात्र भोजन गर्ने गरौँ। रातिको भोजन सकभर सूर्यास्त आसपासको समयमा होस्। भोजनलगत्तै सुत्ने बानी कब्जियतको मुख्य कारणमध्ये एक हो। भोजन गर्दा चपाइचपाइ खाने गरांै। भोजनको समयमा बातचित गर्ने, उठीउठी वा टिभी, कम्प्युुटर अथवा मोबाइलमा व्यस्त रहेर भोजन गर्नेहरूमा कब्जियत ज्यादा पाइएको छ।

४. खानामा मौसमी तथा स्थानीय (लोकल) अन्न तथा सागसब्जीको विशेष समायोजन होस्। सागसब्जी, सलाद तथा रेसादार फलफूलको समायोजनले कब्जियत नियन्त्रण गर्न सहयोग गर्छ।

५. मल त्यागको समयमा मनलाई पूर्ण रूपमा मल त्याग गर्नमा नै लगाऔं। शौचालयमा बसेर अखबार पढ्ने, गीतसंगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिष्कले मल त्याग सम्बन्धी सूचना सम्बन्धित अंगहरूलाई दिने बिलम्ब गर्ने हुुँदा कब्जियत हुने सम्भावना रहन्छ।

फलत

अंगहरूमा विषाक्त बढ्न गई महत्वूर्ण अंगहरूको कार्य क्षमतामा कमी आउँदा अनेक रोग देखिन सक्छ। पूर्वीय स्वास्थ्य विज्ञानहरूको मत अनुसार कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रि्रक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउँछ।

मानसिक समस्या जस्तै

डर, चिन्ता, खिन्नता, उदासिनता, अनिद्रा, यौनशक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्यक्षमता गडबड हुनु, सर्दीले सताइ रहनु, ज्वरो, खोकी बल्भि्करहनु, मांसपेसी तथा नसा-नाडीहरु कमजोर हुनु, अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हार्मोनको मात्रा घटवड भइरहनु लगायत समस्या पनि आउँछ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

याे भिडियाे पनि हेर्नुहाेस्

Topics #कब्जियत #पाइल्स #फिसर #फिस्टुला