यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्,” निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन् ।

निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली हो,” उनी भन्छन्।पचास वर्षको अध्ययन एवम् अनुसन्धानपछि अबको विषय ‘निद्राले हामीलाई के गर्छ’ भन्ने होइन कि ‘निद्राले फाइदा नगर्ने केही छ कि’ भन्नेमा केन्द्रित हुन थालेको छ ।

निद्राले हामीलाई के गर्छ ?

निद्रा नपुगेमा हाम्रो शरीर र मस्तिष्कले राम्रो काम गर्दैन अहिलेसम्म अध्ययनकर्ताहरूले निद्राले फाइदा नगर्ने स्वास्थ्यसम्बन्धी कुरा पत्ता लगाउन सकेका छैनन् । विज्ञानले अहिलेसम्म पत्ता लगाएको कुरो भनेको निद्राको अभावमा हाम्रो शरीर र मस्तिष्कमा नाटकीय असर गर्छ भन्ने हो ।

विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ । निद्रा पुगेन भने तिनमा असर पर्छ।तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ ।

हामी कम सुत्छौँ

पर्याप्त नसुत्नु आफैँलाई हानि पुर्‍याउनु हो निद्रा हाम्रो लागि अत्यावश्यक छ । तर विकसित मुलुकको तथ्याङ्क हेर्दा हिजोआज मानिसहरू कम सुत्न थालेको स्पष्ट हुन्छ । हिजोआज मानिसहरू एक सय वर्षअघिको भन्दा औसतमा कम सुत्छन् ।

दैनिक सातदेखि नौ घण्टा सुत्दा पर्याप्त निद्रा पुग्छ । पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ । सात घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ ।

मीठो निद्रा कसरी पार्ने ?

एकदमै धेरै सुत्नु पनि स्वस्थकर हुँदैन निदाउनु भनेको तकियामा टाउको राख्नु मात्रै होइन । विश्वका धेरै मानिसहरूलाई निदाउन गाह्रो हुन्छ । विश्वका धेरै ठाउँमा हिजोआज अँध्यारो हुँदैन । किनभने हामी धेरैजसो कृत्रिम उज्यालोमा समय बिताउछौँ । अहिले हाम्रो जीवनमा धेरै धपेडी पनि हुन्छ ।

अनि हामी नपुगेको निद्रा पुर्‍याउन खालि समयको सदुपयोग पनि गर्दैनौँ । “गएको समय गयो,” प्रा. वाकर भन्छन् । तर निदाउनका लागि हामी आफैँलाई प्रशिक्षित गर्न सक्छौँ । वैज्ञानिकहरू भन्छन् – हामीले आफ्नो बानी परिवर्तन गर्‍यौँ भने राम्रो परिणाम तुरुन्तै देखिन्छ ।’ह्वाई वी स्लीप (हामी किन सुत्छौँ)’पुस्तकका लेखक प्रा. वाकरले निम्न सुझाव दिएका छन्

१.सुत्ने र उठ्ने समय नियमित बनाउनुहोस्

दिउँसो सुत्न रमाइलो होला तर राति निद्रा नपर्न सक्छ है! थाल्न सजिलो छ: सधैँ एउटै समयमा सुत्न जानुहोस् र उठ्ने समय पनि नियमित होस्।सबैभन्दा महत्त्वपूर्ण कुरा जागा रहने समय निश्चित राख्नु हो। यसले गर्दा शरीरले सुत्ने समयमा निद्रा पार्न सहयोग गर्छ।

२. अँध्यारोमा बस्नुहोस्

सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ निद्राका लागि आवश्यक महत्त्वपूर्ण हार्मोनका लागि शरीरले अँध्यारो खोज्छ । विकासको एउटा नराम्रो पक्ष भनेको हामी निरन्तर उज्यालोमा हुन्छौँ । सुत्नुअघि कोठाको उज्यालो कम गरेर हामी अँध्यारो बनाउन सक्छौँ।यसको अर्थ मोबाइल वा टीभी वा कम्प्युटरको स्क्रीनबाट पर रहनु पनि हो । स्क्रीनले ‘नीलो प्रकाश’ निकाल्छ जसले निद्राको हार्मोन मेलटोनिनको प्रभावलाई निस्तेज पारिदिन्छ । त्यसैले सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ ।

३.तापक्रम घटाउनुहोस्

कोठाको तापक्रम कम राखे निद्रा पर्न सजिलो हुन्छ प्राकृतिक रूपमै तापक्रम २४ घण्टाभित्र कहिले कम कहिले बढी हुन्छ । तापक्रम घट्दा निद्रा पनि पर्छ । तर हिजोआज हामी एउटै तापक्रममा बस्न खोज्छौँ । निद्रा पर्न हाम्रो मस्तिष्क र शरीरको भित्री तापक्रम झन्डै एक डिग्री सेल्सियसले घट्नुपर्छ । त्यसैले तापक्रम नियन्त्रण गर्न मिल्ने अवस्थामा १८ डिग्री सेल्सियसमा सुत्नुहोस् ।

४. ओछ्यान सुत्नका लागि मात्रै

सुत्न र अन्य सीमित क्रियाकलापका लागि मात्र ओछ्यानमा जानुहोस् । खाना खान, पढ्न वा खेल्न होइन।हाम्रो मस्तिष्कले छिट्टै दुई वस्तुबीच सम्बन्ध स्थापित गर्छ । त्यसैले हामीले ‘ओछ्यान सुत्नका लागि हो’भन्ने सन्देश दिनुपर्छ ।

यदि ओछ्यानमा २० मिनेटसम्म निदाउन सकिएन भने उठेर केही बेर हिँड्ने, पढ्ने वा अरू केही काम गरेर अलमलिनुपर्छ। त्यसो गर्दा फेरि सुत्न सजिलो हुन सक्छ ।

५. कफी कम खानुहोस्

दिउँसो हामी कोला, कफी, चिया वा अन्य पेयपदार्थ पिउँछौँ । तिनमा हुने क्याफिन र थिनजस्ता तत्त्वले हाम्रो स्नायुप्रणालीमा रमाइलो प्रभाव देखाउँछन् । तर प्राध्यापक वाकरको सल्लाह यस्तो छ: सुत्नु १२ घण्टाअगाडि मात्रै कफीजस्ता पेय पदार्थ पिउनुहोस्।कफीको ‘हाफ लाइफ’हुन्छ । त्यसैले यसको प्रभाव छ घण्टासम्म आधा र नौ घण्टासम्म तीनचौथाइ एक्प्रेसो खाएजति बाँकी हुने उनी बताउँछन् । त्यसैले सुत्ने बेलामा रगतमा कफीको मात्रा बाँकी नभएकै राम्रो हुन्छ ।

कुन कुन उमेरका मानिसहरुको लागि कति निद्राको आवश्यक ?

संयुक्त राज्य अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेशनले गरेको अनुसन्धानमा जनाइए अनुसार विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता पनि फरक हुने गर्छ । तपाईंले कति घण्टा सुत्नु पर्छ ?  हामीहरु प्राय:  आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं । तर पर्याप्त निद्रा भनको कति हो त ?  अमेरिकामा हालै गरिएको एक अनुसन्धानले भनेको छ त्यो तपाईंको उमेरमा भर पर्छ ।

सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ ।

अमेरिकामा भर्जीनीया राज्यको आर्लींगटनमा कार्यालय रहेको निद्रा विषयमा अनुसन्धान गर्ने एउटा संस्था न्याशनल स्लीप फाउण्डेशनका अनुसार व्यक्तिको निद्राको आवश्यकता उस्को जीवनशैलीमा आधारित हुने गर्छ ।

नवजात शिशुहरुलाई अरु उमेरका मानिसभन्दा बढी निन्द्राको आवश्यकता पर्छ, तिनीहरुका लागि १९ घण्टासम्म सुत्नु सामान्य हो । तर उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्छ ।

नवजात (०-३ महिना)

भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ । ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुंदैन ।

शिशु (४-११ महिना)

यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो। कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुंदैन ।

वामे सर्नेहरु (१-२ बर्ष)

यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ ।  यिनीहरुका लागि स्वीकार्य ‌९ देखि १६ घण्टाको निद्रा हो ।

विद्यालय जानु अघिका(३-५ बर्ष)

विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन् ।  तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरुलाई उपयुक्त हुंदैन ।

स्कुले उमेरका (६-१३ बर्ष)

अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ । ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन ।

किशोरकिशोरी (१४-१७ बर्ष)

किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो । तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ ।

युवा (१८-२५ बर्ष)

युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो । तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुंदैन ।

वयस्क (२६-६४ बर्ष)

यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरुको लागि जस्तै छ ।

बृद्ध (६५ बर्ष भन्दा माथि)

यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७-८ घण्टाको निद्रा स्वस्थ मानिएको छ । तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन ।

८ घण्टाभन्दा कम सुत्नेलाई यस्तो खतरा

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो ।

सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।

विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ ।

आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् ।

सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ ।

अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताए ।

अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।

सुत्दासुत्दै झट्का किन लाग्छ ? गहिरो निद्राका लागि अप्नाउनुहोस् एस्तो सजिलो उपाय

स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्

१. सुत्ने तालिका

सधैँ एउटै समयमा सुत्ने र उठ्ने बानी बसालेमा अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।

२. खानेकुरा

तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्‍याउँछन् ।

३. नुहाउनु

शरीर एक हदसम्म चिसो नभएसम्म मीठो निद्रा पर्दैन भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । नुहाउनैपरे पनि सुत्नुभन्दा केही घण्टाअगाडि नै नुहाउने बानी बसाल्नुपर्छ ।

४. बत्ती

बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।

५. मोबाइल

सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।

६. चुरोट

चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।

७. लेख्ने

अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको मनोचिकित्सकले बताउने गरेका छन् । उनीहरू यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुने सुझाव छ ।

८. सकारात्मक सोच राख्नुस्न

सुत्नुअघि आज राम्रा काम के–के गरियो र भोलि के–के राम्रा काम गर्न सकिन्छ भन्नेबारे विचार गर्नुस् । यसले तपाईंको मनलाई तनाव र छटपटीबाट मुक्त गराउँछ । यसको सीधा असर निद्रामा पर्छ ।

९. दिउँसो नसुत्ने

राति सुत्नाले शरीरले आवश्यक आराम पाउँछ र उठेपछि स्वस्थ र फुर्तिलो महसुस हुन्छ। दिउँसो सुत्नै परे भरसक बिहानीपख वा मध्यान्हअघि सुत्ने र २० मिनेटभन्दा बढी नसुत्ने । दिउँसो निद्रा लागे केहीबेर हिँड्ने, एक गिलास चिसो पानी पिउने वा कुनै साथीसँग एकछिन फोनमा कुरा गर्ने।

यसकारण लाग्नसक्छ सुत्दासुत्दै झट्का

कतिजनालाई सुतिरहेका समयमा अचानक झट्का महसुस हुन्छ । कसैलाई गहिरो निद्रामा सुतिरहेका बेला अचानक झट्का महसुस हुने गर्छ । त्यतिमात्र होइन, कतिपयलाई त झट्काकै कारण सुतिरहेको बेलामै पनि तल झरेजस्तो समेत महसुस हुन्छ ।

संसारका झण्डै ७० प्रतिशत मानिसले यस्तो झट्का महसुस गरिरहेका हुन्छन् । यसको मतलब के पनि हो भने मानिसहरू न त पूरै सुतेका हुन्छन्, न त पूरै उठेका नै हुन्छन् ।

कतिपयलाई भने डर, त्रास, अनिद्रा तथा निद्रा सम्बन्धी अन्य समस्याका कारण पनि यस्तो हुने गर्छ ।

यस्तो कुरा केही समयका लागि मात्र महसुस हुने गर्छ त्यसैले यसकै कारण मानिसको मृत्यु भने हुँदैन । त्यसैले त, यस्तो समस्या हुने व्यक्तिहरूले खासै गम्भीर समस्या भएको महसुस गर्दैनन् ।

यस्तो समस्या बारम्बार दोहोरिरहेको खण्डमा भने मानिसलाई अवश्य पनि एन्जाइटीको समस्या हुनसक्छ । साथै यसले निद्रा समेत बिगार्नसक्ने हँुदा जो कोही पनि यस्ता कुराबाट टाढै रहन चाहन्छन् ।

सुत्दा झट्का महसुस हुने कारण

१. क्याफिनको बढी प्रयोग

तनाव वा सुत्नुअघि मदिरा तथा क्याफिनको सेवनका कारण पनि बारम्बार यस्तो झट्का महसुस हुने गर्छ । यद्यपि यसको वैज्ञानिक पुष्टि भने भएको देखिँदैन ।

२. आइरनको कमी

साँझको समयमा धेरै एक्सरसाइज गर्दा तथा क्याल्सियम, म्याग्नेसियम एवं आइरनको कमी हुँदा यस्तो झट्का बारम्बार महसुस हुने गर्छ ।

३. निद्राको कमी

जब हामी सुत्ने कोसिस गर्छौं तब हाम्रो मस्तिष्क अर्धचेत अवस्थामा रहने गर्छ । यस्तो अवस्थामा मस्तिष्कको आधा भाग सकि्रय रहन्छ । त्यसबाहेक सुत्दा नमिलेमा वा अप्ठ्यारो गरी सुतेमा समेत यस्तो झट्का महसुस हुने गर्छ ।

४. उत्तेजित पार्ने तत्व

नसालाई उत्तेजित पार्ने औषधीका कारण वा चिकित्सकको सल्लाहविना सेवन गरिएका विभिन्न औषधीहरूको प्रयोगले पनि हाइपनिक जर्क हुनसक्छ ।

५. मांसपेशीको ऐँठन

कतिपय अवस्थामा मांसेपेशीमा हुने ऐँठनका कारण पनि हाइपनिक जर्क हुने गर्छ । विशेषगरी, मांसपेशीमा ऐँठन भएमा शरीरमा घर्षण पैदा हुन्छ, जसका कारण मांसपेशीबाट आवाज निस्कन्छ र शरीरले झट्का महसुस गर्छ ।

६. निद्रा र अनिद्राबीचको अवस्था

सामान्यतया सुतिरहँदा हाम्रो मस्तिक निद्रा र अनिद्राको बीचको स्थितिमा रहने गर्छ । यो यस्तो स्थिति हो, जसमा मस्तिकले गहिरो निद्रा लिने भरपूर कोसिस गरिरहेको हुन्छ । यो मस्तिष्कको संक्रमण काल पनि भएकाले यही अवस्थाका कारण शरीरले बारम्बार झट्का महसुस गर्छ ।

गर्मीमा राम्रो निद्राका लागि तल उल्लेख गरिएका खानेकुरा खानुहाेस्

गर्मि मौसममा धेरै मानिसलाई भोक नलाग्ने, निन्द्रा नलाग्ने हुन्छ ।त्यसका लागि यी तल दिएका खानेकुराहरु खानु पर्छ ।

आलु

निद्राको समस्या भएका मानिसले उमालेको वा भुटेको आलु खानु राम्रो हुन्छ । यस्तो आलु छिटो पच्छ र शरीरमा गर्मी पैदा हुन दिँदैन । अनि निद्रा राम्रो पर्ने नै भयो ।

सजिवन

गर्मीमा हाम्रो शरीरबाट असाध्यै पानी निस्कन्छ किनकि पसिना खुबै चुहिन्छ । त्यसैले पानीको स्तर कायम राख्नु जरूरी हुन्छ । सजिवन खाँदा त्यसमा भएको ९५ प्रतिशत पानी र २५ प्रतिशत क्यालोरीले शरीरमा पानीको कमी हुन दिँदैन ।

फर्सी

फर्सी धेरै लाभदायक तरकारी हो । यसमा भएको ट्रिप्टोफानले शरीरमा अत्यावश्यक सेरोटोनिन उत्पादन गर्छ । सेरोटोनिन दिमागमा हुने रसायन हो जसले मूड फ्रेश गर्छ, उदासी हटाउँछ र डिप्रेसनबाट बाहिर निकाल्छ ।

यसले राम्रो निद्रा पनि ल्याउँछ । यसमा भएको पोटासियम र फाइबरले पाचन प्रक्रिया तथा चिनीको स्तरलाई पनि सन्तुलनमा राख्छ ।

लौका

गर्मीमा कुनै हालतमा पनि शरीरमा पानीको कमी हुन दिनु हुँदैन । यसका लागि हरिया सागसब्जी, फल र लगातार पानी पिउनु उपयुक्त हुन्छ ।

शरीरमा पानीको कमी भयो भने पनि निद्रा लाग्दैन । लौकाको तरकारी र लौकालाई दहीमा मिसाएर राइता अवश्य खानुस् । यसले शरीरलाई ठण्डा राख्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि