आँखा हाम्रो शरीरको संबेदनशील अङ्ग मध्ये एक हो । जसलाई हामीले अत्याधिक ध्यान दिनु जरुरी हुन्छ । वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, बढ्दो फोहोरजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन् ।

संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन् ।

गर्मी मौसममा आँखाको स्याहार गर्नु निकै आवश्यक छ । जाडो मौसममा भन्दा पनि गर्मी समयमा बढी मात्रामा आँखाकाे समस्या हुने गरेको आँखा अस्पतालमा बढेको भीडले सजिलै पत्ता लगाउन सकिन्छ ।

आँखाको समस्या देखिँदा सुरुको अवस्थामा रातो हुने आँखाबाट धागोजस्तो लामो चिप्रा आउने, उज्यालोमा हेर्न समस्या हुने र चिलाउने हुन्छ । यसलाई सिजनल एलर्जिक कन्जन्टेभाइटिस पनि भनिन्छ ।

यो कुनै कीटाणुको कारण नभई वातावरणसँगै आँखामा आउने समस्या हो । गर्मी मौसममा धुलो, धुँवा, बढी हुने तथा रुखमा फूल फुलेर झर्ने हुनाले पनि एलर्जी बढी देखा पर्छ । यसका कारण आँखा चिलाउने, रातो देखिने, चिप्रा आउने, आँखा मैलो हुनुका साथै नानीमा समेत सेतो दाग देखा पर्नसक्छ ।

जसको कारण कहिलेकाहीँ नानीमा सङ्क्रमण भई दृष्टिसमेत गुम्न सक्छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा दैनिक आँखा चिलाउने, आँसु आउने, सुन्निने, रातो हुनेलगायतका समस्या लिएर आउने बढेको बताउनुहुन्छ नेत्र विशेषज्ञ डा इन्दुप्रसाद ढुङ्गेल ।

राजधानीमा बढ्दो प्रदूषणका कारणले पनि आँखाको बिरामी अझ बढाएको उहाँको भनाइ छ । यस्तो खालको आँखाको समस्या देखिएमा आँखा सफा पानीले सफा गर्ने र बाहिर हिँड्दा राम्रो खालको चस्मा लगाउने गर्नुपर्ने नेत्र विशेषज्ञको भनाइ छ ।

यतिमात्र होइन घरमा पनि फूल फुलेको, पालुवा पलाउँदै गरेको बिरुवा नचलाउने, नजिक नजाने, घरपालुवा जनावर कुकुरबिरालो जस्ता जनावरलाई नचलाउने गरेमा आँखामा हुने सङ्क्रमणबाट बच्न सकिन्छ । किनकि यस्ता बस्तुमा भएको पराकणले आँखामा समस्या हुने सम्भावना बढाउन सक्छ ।

वयस्क मात्र होइन बालबालिकालाई धेरै समय कम्प्युटरमा बस्न नदिने, प्रदूषित वातावरणमा नजाने, हरियो सागपात बढी मात्रामा खाने, भिटामिन ए युक्त फलफूल पनि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

कम्प्युटर चलाउँदा वा टिभी हेर्दा केही समय आराम र चिसो पानीले मुख धुनु उपयुक्त हुने चिकित्सक बताउँछन् । गर्मी मौसममा हुने यस्ता समस्याबाहेक डरलाग्दो लक्षण भनेको उज्यालोमा हेर्न गाह्रो हुने हो । यस्तो समस्या भएमा तुरुन्त जाँच गराउनुपर्दछ ।

यी समस्याबाट बच्न के गर्ने ? जानी राखौं ।

१. आँखामा जथाभावी औषधि नराख्ने

२. कचेरा आएमा आँखालाई हातले नछुने

३. आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने

४. आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।

५. गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने६. आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने

७. आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने

८. आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने

९. आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने

१०.आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने

आँखाका केही समस्या यस्ता छन्

१.कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने रोग

आँखा पाक्ने रोगलाई ‘कन्जन्टिभाइटिस’ पनि भनिन्छ । यसलाई गुलाबी आँखा पनि भन्ने गरिन्छ । आँखाको सेतो भागमा समस्या भएका बेला आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने गर्दछ ।

यो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । तर, यसले दीर्घकालीन असर भने गर्दैन । समयमै उपचार गरेको खण्डमा यो रोग सजिलै निको हुन्छ । धुलो, धुवाँ, प्रदुषण औषधि तथा कस्मेटिक्सको एलर्जीले पनि आँखा चिलाउने, पाक्ने, सुन्निनेलगायत समस्या हुने गर्दछ ।

२.स्टाई अर्थात् आनो

यो संक्रमण परेलाको मुन्तिर सेवासियस ग्लाण्डमा हुने गर्छ । यो आँखाको बाहिर र भित्र दुबै ठाउँमा हुने गर्छ । यसलाई आनो अथवा ‘अन्धो’ पनि भनिन्छ ।

यसले हाम्रो शरीरलाई ठूलो हानी नोक्सानी गर्दैन । विशेष गरी यसमा पानी र पीपको मात्रा बढी हुन्छ । यसलाई बेस्सरी निचोरेको खण्डमा यसमा भएको किटाणु धेरै ठाउँमा सर्ने सम्भावना रहन्छ । त्यसैले यसलाई चाँडै सर्ने रोग पनि भनिन्छ ।

यसको संक्रमण हुँदा तातो बाफले सेक्नु अथवा पुदिनाको मसाज लिनु लाभदायक मानिन्छ । कुनै-कुनै अवस्थामा यसलाई निको पार्न औषधि तथा एन्टीवायोटिक प्रयोग पनि जरुरी हुन्छ ।

३.आँखा सुख्खा हुने

यो समस्या भएका व्यक्तिको आँखा चिलाउने, जलन हुने तथा आँखा सुख्खा हुने गर्छ । विशेष गरी आँखामा धेरै जलन भएमा आँखा धमिलो हुने सम्भावना रहन्छ ।

क्रमिकरुपमा परेला झिम्काइ राख्नाले पनि आँखालाई आराम मिल्छ । सामान्यतया यो समस्या बार्‍है महिना देखिने भए पनि वर्षातको समयमा फोहोर हातले आँखा समात्दा यसको संक्रमण अझ बढ्छ । यसबाहेक धुलो, धुँवा, प्रदुषणले पनि आँखाको जलनलाई बढाइरहेको हुन्छ ।

आई ड्रप्सले आँखा झिम्काउन तथा आँखाको जलन कम गर्न मद्दत मिल्छ । त्यसबाहेक आँखा दुःखेका बेला टीभी, कम्प्युटर, मोबाइलको प्रयोग नगर्ने तथा धेरैबेरसम्म किताब नहेर्नु पनि उपयुक्त मानिन्छ ।

आँखाको हेरचाह कसरी गर्ने ?

सुकेको अमला पानीमा भिजाएर उक्त पानीले आँखा सफा गर्ने ।

बेलको पातको रस छानेर दिनमा ३–४ पटक लगाउँदा आँखाको पीडा कम हुन्छ ।

तुलसीको पातको रस पनि आँखाका लागि फाइदाजनक हुन्छ ।

एक चम्चा त्रिफला चूर्ण महसँग खाने । त्रिफला भिजाएर आँखा सफा गर्दा पनि फाइदा मिल्छ ।

पैतालामा नित्य तोरीको तेल लगाउँदा आँखा दुख्ने–पोल्ने समस्या ठीक हुन्छ ।

गुलाबजलमा फिटकिरी घोलेर आँखामा लगाउँदा पीडा कम हुन्छ ।

आँखामा आनो (अन्धो) निस्कियो भने ल्वाङ पिसेर अर्थात् चन्दन जसरी घोटेर लगाइदिने ।

पानको पातको रस कपासको सहायताले लगाउँदा आनो ठीक हुन्छ ।

बाख्राको दूध अन्धो निस्किएको ठाउँमा लगाउने ।

रतन्धोको समस्यामा हरियो धनियाँको रस उपयोगी हुन्छ ।

गाईको गोबरको रस दिनमा ३–४ पटक लगाउँदा रतन्धोमा फाइदा मिल्छ |

आँखाको द्रिष्टि कसरी जाेगाउने ? यस्ता छन् ७ उपाय

१. झिम्क्याउने

निरन्तररुपमा आँखा झिम्काउन सिक्नुपर्छ । शुरुवातमा यो सचेत रहेर गर्नुपर्छ । पछि गएर यो बानी बन्ने हुन्छ । एक हरफ पढ्दा दुईपटक जति आँखा झिम्काउनु पर्ने हुन्छ । आँखा झिम्काउँदा आँखालाई आराम हुन्छ । कुनै काम गर्दा आँखा झिम्काउनाले काममा बाधा पुग्दैन किनभने आँखाका परेलीहरु नजोडिएजस्तो लाग्छ ।

२. पढाइ र लेखाइ

पढ्दा वा लेख्दा किताबलाई आँखाको धेरै नजिक राख्नुहुनन । आँखा र कितावको दूरी लगभग १२ इन्च जति कायम गर्नुपर्छ । एक घन्टाजतिको निरन्तर पढाएपछि आँखालाई आराम दिनुपर्छ । आँखालाई बन्द गरेर वा आँखामा सफा चिसो पानी छयापेर आराम दिन सकन्छि । यद्यपि, दुबै हत्केलाले आँखालाई ढाक्नु सबैभन्दा उत्तम मानिन्छ ।

३. यात्रा गर्दा पढाइ

गुडिरहेको गाडीमा पढ्ने बानीलाई हटाउनुपर्छ पढिहाल्ने भए पनि बाहिरपट्टी पछाडि गइरहेका÷छोडिएका बस्तुलाई हेर्ने क्रम निरन्तर गर्नाले आँखालाई आराम पुग्न जान्छ ।

४. रातमा पढाइ

एकदमै चम्किलो प्रकाशमा पढ्नु हुँदैन । टेबल–ल्याम्पको सहायताले पढ्दा बत्तिको उन्यालो सिधा कितावमा पर्नुहुन्न । सिधा र प्रत्यक्ष प्रकाश कितावको अलि छेउमा पर्नुपर्छ । धमिलो प्रकाशमा पनि पढ्नुहदैन । ट्युबलाइट विद्युतिय बल्बको तुलनामा पढ्नको लागि राम्रो मानिन्छ ।

५. सिनेमा टि.भीः

सिनेमा तथा टेलिभिजन कम हेर्नुपर्छ । १२ वर्षमुनिका केटाकेटीमा आँखा सम्बन्धी इतरदोष बढ्ने सम्भावना बढी हुने हँुदा यो उमेरमा धेरै टि.भी, सिनेमा हेर्न दिनुहुँदैन ।

सिनेमा टी.भी हेर्दा टाउको अलि पछाडी लगी आरामले हेर्नुपर्छ । चिउँडो अलिकति उठाउनुपर्छ ताकि माथिल्लो परेला आधा बन्द जस्तो रहोस् । निरन्तर परेला झिम्काउन बिसर्नु हुँदैन । आँखालाई आराम दिई चलाइरहनुपर्छ ।

६. सिलाइ–बुनाइ

सिउँदा वा बुन्दा सियोको चालसँगै आँखा पनि घुमाउनुपर्छ । एउटै ठाउँमा केन्द्रित नभई आँखालाई चारैतिर घुमाउनुपर्छ ।

७. चस्मा

अत्यन्त चक्किलो प्रकाशमा सस्तो र गुणस्तरहीन चस्मा लगाउनुहुन्न किनभने यसले आँखालर्य असर पु¥याउँछ । राम्रो गुणस्तरको चस्मा मात्र प्रयाृेग गर्नुपर्ने हुन्छ । एउटै एर्व निरन्तरको चस्मा लगाइ आँखाको लागी हानिकारक हुन्छ ।

आँखाको लागि प्राकृतिक प्रकाश आवश्यक र लाभदायक हुन्छ । दिन–रात चस्मा लगाउनु आँखाको लागि हानिकारक मानिन्छ । त्यसबाहेक आँखाको सहन शक्ति पनि घट्न जान्छ । कमजोर आँखा विभिन्न रोगहरुको शिकार बन्दछ । यस्तो आँखामा प्रकाश प्रति संबेदनशील र सुख्खा हुन्छ ।

किन हुन्छ आँखामा जलबिन्दु ?

जलविन्दु आँखामा हुने रोग हो । युवा तथा बालबालिकाको तुलनामा उमेर बढ्दै गएका मानिसमा यो रोग धेरै देखिन्छ । जलविन्दुको उपचार समयमा भएन भने दृष्टिविहीन हुन्छ । मधुमेह वा उच्च रक्तचाप भएकालाई पनि जलविन्दु हुने सम्भावना बढेको पाइन्छ ।

परिवारमा कसैलाई जलविन्दु लागेको भए वंशानुगत रूपमा पछिल्लो पुस्तामा सर्न सक्छ । कुनै समयमा आँखामा हुने जलविन्दु थाहा नहुन पनि सक्छ । एक्कासि आँखा बन्द भएपछि मात्र थाहा पाउन सकिन्छ । त्यसैले समय–समयमा आँखा जँचाउने गर्नुपर्छ । आँखामा देखा पर्ने सानातिना समस्याको चाँडै उपचार गराउनुपर्छ ।

जलविन्दु हुँदा आँखाको भित्री भाग बढ्छ । स्वस्थ मानिसको आँखाको नानीमा सफा पानीजस्तो तरल पदार्थ हुन्छ ।

कहिलेकाहीँ आँखाको भित्री भागमा रहेको तरल पदार्थको उत्पादन मात्रा बढी हुने हुन्छ । यस्तो वेला आँखामा प्रेसर बढ्छ । अनि बिस्तारै आँखा कमजोर हुन थाल्छ ।

आँखाको बढ्दो चापले दृष्टिसम्बन्धी स्नायु निर्माण गर्ने रेसाहरूलाई बिस्तारै बिगार्दै लैजाने गरेको पाइन्छ । हामीले जथाभावी प्रयोग गर्ने औषधिले पनि आँखामा जलविन्दु हुन सक्छ ।

कसरी बच्ने ?

जलविन्दु भएको समयमै पत्ता लाग्यो भने यसलाई केही घटाउन र दीर्घकालीन रूपमा नियन्त्रणमा राख्न सकिन्छ । आँखाको शल्यक्रिया गरेर पनि जलविन्दुको उपचार गर्न सकिन्छ । जलविन्दुको समस्याबाट छुटकारा पाउन समय–समयमा आँखा परीक्षण गराउनुपर्छ ।

आँखा पाक्ने रोग के हो, किन हुन्छ, लक्षणहरु र उपचार

आँखाको बिभिन्न समस्याहरु मध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ।

आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ।

आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ। यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।

मूलभूत कारणहरु

१. भाइरसद्वारा हुने आँखा पकुवा

यो प्राय एडेनोभाइरसको संक्रमणले हुन्छ र तिब्र सरुवा प्रकृतिको हुन्छ । यस रोगमा शुरुमा ज्वरो आउँछ, घाँटी दुख्छ र नाकबाट पानी बग्छ । आँखाबाट पानी बगिरहन्छ र आँखा मा बालुवा परे जस्तो अनुभव हुन्छ ।

२. ब्याक्टेरियाद्वारा हुने आँखा पकुवा

यो प्राय स्टाफिलोकोकस या स्ट्रेप्टोकोकस समूहका ब्याक्टेरियाको संक्रमणले हुन्छ र सरुवा प्रकृतिकै हुन्छ । यस रोगमा आँखाबाट पहेंलो, सेतो र हल्का हरियो रंगको पीप बग्दछ ।

केही विशेष खालका ब्याक्टेरिया द्वारा हुने आँखा पकुवा निम्नानुसार छन् 

१. निजेरिया समुह

(विशेष गरेर निजेरिया गनोरिया) का ब्याक्टेरियाका कारण आँखा रातो हुने, पीप बग्ने र समयमै राम्रो उपचार गरिएन भने रोगीले आँखै नदेख्ने हुन सक्छ । यो गनोरिया रोग लागेका विरामी को जननांगसँग आँखाको सम्पर्क भयो भने लाग्न सक्ने रोग हो ।

२. नवजात शिशु मा हुने गोनोकोक्कल आँखा पकुवा

यो संक्रमित आमाबाट प्रजननका बेला बच्चामा सर्न सक्ने रोग हो, जुन बच्चा जन्मेको दोस्रो दिन देखि पहिलो हप्ता भित्रै देखिन्छ ।

३. नवजात शिशुमा हुने क्लामिडिया

आँखा पकुवा संक्रमित आमाबाट प्रजननका बेला बच्चामा सर्न सक्छ जुन बच्चा जन्मेको पहिलो हप्ता पछि देखिन्छ ।

४. एलर्जी

धुवाँ, धूलो, परागकणहरु वा अन्य एलर्जी उत्पन्न गराउने कुराहरु बाट हुने आँखा पकुवा यसभित्र पर्दछन् । अकस्मात आँखा रातो हुने, चिलाउने, चिप्रा लाग्ने र कहिले काहीं वर्षैभरि रहिरहने यसका लक्षण हुन् ।

५. वाह्य वस्तुहरु

श्याम्पू, क्लोरिन, कन्ट्याक्ट लेन्स जस्ता बाह्य वस्तु बाट पनि आँखा पाक्ने रोग हुन सक्छ ।

६. क्लामिडिया आँखा पकुवा

यो क्लामिडिया नामक ब्याक्टेरिया को संक्रमणबाट हुन सक्ने रोग हो जसलाई ट्राकोमा भनिन्छ र यसले अन्धो समेत बनाउन सक्छ ।

लक्षणहरु 

१. आँखा रातो तथा गुलाबी देखिनु, चिलाउनु र पानी बग्नु

२. एउटा मात्र वा दुवै आँखा प्रभावित हुनु

३. हल्का दुख्नु वा आँखा मा धुलो, कसिंगर परेजस्तो महसुस हुनु

४. आँखाबाट पहेंलो, सेतो वा हरियो रंगको पदार्थ बग्नु

५. निदाएर उठ्दा च्याप्च्याप् लाग्ने पदार्थले आँखाका परेला एकआपसमा टाँस्सिनु

६. प्रारम्भिक चरणमा देख्ने शक्तिमा खासै फरक नहुनु

जोखिमयुक्त अवस्था

यदि तपाईंले तलका लक्षणहरु पाउनुभयो भने त्यो जटिल आँखा पकुवा रोग हुन सक्छ र तत्कालै डाक्टरलाई देखाउनु पर्दछ

१. तिब्र आँखा दुखाई

२. दृष्टिमा कमी

३. उज्यालोमा हेर्न कठिनाई

४. आँखा वरिपरिको छाला मा चाला

५. आँखा रातो हुनु सँगै लिंग वा योनिबाट सेतो पदार्थको स्राव

६. चश्मा लगाउने मानिसमा आँखाको समस्या

७. नवजात शिशुका आँखा पाकेमा

८. आँखा पाकेको लक्षण मा सुधार हुँदै नगएमा

उपचारका विकल्पहरु

विरामीको इतिहास बुझेर तथा आँखाको जाँच गरेर फिजिसियनले आँखा पकुवा रोगको उपचार गर्न सक्छन् । कहिलेकाहीं थप जाँचहरु गर्नुपर्ने र आँखारोग विशेषज्ञ सँगै परामर्श लिनुपर्ने हुन्छ । धेरैजसो एलर्जी तथा भाइरल आँखा पाक्ने रोगहरु आँफै सञ्चो हुन्छन् तर अन्य कतिपय आँखा पाक्ने समस्याको समाधान उपचारबाट गर्नु पर्छ ।

१. ब्याक्टेरियल आँखा पकुवा 

सामान्य छ भने आँफै ठीक हुन्छ । असामान्य छ भने आँखाका एन्टीबायोटिक मलम र झोलको प्रयोग गर्नु पर्छ । गोनोकोक्कल आँखा पकुवा (प्रौढ र नवजात शिशुमा) गम्भीर समस्या हो र यसलाई तत्कालै उपचार गर्नु पर्छ ।

२. भाइरल आँखा पकुवा 

आँखाको लक्षण हेरेर चिप्लो पार्ने औषधि, डिकन्जेस्टेन्ट र एन्टीहिस्टामिन समूहका आँखा मा हाल्ने झोल औषधिको प्रयोग गरिन्छ । भाइरस विरोधी निश्चित औषधि छैनन् ।

३. एलर्जीका कारण हुने आँखा पकुवा

एन्टीएलर्जी समूहका आँखामा हाल्ने झोल (एन्टीहिस्टामिन, मास्ट सेल स्टाबिलाइजर) को प्रयोग गरेर र सम्भव भएसम्म एलर्जी गराउने कुराहरु बाट टाढा रहेर यस किसिमको आँखा पाकुवाको उपचार गरिन्छ ।

४. वाह्य वस्तुहरुका कारण हुने आँखा पकुवा 

आँखा मा कन्ट्याक्ट लेन्स छ भने तेसलाई झिक्ने, श्याम्पू आदि को प्रयोग गर्दा आँखा लाई जोगाउने तथा आँखा लाई चिप्लो पार्ने किसिम को झोल औषधि को प्रयोग गर्ने गरिन्छ ।

रोकथाम वा बचावट 

१. भाइरल र ब्याक्टेरियल आँखा पकुवा सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरु प्रयोग नगर्ने । हात–मुख धुने जस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने ।

२. आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने ।

३. अत्यन्त वृद्ध वा साना शिशुसँग बढी सम्पर्कमा नरहने । किनकि तिनीहरुको रोग प्रतिरोधी क्षमता कम हुने हुँदा तिनीहरुमा चाँडो संक्रमण हुन सक्छ ।

४. एउटा आँखाबाट अर्को आँखा मा रोग नसरोस् भन्नका लागि संक्रमित आँखामा मात्र झोल औषधि को प्रयोग गर्ने र हात राम्ररी धुने ।

५. यदि स्वास्थ्य सँग तथा बालबच्चा सँग सम्बन्धित काम गर्नु पर्ने छ भने काम मा जानका लागि चिकित्सक सँग परामर्श गर्ने ।

आँखामा औषधि कसरी हाल्ने ?

आँखा हाम्रो संवेदनशील अंगमध्ये पर्छ । त्यसैले यसको देखभालका क्रममा निकै होसियारी अपनाउनुपर्छ । साना गल्तीले पनि दृष्टि गुमाउनुपर्ने जोखिम हुन्छ । आँखाको उपचार वा सुरक्षाका क्रममा विभिन्न औषधि वा ड्रप प्रयोग गरिन्छ । ती प्रयोग गर्दा निम्न कुरामा सचेत रहनुपर्छ ।

औषधि राख्ने व्यक्तिले साबुन र पानीले सफासँग हात धुने ।

फिंज नआउने गरी हल्कासँग हल्लाउने ।

औषधीको बिर्को खोल्दा भित्रको टुप्पोलाई नछुने ।

बिरामीलाई आरामसँग बसाउने वा सुताउने ।

औषधि हाल्दा औषधिका टुप्पोले आँखाको वरीपरी वा अन्य ठाउँमा नछुने ।

औषधि हाल्नु पर्ने आँखाको तल्लो भाग हल्का तान्ने ।

औषधिको बोतलबाट एक थोपा मात्र झर्ने गरि विस्तारै थिच्ने । आँखामा औषधि परेपछि तल्लो भागको परेला बिस्तारै बिचको चोरी औलाले दुई मिनेट सम्म थिचेर राख्ने वा आँखा राम्ररी चिम्लने ताकि आफूले राखेको औषधि अश्रुनली हुँदै नाक र घाँटीमा जान नपाओस् ।

औषधि प्रयोग गरिसकेपछि बिर्को राम्रोसँग बन्द गर्ने साथै बालबच्चहरुले भेट्न नसक्ने तथा घाम नलाग्ने ठाउँमा सुरक्षित राख्ने ।

आफ्नो औषधि अरुलाई प्रयोग गर्न नदिने ।

औषधि सधैँ जान्ने मान्छेलाई राख्न लगाउने ।

औषधि खोलेको तीस दिनसम्म प्रयोग गर्न सकिन्छ त्यसपछि बाँकी रहेमा प्रयोग नगर्ने ।

औषधि सधैँ चिनेर मात्र प्रयोग गरौँ र गर्न लगाऔँ ।

कसरी आँखालाई धुलो बाट जोगाउने

कतिपयको आँखामा सुख्खापन धुलोका कारण हुने गरेको पाइएको छ । आँखामा सुख्खापन भएर उपचार गराउनु भन्दा पनि यसलाई हुनै नदिनु राम्रो हुन्छ ।

जुन कारणले आँखामा सुख्खापन भएको हो त्यसको पहिचान गरेर त्यसबाट टाढा रहनु राम्रो हुन्छ ।

धुलोका कारण हुने सुख्खापन हो भने घर बाहिर निस्कँदा आँखा ढाक्ने गरी चस्मा लगाउनु पर्छ । बाहिर निस्कँदा धूलोबाट बच्ने राम्रो उपाय को रुपमा चस्मालाई लिने गरीन्छ ।

घरबाट बाहिर निस्कँदा चस्मा अनिवार्य रुपमा लगाउनुपर्छ । चस्मा लगाउन नपर्नेले पनि सनग्लास लगाउँदा आँखालाई केही हदसम्म बचाउन सकिन्छ ।

दैनिक बिहान बेलुका आँखालाई सफा पानीले धुने गर्नुपर्दछ । साथै आँखालाई समय समयमा जाँच गराउनु आवश्यक हुन्छ ।

आँखामा आनो निस्किएको छ ? यसबाट बच्ने केहि घरेलु उपाय

अम्बाका पात

अम्बाका चारवटा पातलाई पानीमा मज्जाले उमाल्नुस् । त्यसपछि त्यो पानीलाई मनतातो बनाएर आँखा सेक्नुस् । दिनमा दुईतीनचोटि सेक्दा आराम पाउनुहुनेछ ।

घिउकुमारी

घिउकुमारीको जेल दिनदिनै आनोमा तीनचारचोटि लगाउनुस् । यो लगाउँदा आँखामा पीडा, सुन्निने र फोकाफोकी आउने समस्या हट्छ ।

त्रिफला चूर्ण

आधी चम्चा त्रिफला चूर्ण बिहान बेलुका तातो दूधसँग पिउनुस् । यसले आनोबाहेक अन्य समस्या पनि हटाइदिन्छ ।

इमलीका बिउ

इमलीको बिउलाई दुई दिनसम्म पानीमा भिजाउनुस् । अनि त्यसलाई चन्दनजसरी आनोमा लेप्नुस् । आनो दुई दिनमै ठीक हुन्छ ।

बेसार

पानी तताएर त्यसमा अलिकति बेसार हाल्नुस् । त्यसलाई कपडामा भिजाएर आँखा सेक्नुस् । दिनमा तीनचारचोटि यसो गर्दा समस्या समाधान हुन्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेस्

Topics #आँखा पाक्ने #आँखा सुख्खा हुने #आँखाका केही समस्या यस्ता छन् #गर्मीमा आँखालाई जोगाउ